उपत्यकाको सुरक्षा जिम्मा केन्द्रमै राख्न सांसदकाे सुझाव, गृहमन्त्रीले भने- त्यही तयारी हुँदैछ

काठमाडौँ । सांसदहरूले काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था केन्द्र कै मातहतमा राख्न सुझाव दिएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्दै अधिकांश सांसदहरूले यस्तो सुझाव दिएका हुन् ।

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै उपत्यकाको सुरक्षा व्यवस्था केन्द्र कै मातहतमा राख्नुपर्ने उनीहरूको भनाई छ । बैठकमा माओवादीका केही सांसदहरूले भने मुलुक संघीयतामा गइसकेकोले उपत्यकाको सुरक्षा पनि प्रदेशलाई नै दिँदा उपयुक्त हुने धारणा राखेका थिए ।

बैठकमा कांग्रेस सांसद डिला संग्रौलाले ललितपुर र भक्तपुरको सुरक्षाको जिम्मा संघले राख्ने व्यवस्था उचित रहेको बताइन् ।

उनले मुलुकको राजधानी काठमाडौँ उपत्यका भएकाले सुरक्षा संवेदनशीलतालाई संघीयतासँग जोडेर प्रदेशको अधिकार खोसियो भन्न नमिल्ने धारणा राखिन् । एमाले सांसद खगराज अधिकारीले विदेशी अपराधको सम्भावनालाई समेत ख्याल गरेर राजधानीको सुरक्षाको जिम्मा केन्द्रले जिम्मा लिनुपर्ने बताए ।

त्यस्तै, माओवादी सांसद यशोदा सुवेदी गुरुङले प्रदेश प्रहरीको अधिकार क्षेत्रलाई हस्तक्षेप गर्न नहुने बताइन् । उपत्यकाको सुरक्षाको विषय भनेर प्रदेशको अधिकार कटौती गर्न नहुने उनको भनाई छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उपत्यकाको सुरक्षा जिम्मा संघीय प्रहरीलाई दिन लागेको जानकारी दिए । उनले अन्तर्राष्ट्रिय परिदृश्यलाई मध्यनजर र भिभिआइपीको आगमनले पनि केन्द्रको सुरक्षा मजबुद बनाउनुपर्ने धारणा राखे ।

त्यस्तै, बैठकमा सांसदहरूले अध्यागमनको विषयमा गम्भीर हुनुपर्ने र यस क्षेत्रको सुरक्षा प्रहरीलाई दिनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =