बाम गठबन्धनको प्रयास : एमाले फकाउँदै, माओवादी घुर्क्याउँदै

काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच वाम गठबन्धनको प्रयास जारी छ । बाम गठबन्धनको विषयमा छलफल भएको नेकपा एमाले र माओवादी केन्द्रका नेताहरूले स्वीकार गरेका छन् । तर, एकले अर्कोलाई प्रस्ताव गरेको भनी आफू नै माथि रहेको देखाउने प्रयास गरिरहेका छन् । नेताहरूको अभिव्यक्तिले एमाले फकाउँदै गरेको र माओवादी केन्द्रले घुर्क्याउँदै गरेको देखाउँदछ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँमा जारी केन्द्रीय कमिटी बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै कम्युनिस्टहरुबीच एकतामा जोड दिएका छन् । समाजवादी मोर्चा बनाएर जानुपर्ने विषयलाई पनि उनले तत्कालीन आवश्यकता भनेका छन् ।

तर, प्रचण्डको दस्ताबेजले एमालेसँग गठबन्धनको सम्भावनालाई कम महत्त्व दिएको छ । प्रतिवेदनले एमाले अध्यक्ष केपी ओलीलाई भने नकारेको छ । ‘केपी शर्मा ओली प्रवृत्तिको दक्षिणपन्थी धारलाई कमजोर पार्ने, संविधान र आन्दोलनको उपलब्धिलाई खोस्न उद्धत प्रतिगामी प्रवृत्तिलाई पराजित गर्न’, प्रतिवेदनको मोर्चा तथा गठबन्धनको निर्माण शीर्षकमा भनिएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रबीच पाँच वर्ष अघिको चुनावमा तालमेल भएको थियो । चुनाव पछि एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाए । नेकपामा हुँदा प्रचण्ड र ओलीबीच उत्पन्न भएको अन्तर विरोध र सर्वोच्च अदालतको नाम सम्बन्धी विवादमा नेकपा एकता भङ्ग हुने फैसलाले नेकपा  विभाजन भएको थियो । नेकपा विभाजन भएसँगै माओवादी केन्द्र कांग्रेस, जसपा लगायतका पार्टीहरूसँग गठबन्धनमा छ ।

एमालेसँगको सहकार्यका सम्बन्धमा प्रचण्डको प्रतिवेदनले घुर्क्याएकाे कतिपयको टिप्पणी छ । एकातिर दोस्रो-तेस्रो तहका नेताहरूलाई एमाले सहितका कम्युनिस्ट पार्टीहरूसँग वाम तालमेलको विषयमा छलफल गर्न खटाउने अर्कातिर एमालेसँग तालमेलको सम्भावनाबारे विस्तृत व्याख्या नगरी केपी ओलीको प्रकृतिको विरोध गर्नुलाई घुर्कीको संज्ञा कतिपयले दिएका छन् ।

बाम गठबन्धनको विषयमा छलफल भएको नेकपा एमाले र माओवादी केन्द्रका नेताहरूले स्वीकार गरेका छन् । तर, एकले अर्कोलाई प्रस्ताव गरेको भनी आफू नै माथि रहेको देखाउने प्रयास गरिरहेका छन् ।

यता नेकपा एमालेका नेताहरू एक्लै लड्न सक्षम रहेको सार्वजनिक अभिव्यक्ति दिन छाडेका छन् । बरु वाम तालमेलका लागि प्रयास भएको भन माओवादी केन्द्र लगायतसँग फकाउँदै गरेको साङ्केतिक अभिव्यक्ति दिइरहेका छन् । आइतबार मात्रै प्रचार विभाग प्रमुख उपमहासचिव पृथ्वी सुब्बा गुरुङले वाम तालमेलको प्रयास भइरहेको सङ्केत गरेका हुन् ।

गुरुङको दाबी अनुसार गठबन्धनमा रहेका दलहरूमा एक अर्काप्रति अविश्वास छ । यही भन्न उनले माओवादी केन्द्रलाई केही माया गरे जस्तो अभिव्यक्ति दिए, ‘कांग्रेसले माओवादीलाई अपमानित गर्‍यो भन्ने छ । पार्टीभित्र फरक मत र गुटहरू देखापरेको छ यो चिज हेरौँ न कसरी जाँदो रहेछ ।’

विगतमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका नेताहरूसँग संवाद भएको भन्न पनि इन्कार गर्ने एमाले नेताहरू पछिल्लो समय छलफल भइरहेको खुलमखुला बताउन थालेका छन् ।

एमाले उपमहासचिव गुरुङ भन्छन्, ‘माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूसँग छलफल भइरहेको छ । जसपा विभाजनको संघारमा छ, विभाजनपछि कुन दलसँग तालमेलमा जान्छ भन्ने टुङ्गो लागेको छैन । समग्र परिस्थिति हेर्छौँ । हामी पनि हातखुट्टा बाँधेर बस्ने कुरा हुँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − four =