उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

काे हुन् भुसाल ?

काठमाडाैँ । प्रतिनिधि सभाकाे उपसभामुखमा नेपाली कांग्रेसकी पुष्पा भुसाल निर्वाचित भएकी छन् । भुसाल गठबन्धनकाे तर्फबाट उम्मेदवार बनेकी हुन् ।

भुसाल प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की उम्मेदवार विद्या भट्टराई पराजित गर्दै उपसभामुखमा निर्वाचित बनेकी हुन् । भुसाललाई संसद्‌मा १३ सिट भएकाे लाेकतान्त्रिक समाजवादी पार्टीले पनि समर्थन गरेकाे थियाे ।

भुसालकाे पक्षमा १४८ मत परेकाे छ भने भट्टराईकाे पक्षमा ९३ मत परेकाे छ । आजकाे प्रतिनिधि सभामा २४२ सांसद थिए ।

तटस्थमा १ मत परेकाे छ ।

काे हुन् पुष्पा भुसाल ?

अर्घाखाँची पोखराथोककी पुष्पा भुसाल २०२८ सालदेखि राजनीतिमा आबद्ध छिन् । नेपाली कांग्रेसको महिला विभाग, कानून विभागमा लामो समय क्रियाशील भएकी उनले नेपाल महिला संघको महासचिव भएर पनि काम गरिन् । महिला अधिकार र समानताको पक्षमा वकालत गर्दै आएकी भुसालले विश्वविद्यालयमा प्रध्यापन, कानून व्यावसाय र राजनीतिलाई एकसाथ बढाएकी थिइन् ।

||नवनिर्वाचित उपसभामुख पुष्पा भुसाललाई शुभकामना दिँदै सांसदहरू । तस्बिर : सराेज बस्नेत/मकालुखबर||

२०१७ साल फागुन १ गते जन्मिएकी भुसालले कानूनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन् । त्रिभुवन विश्वविद्यालयमा १७ वर्ष प्रध्यापन गरेकी भुसाल वरिष्ठ अधिवक्तासमेत हुन् । उनी केही समय कानून व्यावसायमा पनि सक्रिय भएर लागिन् । २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएर उनले संविधान निर्माणमा भूमिका खेलिन् ।

त्यसेबला उनले संविधान मस्यौदा समितिमा रहेर काम गरिन् । २०६३ सालको अन्तरिम संविधान मस्यौदा समितिमा समेत कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्दै भूमिका निर्वाह गरेकी नेता हुन् भुसाल । २०७४ सालको चुनावबाट समानुपातिक सांसद्मा निर्वाचित भएर आएपछि भुसाल उपसभामुखको निर्वाचनमा उम्मेदवार थिइन् । २ चैत २०७४ मा भएको उपसभामुखको चुनावमा भुसाल सांसद शिवमाया तुम्बाहाम्फेसँग पराजित हुन पुगेकी थिइन् ।

तत्कालीन वाम गठबन्धनकी उम्मेदवार तुम्बाहाम्फे २०१ मत प्राप्त गर्दै विजयी हुँदा भुसालले ५८ मत प्राप्त गरेकी थिइन् । तुम्बाहाम्फेले राजीनामा दिएपछि रिक्त भएको सोही पदमा भुसालले अहिले फेरि उम्मेदवारी दिएकी हुन् । यो पटक उनलाई कांग्रेससहित पाँचदलीय गठबन्धनमा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थन छ ।

उनको पारिवारिक पृष्ठमूमि राजनीति हो । २०१५ सालको बीपी कोइरालाको मन्त्रिपरिषद्‌मा स्वास्थ्यमन्त्री रहेका काशीनाथ गौतमका छोरी हुन् भुसाल । २०१७ सालमा पञ्चायत शुरू भएपछि काशीनाथ गौतम १४ वर्ष स-परिवार भारत निर्वासित हुँदा पुष्पा पनि सँगै थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *