दिल्ली पुगेर प्रचण्डले भने- ‘जलविद्युतमा भारतसँग थप काम गर्न चाहन्छाैँ’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत जलविद्युतमा थप काम गर्न चाहेकाे बताएका छन् ।
भारत भ्रमणका क्रममा रहेका प्रचण्डले दिल्लीस्थित सुष्मा स्वराज स्मृति भवनमा ‘फाउन्डेसन फर पब्लिक अवारनेस एन्ड पोलेसी’ नामक संस्थाले आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध’ विषयक कार्यक्रममा बाेल्दै उनले भारतसँग जलविद्युतका क्षेत्रमा थप काम गर्न चाहेकाे त्यसकाे सुरुवात समेत भइसकेकाे बताएका हुन् ।
उनले भने, ‘जलविद्युतको क्षेत्रमा पनि भारतसँग काम गर्न चाहान्छौँ । भारतसँग विद्युत व्यापार गर्न चाहान्छौं र त्यसको सुरुवात पनि गरिसकेका छौं । साथै यो क्षेत्रमा भारतको नीजि क्षेत्रलाई लगानीका लागि आग्रह गर्दछु ।’
त्यस्तै उनले नेपाल र भारतकाे सम्बन्ध परापूर्वकाल देखिकाे भएकाले कहिल्यै नटुट्ने समेत बताएका छन् । उनले नेपाल र भारतकाे सम्बन्ध राजनीतिक नभइ जनस्तरमा रहेकाले याे सम्बन्ध कहिले नटुट्ने बताएका हुन् । उनले भने, ‘नेपाल–भारतको सम्बन्ध परापूर्वसमयदेखि रहेको छ। यो सम्बन्ध ऐतिहासिक रुपमा सामाजिक, सांस्कृतिक र जनस्तरमा रहेको छ ।’
त्यस्तै, प्रचण्डले नेपालले छिमेकी मुलुकका विरुद्ध आफ्नो देश प्रयोग हुन नदिने पनि बताएका छन् । ‘नेपाल र भारत एकअर्काको चासो र हितमा प्रतिबद्ध रहेका छौँ’, उनले भने, ‘नेपाल आफ्नो भूमि छिमेकीको विरूद्ध प्रयोग हुन दिनेछैन र भारतबाट पनि त्यही प्रतिवद्धता चाहन्छ ।’
प्रचण्डले व्यापार र विकासका लागि भारत महत्त्वपूर्ण साझेदार मुलुक रहेकोले भारतले अहिलेसम्म गरेको सहयोगका लागि धन्यवाद पनि दिए ।








