दलगत स्वार्थका कारण देशको अस्तित्व नै खतरामा : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दलहरूको स्वार्थका कारण मुलुकको अस्तित्वमाथि नै खतरा उत्पन्न भएको बताएका छन् ।
आइतबार काठमाडौँमा राप्रपा निकट नेपाल प्राज्ञिक परिषद्ले आयोजना गरेको कार्यक्रममा लिङ्देनले आफ्नो स्वार्थलागि विभिन्न शक्ति राष्ट्रसँग मुलुकको हित विपरीतका सम्झौताहरू गरिएको भन्दै यसले मुलुकको अस्तित्वमाथि नै खतरा उत्पन्न भएको बताएका हुन् ।
उनले वार्षिक बजेट बनाउने क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराउने र करको दायरा हेरफेर गर्ने काम देखि देशको हित र जनताको चाहना विपरीत एमसीसी र एसपीपी जस्ता देशलाई कमजोर पार्ने सम्झौता गरिएको तर्क गरे ।
देशलाई दुर्घटनाबाट बचाउन चाहनेहरू एक ठाउँमा आउनुपर्ने उनको भनाई छ । लिङ्देनले अहिलेको राजनीतिक प्रणाली र दलहरूबाट मुलुकमा राष्ट्रियता र शान्तिको कुनै सम्भावना नदेखिएको तर्क गर्नुभयो ।
राप्रपाले भ्रष्ट निर्वाचन प्रणालीको बदला पूर्ण समानुपातिक संसद् र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री तथा अभिभावकीय संस्थाको रूपमा राजाले मात्र मुलुकले स्थिरता प्राप्त गर्ने उनको भनाई छ ।
लिङ्देनले आफूहरूले अघि सारेको मुद्दा स्थापित गर्नका लागि सांसदको दुई तिहाइ बहुमत आवश्यक नपर्ने र निश्चित संख्याको शक्ति आर्जन गर्दा पुग्ने बताए ।








