अर्थमन्त्रीमाथि छानबिन गर्न बनेकाे समितिले भन्याे- ‘सीसीटीभी फूटेज खाेज्दै छाैँ, फ्याट्टै निक्लन सक्छ’

काठमाडाैँ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ माथि छानबिन गर्नेगरी बनेकाे विशेष संसदीय समितिले सीसीटीभी फूटेज भेटिने विश्वास व्यक्त गरेकाे छ । समितिका सदस्य लक्ष्मणलाल कर्णले मकालुखबरसँग भने, ‘सीसीटीभी फूटेज खाेजिरहेकै छाैँ, फ्याट्टै निक्लन सक्छ ।’ समितिले ‘सीसीटीभी फूटेज हरायाे’ भनेर नसाेचेकाे समेत उनले बताएका छन् । थपे, ‘अस्ति अर्थमन्त्रालयले भनेकाे तपाईंहरूले पनि सुन्नुभयाे हाेला, सिंहदरबारभित्र सीसीटीभी फूटेज हराउँछ भनेर नसाेचेकाे कुरा । हामीलाई पनि यस्तै लाग्छ । हामी खाेजिरहेका छाैँ ।’

त्यसाे त यसअघि साेमबार बसेकाे बैठकमा धेरै सदस्यहरूले फूटेज पाउन नसकिने ब्रिफीङ्ग गरेका थिए । एक सदस्यकाअनुसार सदस्यहरूले फूटेज भेटाउन गाह्राे पर्ने हाे कि भन्ने आशङ्का व्यक्त गरेका थिए । ‘समितिले अर्थ मन्त्रालयको सीसीटीभी फूटेज रिस्टोर हुने सफ्टवेयर मगाए पनि केही पनि भेटिएन,’ साेमबार नै एक सदस्यले भनेका छन्, ‘त्याे भएर यसमा अलिकति शङ्काजस्ताे उत्पन्न भएकाे छ ।’

उसाे त अवस्था ठ्याक्कै त्यस्तै पनि नभएकाे बताउँछन् कर्ण, भन्छन्— ‘विज्ञका साथ काम गरिरहेकै छाैँ । भेटिन्छ भन्ने छ हामीलाई त ।’

हुन त समितिले गत आइतबार नै अर्थमन्त्रालयका प्रशासन महाशाखा प्रमुख, सीसीटीभीसँग सम्बन्धित काम गर्ने आइटी इन्जिनियर र बजेट महाशाखा प्रमुखसँग पनि सोधपुछ गरेकाे थियाे । त्यसबाट सकारात्मक कुरा नआएकाे सदस्यहरू स्वीकार्छन् । एक सदस्यले भनेका छन्, ‘सबैलाई साेधिसक्याे समितिले । अझै साेधपुछ गर्ने नै छ । तर सीसीटीभी फूटेज नैचाहिँ भेटिन्छ भन्नेमा अझै शङ्का छ । डिलेट भयाे भनिएकाे त्याे डिलेट भएकै हाे जस्ताे छ ।’

विज्ञहरूलाई बाेलाइयाे

समितिका सदस्य कर्णकाअनुसार आज बिहान ११ बजे समितिकाे बैठक बस्दैछ । बैठकमा विज्ञहरूलाई समेत बाेलाइएकाे छ । समितिले खासगरी प्रविधि तथा सीसीटीभीसम्बन्धी विज्ञहरूलाई बाेलाएकाे छ । ‘हामी विज्ञहरूकाे सल्लाहअनुसार जान्छाैँ र फूटेज निकाल्ने काेसिस गर्छाैँ,’ उनले भने, ‘आजकाे बैठकमा विज्ञहरू आउनुहुन्छ र उहाँहरूकाे सल्लाहबमाेजिम काम हुन्छ ।’

यसअघि पनि साेसम्बन्धीका विज्ञहरूसँग समितिले छलफल गरेकाे उनले बताएका छन् ।

समितिले १० दिनभित्र छानबिनकाे प्रतिवेदन बुझाउनुपर्ने छ । समितिले निर्धारित समयसीमाभित्रै प्रतिवेदन बुझाउनेगरी काम गरिरहेकाे कर्णकाे भनाइ छ । ‘समितिले बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म काम गरेकै छ,’ उनले भनेका छन्, ‘धेरै त अब विज्ञहरूसँगै बस्नुर्‍याे, सम्बन्धित जानकारहरूसँग बस्नैपर्‍याे । तर प्रतिवेदन भने समितिले निर्धारित समयसीमाभित्रै बुझाउँछ र त्याे काेसिस गरिरहेकाे छ ।’

०००

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्ति मध्यरातमा अर्थमन्त्रालय प्रवेश गराएर करका दर हेरफेर गरेको आरोपमा छानबिन गर्न संसद्ले ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरेको हाे ।

संसदीय छानबिन गठन भएसँगै अर्थमन्त्री शर्माले असार २२ गते पदबाट राजीनामा दिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + seven =