७० लाखकाे लगानीमा ड्रागन खेती गरेर श्रीमानकाे सपना पूरा गर्दैछिन् पद्मा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक लोभलाग्दो व्यावसायिक ड्रागन फ्रुटको खेती गरिएको छ । सरकारी र गैरसरकारी निकायको सहयोगबिना वीरेन्द्रनगर–१२ नेवारेमा मालिका कृषि तथा ड्रागन फ्रुट फर्मको एकल लगानीमा व्यावसायिक खेतीको सुरुवात गरेको हो ।

एक वर्ष अघिदेखि सुरु गरिएको फर्मले उत्पादन गरेको ड्रागन फ्रुट बजारमा पठाउन थालिएको छ । हालसम्म एक कुण्डल ड्रागन फ्रुट बिक्री गरिएको सञ्चालक पद्मा रावत (बुढा)ले जानकारी दिइन् । ‘सुरुवातीमा उत्पादन भएको ड्रागन बिक्रीका लागि बजार खोजिराख्नु परेको छैन, फर्मबाटै बिक्री भइरहेको छ,’ बुढाले भनिन्, ‘उत्पादन वृद्धि भएमा बाहिर लैजानुपर्ने अवस्था छैन तर, बजारसम्म लैजानुपर्ने अवस्था आएमा त्यसको तयारी पनि गरिरहेका छौँ ।’

बुढाका श्रीमान् वीरबहादुर बुढाले दुई वर्षअघि नै ड्रागन फ्रुट खेतीको लागि तयारी गरेका हुन् । तर वीरबहादुरको निधन भएपछि फर्म सञ्चालनको जिम्मेवारी पद्माले सम्हालिरहेकी छन् । करिब ७० लाखको एकल लगानीमा भाडाको २८ कट्टा जमिनमा फर्मले ड्रागन फ्रुटको खेती गरेको हो । ‘भारतको गुजरातबाट ल्याइएर लगाइएको बेर्नाले व्यावसायिक उत्पादन दिन थालेको छ,’ बुढाले भनिन्, ‘यसलाई व्यावसायिक बनाउन लागिपरेको छु ।’

ड्रागन फ्रुटले वर्षमा चार पटक उत्पादन दिन्छ । एक सिजनमा प्रति बोटले न्यूनतम पाँच केजीका दरले १३ हजार केजी उत्पादन दिने अपेक्षा फर्म सञ्चालक बुढाको छ ।

एक सिजनमा १३ हजारका दरले वर्षमा ५२ हजार किलो ड्रागन फ्रुट उत्पादन हुनेमा अनुमान गरिएको छ । ड्रागन फ्रुटको प्रति केजी मूल्य आठ सय रुपैयाँ छ । भाडाको जग्गामा हाल दुई हजार ६ सय ड्रागन फ्रुट लगाइएको छ ।

ड्रागन फ्रुट बिक्रीसँगै बिरुवा पनि बिक्री गर्ने फर्मको लक्ष्य रहेको बुढाको भनाई छ । एक पटक लगाइएको ड्रागन फ्रुटले १५ देखी २० वर्षसम्म उत्पादन दिने गरेको छ ।

केही दिन अघि मात्रै कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले फर्मले सञ्चालन गरेको ड्रागन फ्रुटको उद्घाटन समेत गरेका छन् । फर्ममा पुगेका मन्त्री शाहीले यस्तै पौरखी व्यक्तिहरूका कारण कृषि क्षेत्र व्यावसायिक हुने र ड्रागन फ्रुट उत्पादनपछि बिक्रीका लागि समस्या भएमा सरकारले सहजीकरण गरिदिने आश्वासन दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *