गैरआवासीय नेपालीको नागरिकता समस्या हल गर्ने प्रचण्डको प्रतिबद्धता

ललितपुर । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैर आवासीय नेपालीहरूको नागरिकता सम्बन्धी समस्या हल गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

मंगलवार निवास खुमलटार आएको गैर आवासीय नेपाली संघको प्रतिनिधि मण्डललाई अध्यक्षले भने, “गैर आवासीय नेपालीहरूको समस्याका बारेमा हामीले पहिलेदेखि नै आवाज उठाउँदै आएका थियौँ र अहिले पनि हाम्रै पहलमा सदनमा पेस भएको नागरिकता सम्बन्धी विधेयक पास गराई समस्याको समाधानका लागि प्रतिबद्ध छौँ ।”

भेटवार्तामा गैर आवासीय नेपाली संघको प्रतिनिधि मण्डलले नागरिकता समस्या सहितका विषयहरू समावेश गरी सदनमा पेस भएको नागरिकता विधेयक ल्याउनमा माओवादी पार्टीका तर्फबाट भएको पहलका लागि धन्यवाद दिँदै विधेयक सदनबाट पास गराएर ८० लाख गैर आवासीय नेपालीहरूको अधिकार सुनिश्चित गर्न पहलका लागि अनुरोध गरेको थियो ।

उक्त भेटघाट कार्यक्रममा पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको पनि उपस्थिति थियो भने संघका तर्फबाट संस्थापक अध्यक्ष उपेन्द्र महतो, अध्यक्षद्वय कुल आचार्य र डा. बद्री केसी, उपाध्यक्ष महेश श्रेष्ठ, युरोपका रिजनल कोर्डिनेटर चिन्तामणि सापकोटा, रमेश काफ्ले लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + thirteen =