राखेपले दियो १३ जना खेलाडीलाई प्रोत्साहन पुरस्कार

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न ६ खेलका १३ खेलाडीलाई खेलाडी प्रोत्साहन पुरस्कार प्रदान गरेको छ ।

सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा पारा तेक्वान्दोका ४, ब्याडमिन्टन र भलिबलका १–१, बक्सिङका ३, एथलेटिक्सका र ट्रायथलनका २–२ गरी १३ खेलाडीलाई जम्मा १० लाख ५० हजार नगद पुरस्कारसहित प्रशंसा पत्र प्रदान गरिएको हो ।

पारा ओलम्पियन तेक्वान्दोकी पलेशा गोवर्द्धन र ब्याडमिन्टनका प्रिन्स दाहालले समान १ लाख ५० हजार नगद पुरस्कार पाए । टोकियो पारा ओलम्पिकमा २ ‘बाउट’ जितेर इतिहास रचेकी पलेशाले एसियाली यूथ पारा गेम्समा स्वर्ण जितेकी थिइन् ।

हाल विश्व जुनियर वरीयताको सातौँ स्थानमा रहेका प्रिन्स केही महिनाअघि शीर्ष वरीयतामा थिए । बक्सिङका नारिका राई, स्वस्तिका तिरुवा र छिरिङ शेर्पा र पारा तेक्वान्दोकी सिर्जना घिसिङले १–१ लाख नगद पाए । बक्सिङका तीनैले युएइमा भएको एसियाली यूथ तथा जुनियर बक्सिङ प्रतियोगितामा कांस्य जितेका थिए ।

सिर्जनाले इरानमा भएको वर्ल्ड प्रेसिडेन्ट कप च्याम्पियनसिपमा नेपाललाई रजत दिलाएकी थिइन् ।

एथलेटिक्सकी राजपुरा पछाईं र पुष्पा भण्डारी, ट्रायथलनका सोनी गुरुङ र वसन्त थारु, पारा तेक्वान्दोका रञ्जना धामी र विशाल गर्बुजा तथा भलिबलकी अरुणा शाहीले ५०–५० हजार नगद पुरस्कार पाए । राजपुराले भारतमा भएको दक्षिण एसियाली क्रस कन्ट्री तथा पुष्पाले ढाका म्याराथनमा रजत जितेका थिए ।

पोखरामा भएको नवौँ दक्षिण एसियाली ट्रायथलनमा सोनी र वसन्तले कांस्य हासिल गरेका थिए । रञ्जनाले एसियाली खेलकुदको छनोट तथा विशालले यूथ एसियन गेम्सको छनोटमा कांस्य हात पारेका थिए । एसियन सेन्ट्रल जोन महिला भलिबलमा नेपालले स्वर्ण जित्दा अरुणा टोलीकी कप्तान हुन् ।

उनीहरूलाई युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराज, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ लगायतले पुरस्कृत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − one =