नारायणी नदीको तटबन्धको काम दिगोरुपमा गरिने

चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी नदीको तटबन्धको काम दिगोरुपमा गर्ने दाबी गरेकी छन् । मंगलबार भरतपुर १७ मा रहेको जनकल्याण दुग्ध सहकारी संस्थाको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले नारायणी नदीको दिगो ढङ्गबाट तटबन्धको काम अगाडि बढेको बताइन् ।

नारायणी नदीबाट पीडित भएका नागरिक अब त्रासमा बस्नु पर्ने अवस्थाको दीर्घकालीन रूपमा समाधान भएको मेयर दाहालले दाबी गरिन् । ‘नारायणी नदीबाट हुने जनधनको क्षति सदाका लागि अन्त्य हुँदैछ’ उनले भनिन्, ‘विगतमा वर्षातको समयमा टालटुल पार्ने काम हुन्थ्यो । ५० लाखभन्दा बढीको काम हुन्थेन । तर अहिले पौने ५ अर्ब रुपैयाँ बजेट विनियोजन भई ४ वटा प्याकेजको ठेक्का भइसेकेको छ । अब शिवघाटदेखि नारायणगढ बजारसम्मको टेन्डर भइसकेको छ । बाढी रोकिएपछि तीव्र गतिमा काम अगाडि बढ्छ ।’

मेयर दाहालले मेघौली, गोलाघाट, शिवघाट हुँदै नारायणगढ बजारसम्म तटबन्ध निर्माणको काम सम्पन्न भएसँगै नारायणी छेउमा रहेका बस्तीका बासिन्दाले विगतमा जस्तो वर्षा लाग्दा चिन्तित हुन नपर्ने बताइन् ।

उनले भनिन्, ‘नारायणीको समस्याबारे विगतमा यहाँका बासिन्दाले महानगरपालिकालाई ध्यानाकर्षण गरेकै कारण संघीय सरकारलाई यति ठूलो बजेट पार्न सकिएको हो।’

विगतको ५ वर्ष पनि जनताको चाहनाअनुसार विकासका कार्यहरूलाई अगाडि बढाएको स्मरण गर्दै मेयर दाहालले अबको कार्यकालमा जनप्रतिनिधि होस् त यस्तो होस् भन्ने उदाहरण पेश गर्ने गरी काम गर्ने बताइन् ।

भरतपुर महानगरपालिकामा भइरहेको सडक निर्माणमा ३० प्रतिशत सडकहरू ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको यो विषयमा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको धारणा राखेकी थिइन् ।

सडक निर्माणको कामलाई निरन्तरता दिन महानगरपालिकाले ठेकेदारहरूलाई कालोसूचीमा राख्ने, ठेक्का रद्द गर्नेलगायतको कामलाई अघि बढाएको मेयर दाहालको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − one =