बुधबार पदाधिकारी टुङ्ग्याउँदै माओवादी, काे बन्ला महासचिव ?

काठमाडाैँ । सत्ता साझेदार दल नेकपा [माओवादी केन्द्र] ले बुधबार पदाधिकारी टुङ्ग्याउँदै छ । १५ सदस्यीय पदाधिकारी सहमतिमै टुङ्ग्याइने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । पदाधिकारीमा रहने नेताहरूकाे नाम प्रस्ताव गर्ने जिम्मा प्रचण्डलाई नै दिइएकाे छ ।

मंगलबार खुमलटारमा बसेकाे पूर्वस्थायी तथा पाेलिटब्यूराे समितिकाे बैठकमा धेरै आकांक्षी भएपछि आन्तरिक निर्वाचनमार्फत् भएपनि पदाधिकारी टुङ्ग्याउनुपर्ने माग उठेपछि प्रचण्डले नेताहरूलाई ‘सहमतिमै टुङ्ग्याउन’ आग्रह गरेका थिए । ‘निर्वाचनमा नजाउँ सहमतिमै टुङ्ग्याउनुपर्छ । मेराे प्रस्तावलाई तपाईंहरूले विचार गरेर सहमति गर्नुस्,’ प्रचण्डले भनेका छन् ।

त्यसअघि नेताहरूले जाेड गरेनन्, सहमतिमै टुङ्ग्याउन सहमत भए । तर, त्यसका लागि प्रस्तावित नाम भने सन्ताेषजनक हुनुपर्ने उनीहरूकाे माग छ । नेता लीलामणि पाेखरेलले पदाधिकारी सहमतिमै टुङ्ग्याउनुपर्ने उल्लेख गर्दै भने, ‘त्यसमा अध्यक्षले विचार पुर्‍याउनुहुन्छ, त्यसमा हामीले ध्यानाकर्षण पनि गराएका छाैँ । भाेलि बिहानकाे बैठकमा उहाँले नाम प्रस्ताव गर्नुहुन्छ । त्याे अधिकार उहाँलाई नै दिइएकाे छ ।’

बैठकमा कतिपय नेताहरूले आफ्नाे दाबीसमेत प्रस्तुत गरेका थिए । त्यसमा जनार्दन शर्मा ‘प्रभाकर’, मातृकाप्रसाद यादवलगायतले आफ्नाे दाबी गरेकाे थिए । बैठकमा सहभागी एक नेताले भने, ‘कतिपय साथीहरूले दाबीसमेत प्रस्तुत गर्नुभयाे । प्रभाकरजीलगायतका साथीहरूले दाबी पेश गर्नुभयाे । उहाँले भूमिकासहितकाे पद भन्नुभयाे ।’ उहाँले महासचिव भन्नुभएकाे हाे ? भन्ने प्रश्नमा ती नेताले भने, ‘मलाई थाहा भएन ।’ उनकाअनुसार अर्का महासिचवका दाबेदार नेता वर्षमान पुनले भने पार्टीले दिएकाे जिम्मेवारी सम्हाल्ने बताएका थिए ।

मातृकाले भने वरिष्ठ उपाध्यक्ष ताकेका छन् । उसाे त पार्टीमा नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्षका दाबेदार हुन् । माओवादीमा वरिष्ठसहित ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष रहने व्यवस्था छ । आकांक्षी धेरै भएपछि उपाध्यक्ष सङ्ख्या अझै बढ्न सक्ने नेताहरूकाे भनाइ छ ।

०००

स्राेतकाअनुसार महासचिव वर्षमान पुन र जनार्दन शर्मामध्येमै एकजना हुनेछन् । प्रचण्डनिकट स्राेतले भन्याे- ‘अहिलेसम्म यही नेता महासचिव बन्ने भन्ने त छैन । छलफलकै क्रममा छ । तर, प्रभाकरजी र अनन्तजीमै एकजना हुने पक्कापक्की जस्तै हाे ।’ पुन र शर्माले आपसलाई स्वीकारेर पार्टी रहने स्थिति नबने मात्रै अन्य विकल्प खाेजिने स्राेतकाे भनाइ छ । ‘उहाँहरूले आपसलाई स्वीकारेर पार्टीमा रहने स्थिति नबनेमात्रै अन्य विकल्प खाेजिन्छ हाेला नभए उहाँहरूबीचमै समस्याकाे हल हुन्छ,’ स्राेत भन्छ ।

त्यसाे त पुन र शर्माबीच द्वन्द्वकालीन तिक्तता अझै सकिएकाे छैन । यसकाे झझल्काे अझै पार्टीभित्र देखिने गर्छ । यदि उनीहरूले आपसमा महासचिवका रूपमा स्वीकारेर अघि बढ्ने वातावरण नबने अन्य नेताबाट समाधान खाेजिने बताइन्छ ।

उनीहरूबाहेक कृष्णबहादुर महरा, देवप्रसाद गुरुङ, पम्फा भुसाललगायत पनि महासचिवका आकांक्षीहरू हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *