उच्च रक्तचापको रोकथाम र व्यवस्थापनका ८ उपाय

उच्च रक्तचाप भनेको यस्तो अवस्था हो, जसमा रगतको प्रवाह हुने रक्तनलीहरुमा चाप बढी हुने गर्छ । यसले गर्दा रक्तनलीहरूमा क्षति पुग्छ र ती रक्तनलीहरू बन्द हुने सम्भावना बढाउँछ ।
अधिकांश बिरामीलाई बढ्दो उमेरसँगै उच्च रक्तचापको समस्या हुने गर्छ। केही अन्य समस्या जसमा उच्च रक्तचाप कम उमेरमै देखिन थाल्छ, यसको कारण अरु नै हुन सक्छन् । जस्तैः मिर्गौला सम्बन्धी रोग, हर्मोनको गडबढ वा लामो समस्यसम्म स्टेरोइड जस्ता औषधिको सेवन हुन सक्छन् । कम उमेरमै हुने उच्च रक्तचापकाे कारणलाई सुधार गर्न सकिने हुनसक्छ ।
उच्च रक्तचापका लक्षणहरू:
-अधिकांश बिरामीमा उच्च रक्तचापको कुनै पनि लक्षण नदेखिन सक्छ । यसै कारण यो रोगलाई थाहा नहुने मृत्युको कारण साइलेन्ट किलर पनि भन्ने गरिन्छ।
-रक्तचाप धेरै बढेपछि टाउको दुख्ने, नाकबाट रगत बग्ने वा चक्कर लाग्ने हुन सक्छ ।
-लामो समयदेखि उच्च रक्तचापको बिरामीका रक्तचापका कारण विभिन्न जटिलताहरू जस्तैः मुटुरोग वा मिर्गौला सम्बन्धी रोग वा पक्षघात पनि हुन सक्छ ।
-परिवारमा यदि कोही उच्च रक्तचापबाट ग्रसित छन् भने तपाईंलाई पनि यो समस्या हुन सक्ने सम्भावना हुन्छ । यसका साथै कम शारीरिक क्रियाकलाप, बढ्दो तौल, रगतमा बढ्दो चिल्लोपना, धूमपान गर्नाले वा मधुमेह रोगले उच्च रक्तचाप हुने जोखिम बढाउँछ ।
-उच्च रक्तचापलाई नियन्त्रण गर्ने विभिन्न औषधिहरू उपलब्ध छन् । त्यसमध्ये चिकित्सकले तपाईंको आवश्यकता अनुसार कुनै औषधि छनाेट गर्न सक्नुहुनेछ ।
-रक्तचापको दीर्घकालीन नकारात्मक असरबाट बच्न यी औषधि नियमित सेवन गर्न जरुरी छ ।
उच्च रक्तचापको रोकथाम र व्यवस्थापन
नुन कम खाने: नुन शरीरको लागि अतिआवश्यक तत्व हो तर यो शरीरलाई थोरै मात्रामा भए पुग्छ । एउटा स्वस्थ मानिसले प्रतिदिन पाँच ग्रामभन्दा बढी नुन खानु हुँदैन । अझ उच्च रक्तचाप भएको मानिसले २.५ ग्राम भन्दा धेरै खानु हुँदैन । नुन कम खानेभन्दा सरल सुनिए पनि यस्को लागि हामी चनाखो हुन जरूरी छ । अत्यधिक मात्रामा नुन हुने खानेकुरा जस्तै पापड, ससेज, सिसीको अचार, भुजिया, नुनिलो बिस्कुट जस्तो खाने कुरा सकेसम्म कम खानु पर्छ ।
चिल्लो कम खाने: तेलमा डुबाएको खानेकुराहरू जस्तै रातो मासु, छाला, बोसो, कलेजो, घिउ, बटर, चिज,पकौडा, तेलमा भुटेको आलु, तारेको मासु, रोस्ट, सेलरोटी सकेसम्म कम खानुपर्छ किनकी यस्ता खानेकुराले शरीरको रक्तनलीलाई साघुरो बनाउँछ । रक्तनलीमा रगतको चाप बढ्छ र उच्च रक्तचापलाई निम्त्याउँछ । माछाको सेवन भने फाइदाजनक मानिन्छ । हप्तामा २ चोटि माछा खाँदा राम्रो हुन्छ तर फ्राइ गरेर खानु उचित मानिँदैन ।
वजन घटाउने: उच्च रक्तचाप नियन्त्रणको लागि स्वस्थ वजनको आवश्यक हुन्छ। एउटा व्यक्तिको लागि स्वस्थ वजन कति हुन्छ भन्ने बारे विभिन्न अवधारणाहरू छन् । एउटा हो ब्रोसा इन्डेक्स (Broca Index), यस अनुसार आफ्नो उचाइलाई सेन्टिमिटरमा नाप्नुहोस् । त्यसमा १०० घटाउनुहोस् । जुन प्रतिफल आउँछ, त्यो नै तपाईंको लागि उपयुक्त वजन हो । यसको १० प्रतिशत तलमाथि भए पनि सामान्य मानिन्छ । कम्मरको गोलाइबाट पनि वजन सही छ कि छैन पत्ता लगाउन सकिन्छ । सामान्य पुरूषको कम्मरको गोलाइ ४० इन्चभन्दा कम हुनुपर्छ भने महिलाको कम्मरको गोलाइ ३५ इन्च भन्दा कम हुनुपर्छ ।
नियमित औषधि खाने: बिरामीले चिकित्सकले सिफारिस गरेको बमोजिम नियमित औषधि खानैपर्छ किनभने नियमित औषधि नखाए पछि पक्षघात, हृदयघात, मिर्गौला फेल, अङ्गभङ्ग हुने, आदि शरीर नचल्नेदेखि लिएर अकस्मात मृत्यु समेत हुन सक्छ ।
नियमित व्यायाम गर्ने: हरेक मानिसले प्रत्येक दिन ३० मिनेट पसिना आउने गरी कुनै न कुनै व्यायाम गर्नुपर्छ जस्तै पौडी खेल्ने, खेतबारीमा काम गर्ने, छिटो छिटो हिँड्ने, दगुर्ने, व्यायाम गर्ने आदि ।
प्रशस्त मात्रामा सागसब्जी तथा फलफूल खाने: पोटासिएम धेरै भएको खानेकुराहरू जस्तै केरा, ब्रोकाउली, बन्दा, सुन्तला, मेवा, बेल, कागती आदि धेरै सेवन गर्नु लाभदायक हुन्छ । प्रशस्त मात्रामा हरियो सागसब्जी, गाजर, धनियाँ, काक्रो, रेसायुक्त खानेकुराहरू, प्रशस्त मात्रामा पानी खानुपर्छl पोटासियम बढी भएको खानेकुराले रक्तचाप घटाउँछ ।
त्यसैले हाम्रो दैनिक खानामा पोटासियम बढी भएका खानेकुराहरू हुनुपर्छ । ताजा फलफूल नियमित खानुपर्छः ताजा फलफूलमा पाइने भिटामिन, मिनेरल्स् र फाइवरले मुटुलाई स्वस्थ राख्ने मात्रै नभई यसको नियमित प्रयोगले रक्तचाप पनि घटाउँछ। प्रतिदिन नियमित २,३ चोटि हरियो सागसब्जी खानुपर्छ ।
नियमित रक्तचाप जाँच गर्ने र रेकर्ड रख्ने: रक्तचापको औषधिको सेवन गर्ने र नगर्ने दुवै बिरामीले कम्तिमा पनि ६ महिनामा चिकित्सकसँग अनिवार्य रूपमा परामर्श लिनुपर्छ । आफ्नो आवश्यकता अनुसार चिकित्सकले भने बमोजिम फलो अपमा जानुपर्छ ।
धुम्रपान, मदिरा, र सुर्तीजन्य पदार्थहरूबाट टाढै रहने ।








