उपसभामुख ‘ब्याटल’ : विद्याकाे रहर मात्रै, पुष्पाकाे निश्चित !

काठमाडाैँ । प्रतिनिधि सभाकाे उपसभामुख पदका लागि नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल र नेकपा (एमाले) की सांसद विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् । भुसालले सत्तारुढ पाँचदलीय गठबन्धनकाे तर्फबाट उम्मेदवारी दर्ता गराएकी हुन् भने भट्टराई लाेसपाकाे समर्थनमा उम्मेदवार बनेकी हुन् । सङ्घीय संसद् सचिवालयले बिहीबार बिहान ११ बजेदेखि दिउँसा १ बजेसम्मका लागि मनाेनयन दर्ताकाे समयसीमा ताेकेकाे थियाे । ताेकिएकाे समयसीमाभित्र भुसाल र भट्टराईले उम्मेदवारी दर्ता गराएका हुन् ।

अब निर्वाचन शुक्रबार दिउँसा ३ बजे हुने छ ।

महन्थ ठाकुर नेतृत्वकाे लाेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि उम्मेदवार खडा गर्ने तयारी गरेकाे थियाे । तर, अन्तिममा आएर एमालेले आफ्नाे रणनीति परिवर्तन गर्दा उसले मनाेनयन दर्ता गराएन । लाेसपाकी सांसद चन्दा चाैधरीले उम्मेदवारी दर्ता गराउने तयारी गरेकी थिइन् । तर, उनी अन्तिममा आएर थच्चिइन् । अब लाेसपाले एमालेलाई समर्थन गर्ने नेताहरूले बताएका छन् । नेता केशव झाले भने, ‘अब लाेसपाले एमालेलाई नै समर्थन जनाउन सक्छ । किनकी पहिले पनि त्यही सल्लाह भएकाे थियाे । यसबारे संसदीय दलका नेताहरू बसेर थप सल्लाह गर्नुहाेला । तर, अब लाेसपाले एमालेलाई नै समर्थन गर्ने सम्भावना एकदमै बढी छ ।’

अब के हुन्छ त उसाे भए ? भन्ने प्रश्नमा भने— केही हुँदैन, जे गर्दा पनि हार्छ ।

वर्तमान सत्तारुढ गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमाेर्चा छन् । प्रतिनिधि सभामा कांग्रेससँग ६३ सिट (त्यसमा दुई निलम्बित), माओवादी केन्द्रका ४९ सिट (त्यसमा एक सभामुख), एकीकृत समाजवादीका २३ र जनता समाजवादीसँग २० सिट (त्यसमा दुई निलम्बित) र राष्ट्रिय जनमाेर्चासँग १ सिट छ ।

यसाे हुँदा गठबन्धनको मत जोड्दा भुसालको जित निश्चित देखिन्छ । अहिले पनि गठबन्धनकाे साथमा १५३ सिट देखिन्छ ।

प्रतिनिधि सभामा एमालेसँग ९८ सिट छ भने लाेसपासँग १३ छ । यसाे हुँदा यी दुई दलसँग १११ सिट पुग्छ । जुन गठबन्धनकाे भन्दा ४२ सिट कम हाे । यसाे हुँदा भुसालकाे जित निश्चितजस्तै देखिन्छ । उसाे त भट्टराईले एमालेले प्रक्रियामा सभागिता मात्रै जनाएकाे बताएकी छन् । आफ्नाे हार निश्चितजस्तै भएकाे लक्षित गर्दै उनले भनिन्— ‘नेकपा एमालेले प्रमुख प्रतिपक्ष हुनुकाे नाताले धेरै विषयहरूबारे बाेल्दै आएकाे छ संसद्‌मा । त्यसाे हुँदा याे प्रकियामा पनि किन सहभागी नहुने भनेर प्रक्रियामा मात्रै सहभागी भएका हाैँ ।’

त्यसाे त उनलाई लाेसपाले भने सघाउनेछ । एमाले र लोसपाबीच राष्ट्रिय सभाको निर्वाचनमा पनि तालमेल भएकाे थियाे ।

एमालेकाे मनाेविज्ञान- बरु हार्ने, अरुलाई समर्थन नगर्ने

मनाेनयन दर्तास्थलमा एमाले सांसदहरूबीच कुराकानी भइरहेकाे थियाे । कहिले फाेनमा कुराकानी हुन्थ्याे त कहिले त्यही रहेका सांसदहरूबीच; दर्तास्थलमा अगाडि नै पुगेर उपसभामुखकी उम्मेदवार भट्टराईकाे फारम भरेका चिवतन २ का सांसद कृष्णभक्त पाेख्रेलले फाेनमा भन्दै थिए— ‘हारेपनि हारुँला, तर अरुलाई किन समर्थन गर्ने यत्राे ठूलाे दल भएर ? विद्या उठे पनि हार्ने नै हाे, चन्दा उठेपनि हार्ने नै हाे ।’

उनले त्यसअघि भने— मरेपनि खुट्टा तन्काएर मराैँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *