पार्टी विभाजनकाे जिम्मा उपेन्द्रजीले लिनुपर्छ, हामी नयाँ दलमार्फत् अगाडि जान्छाैँ : महेन्द्रराय यादव (अन्तर्वार्ता)

काठमाडाैँ । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) राजनीतिकरूपमा विभाजन भइसकेकाे छ । कानूनीरूपमा डा. बाबुराम भट्टराई र उपेन्द्र यादव समूह एकैठाउँ रहेपनि उनीहरूबीचकाे दूरी भने बढ्दाे छ । यसबीचमा सङ्घीय परिषद् अध्यक्ष बाबुराम र केन्द्रीय समिति अध्यक्ष उपेन्द्रले फरक-फरक मिति र स्थानमा केन्द्रीय समितिकाे बैठक डाके र मनमाैजी निर्णय/निष्कर्षहरू निकाले । त्याेसँगै राजनीतिकरूपमा जसपा पूर्णत: विभाजन भइसकेकाे छ ।

पार्टी विभाजन नचाहेकाे बताउने दुवै समूहले आपसलाई आराेप-प्रत्याराेप लगाइरहेका छन् । उपेन्द्र समूह बाबुराम समूहले पार्टी विभाजनतिर लगिरहेकाे आराेप लगाउँछ भने बाबुराम समूह उपेन्द्र समूहले पार्टी विभाजन गर्न बाध्य पारेकाे दाेहाेर्‍याउँछ र पार्टी विभाजनकाे ‘दाेष’बाट भाग्न खाेज्छ । त्यसाे त वीरगञ्जमा असार २९ र ३० गते बसेकाे उपेन्द्र समूहकाे केन्द्रीय समिति बैठकले बाबुरामसहित अन्य शीर्षस्थ नेताहरूलाई कारबाही नै गर्‍याे । यसपछि झनै चिढिएकाे बाबुराम समूह अब भने फरक बाटाेबाट अगाडि बढ्ने मनस्थितिमा आइपुगेकाे छ ।

बाबुरामले आइतबार अन्नपूर्ण पाेस्ट्मा ‘भूराजनीतिक भुमरी’ शिर्षकमा लामाे लेख लेखेका छन् । उनले त्यहाँ वैकल्पिक नयाँ पार्टी बनाउने लेखेका छन् । ‘हामी वैकल्पिक नयाँ पार्टी नै बनाउँछाैँ । कुनै पनि पुराना पार्टीहरूमा गएर मर्ज हुने त अब परिकल्पना गर्नै सक्दैनाैँ । त्यो त विकल्प हुँदै हुँदैन,’ उनले भनेका छन् । अबकाे बाबुराम समूहकाे निष्कर्ष यही नै रहेकाे नेताहरू बताउँछन् । बाबुरामलाई दह्राे साथ दिएका नेता महेन्द्रराय यादव अबकाे आफूहरूकाे बाटाे नै यही भएकाे बताउँछन् । उनले यस्ताे बताइरहँदा मकालुखबरकर्मी धनबल राईले तत्‌तत् प्रश्नहरू उनै नेता यादवलाई साेधेका छन् ।

प्रस्तुत छ, सम्पादित अंश:

तपाईंहरूकाे दल जनता समाजवादी पार्टी (जसपा) मा लामाे समयदेखि राजनीतिक समस्या देखिँदै आएकाे छ, अब यसकाे मिलन बिन्दु के हाे ? 
तपाईंहरूले देख्दै नै आउनुभएकाे छ । समस्या कसरी आयाे, कसले ल्यायाे भन्ने तपाईंहरू पनि जान्नुहुन्छ । समस्यालाई सुल्झाउने हाम्राे प्रयास सधैँ छ र अहिले पनि हामी यसैमा छाैँ । तर समस्या ज्यूँका त्यूँ छ । उपेन्द्र यादवजीहरू बढी उग्र हुनुभएकाे छ । समस्या सुल्झाउनुकाे सट्टा अझ निम्त्याउने काम गरिरहनुभएकाे छ । यसरी हेर्दा अब एकठाउँमा रहनका लागि सकस पैदा हुन्छ भन्ने लाग्छ ।

भनेकाे तपाईंहरू अब छुट्टैरूपमा जाँदै हुनुहुन्छ, तपाईंहरूले अन्तत: जसपा फुटाउने नै हुनुभयाे हाेइन त ? 
जसपा फुटाउने हामी हाेइनाैँ नि, हामी त जसपालाई दह्राे बनाउँ । जनताका समस्याहरूलाई मुखरित बनाउने पार्टी बनाउँ, रूपान्तरण गराैँ भनेका हाैँ । तर, त्याे भएन र पार्टी दुर्घटनातिर लाने काम उपेन्द्रजीहरूबाट भयाे । यसकाे जिम्मा अब उहाँहरूले नै लिनुपर्छ । किनकी उहाँहरूले पार्टीलाई यस्तै अप्ठ्याराेमा ल्याइदिनुभयाे ।

तपाईंसहित ९ जनालाई कारबाही भएयताचाहिँ तपाईंहरू अब फरक दलका रूपमै अगाडि जानुपर्छ भन्ने निष्कर्ष निकाल्नुभएकाे हाे ? 
हाेइन त्याे कारबाहीलाई त हामीले खारेज गरिसक्याैँ नि । त्याे बेतुककाे कारबाहीसँग हाम्राे केही छैन र हामी डराउनुपर्ने कुरा पनि केही छैन । तर त्यहाँ नियत भने प्रष्टै देखियाे । उपेन्द्रजीहरूकाे नियत राम्राे भएन । उहाँहरू पार्टीलाई रूपान्तरण गर्न चाहनुहुन्न । त्याे देखिएन त, प्रष्टै देखियाे । त्याे नियतलाई नै हामीले खारेज गरिदियाैँ । कारबाही ठूलाे कुरा रहेन, तर उपेन्द्रजीहरूकाे नियत भने त्यस्ताे रहेछ भनेर देखियाे । हामी यही नियतलाई परास्त गर्दै वैकल्पिक शक्ति निर्माणमा फेरि जुट्ने भन्ने हाम्राे छ ।

भनेपछि तपाईंहरू अब नयैँ पार्टीमार्फत् जनतामा जानुहुन्छ ? 
हाम्राे निष्कर्ष लगभग यही हाे ।

असार २८ गते बसेकाे तपाईंहरूकाे केन्द्रीय समिति बैठकले त जसपालाई रूपान्तरण गर्ने भनेकाे थियाे, तर त्याे गर्न सक्नुभएन है ?  
त्याे लक्षण नै देखिएन उताकाे समूहमा । हामीले चाहेकाे पनि जसपाकाे सुदृढिकरण र रूपान्तरण नै हाे । हामीले भनेकाे हाैँ कि जसपा सबै क्षेत्र, भाषा, लिङ्गदेखि सबैलाई समेट्ने पार्टी हाे । याेचाहिँ अरु दलहरूभन्दा फरक हुनुपर्छ भनेर आएका हाैँ । तर याे पार्टी पनि अरुजस्तै भयाे । हामीले भनेकाे वैकल्पिक शक्ति निर्माण भएन । याे सबैभन्दा नराम्राे भयाे । यसमा उपेन्द्रजीहरू जिम्मेवार हुनुपर्छ । हामी रूपान्तरणकै मुद्दालाई उठाउँदै आएका हाैँ । तर उहाँ बढी एकात्मकतामा रमाउने देखिनुभयाे । त्यसाे भएकाेले हामी अब नयैँ दलमार्फत् जाने भन्ने कुराकाे निष्कर्षमा आएका हाैँ ।

नयाँ पार्टीबारे केही छलफल गर्नुभएकाे छ ? 
अहिले अनाैपचारिकरूपमा केही नेताहरूबीच कुराकानी भएपनि औपचारिकरूपमा केही छलफल भएकाे छैन । सायद चाँडै छलफल प्रारम्भ हाेला र एउटा निष्कर्षमा पुगिएला ।

बाबुराम भट्टराई ‘समाजवादी केन्द्र’काे प्रस्तावक पनि हुन्, के यसबारे केही हुन्छ कि ? 
यी सबैबारे कुराकानी भएकाे छैन । अनाैपचारिकरूपमा केही कुराकानी भएका छन्, नभएका हाेइनन् । तर नजिता नै निकाल्नेगरीचाहिँ छलफल तथा कुराकानी भएकाे छैन । यसबारे अब बाबुरामजीले नै भन्नुहाेला नि, के हुन्छ भनेर ।

तर अब जसपामा भने रहनुहुन्न ?
फरकरूपमा जाने भनेकाे त्यही त हाे नि ।

प्रतिक्रिया

One thought on “पार्टी विभाजनकाे जिम्मा उपेन्द्रजीले लिनुपर्छ, हामी नयाँ दलमार्फत् अगाडि जान्छाैँ : महेन्द्रराय यादव (अन्तर्वार्ता)

  1. महेन्द्र आफ्नो धनदौलत मा निर्भर छ। उपेन्द्र महोत्तरी, सप्तरी को धनवान यादब हरू को अधिन भएर यस्तो होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *