राजीनामा दिँदै पुबुदुले भने- मेरो कोचिङ करियरकै सबैभन्दा कठिन निर्णय गरेँ

काठमाडाैँ । राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुबुदु दासानायकेले नेपाली टिमबाट राजीनामा दिनु आफ्नाे काेचिङ करियरकै सबैभन्दा कठिन निर्णय भएकाे बताएका छन् । राजीनामा दिँदा आफू भावुक भएकाे उल्लेख गर्दै उनले पत्रकार सम्मेलनमा भनेका छन्— ‘मेरो कोचिङ करियरमा यो सबैभन्दा कठिन निर्णय थियो । मलाई नेपाल क्रिकेट मन पर्छ र यो चरणमा छाड्दा म निकै भावुक छु ।’
आफ्नाे व्यक्तिगत/पारिवारिक कारण देखाएर राजीनामा दिएका उनले त्यसअघि भनेका छन्, ‘मैले मेराे परिवारकाे हेरचाह गर्नुपर्ने हुनाले राजीनामा दिनुपरेकाे हाे । यसबेला उनीहरूलाई मेराे एकदमै जरुरत छ । यदि मैले यस समयमा मेरो परिवारको लागि समय निकालिनँ भने म पछुताउनेछु ।’
उनले आफूलाई नेपाल फर्किने माैका दिएकाेमा कृतज्ञतासमेत व्यक्त गरेका छन् । नेपाली टिमलाई शुभकामना व्यक्त गरेका उनले भनेका छन्, ‘मेराे क्षमतामा विश्वास गरेर मलाई प्रशिक्षणकाे माैका दिएकाेमा क्यानलाई धन्यवाद दिन्छु ।’
उनले यसअघि सन् २०११ देखि २०१५ सम्म पहिला पटक नेपाल टिमको प्रशिक्षण सम्हालेका थिए । उनले नेपाल क्रिकेट संघ क्यानसँग नेपाल टिममा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका थिए ।
♦ सम्बन्धित सामाग्री
राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक दासानायकेले दिए राजीनामा








