चीनकाे चाहना- ‘नेपालका दलहरूले आफ्नाे निर्णय आफैँ गर्न सकून्’

काठमाडाैँ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियान्छाओले नेपालका राजनीतिक दलहरूले आफ्नाे निर्णय आफैँ गरून् भन्ने चाहना व्यक्त गरेका छन् । साेमबार दिउँसाे सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका उनले त्यस्ताे चाहना व्यक्त गरेकाे भेटमा सरिक नेता देवप्रसाद गुरुङले बताए । ‘नेपालका राजनीतिक दलहरूले आफ्नाे फैसला तथा निर्णयहरू आफैँले स्वतन्त्ररूपमा गर्न सक्नुपर्छ भन्ने उहाँकाे चाहना थियाे,’ गुरुङले मकालुखबरसँग भनेका छन् ।

गुरुङकाअनुसार लिउ नेपालमा राजनीतिक दलहरूले आफ्नाे निर्णय आफैँ गर्न नसकिरहेकाे हाे कि भन्ने कुरामा केन्द्रित भएका थिए । ‘नेपालका राजनीतिक दलहरूले आफ्नाे निर्णय आफैँ गर्ने गर्नुपर्छ । याे बानीकाे विकास गर्नुपर्छ,’ उनले भनेका छन् ।

उनले केलाई संकेत गरेका हुन् ? भन्ने प्रश्नमा गुरुङले भने ‘कुनै पनि खाले हस्तक्षेपहरूबारे उहाँले संकेत गर्नुभएकाे हाेला भन्नेरूपमा बुझेँ मैले ।’ त्यसाे त गुरुङ बाह्य शक्तिबाट नेपालका राजनीतिक दलहरू विमुख हुनुहुँदैन भन्नेतर्फ लिउले भनेकाे हुन् भन्ने कुरामा सहमत भएका छन् ।

प्रचण्डले भने नेपालमा चीनविराेधी कुनै पनि खाले गतिविधि नहुनेमा ढुक्क हुन आग्रह गरेका छन् । ‘त्यसका लागि हाम्राे पार्टी र सिङ्गाे देश प्रतिबद्ध छ,’ प्रचण्डले भनेका छन्, ‘हाम्राे पार्टी चीन नीतिबारे सुस्पष्ट छ ।’

प्रचण्डले चीनले नेपाललाई पुर्‍याइरहेकाे विभिन्न सहयाेगहरूका लागि धन्यवाद व्यक्त गरेका छन् ।

लिउले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कालगायतसँग भेटवार्ता गरिसकेका छन् । यसपछि उनले मंगलबार एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन् भने बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *