व्यक्तिगत खर्चमा दुबईमा ज्यान गुमाएकी युवतीको शव नेपाल ल्याउँदै दुर्गा प्रसाईँ

काठमाडौँ । मेडिकल व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँले दुबईमा ज्यान गुमाएकी युवतीको शव नेपाल ल्याएका छन् । उनको व्यक्तिगत खर्चमा सुर्खेतकी २५ वर्षीया युवतीको शव आज नेपाल ल्याइने भएको हो ।
शव एअर अरेबियाको विमानबाट दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने प्रसाईँले जानकारी दिएका छन् । ‘मेरो पछिल्लो दुबई भ्रमणका क्रममा वैदेशिक रोजगारका लागि त्यहाँ पुग्नुभएका नेपालीहरूको समस्या जानकारी लिँदैगर्दा विभिन्न कारणले मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउन कठिनाइ भइरहेको भन्ने जानकारी पाएँ,’ उनले भनेका छन्, ‘मैले निजी खर्चमानै ती शवहरू नेपाल ल्याई उनीहरूका परिवारसम्म पुर्याउने बाचा गरेको थिएँ । सोहीअनुरूप आज दिउँसो ३ बजे एअर अरेबियाको विमानबाट सुर्खेतकी २५ वर्षीया चेलीको शव ल्याइँदै छ ।’
उनले मृतकका परिवारको पीडामा केही मलहम लगाउने प्रयास गरेको बताए । ‘यो दुखद खबर भएतापनि आफ्ना परिवारका सदस्यको शव देख्न र अन्तिम संस्कार गर्न समेत नपाएका ती परिवारको पीडामा केही मलहम लगाउने प्रयास गरेको छु । श्रद्धाञ्जली दिन इच्छुक सञ्चारकर्मी, आम नेपाली दाजुभाइ तथा दिदीबहिनिहरु ३ बजे त्रिभुवन विमानस्थलको कार्गो क्षेत्रमा आउनु सक्नुहुनेछ, हामी श्रदाञ्जलीसहित ती चेलिको शव परिवारसम्म पुर्याउने छौं,’ प्रसाईँले अगाडि भनेका छन् ।








