एकीकृत समाजवादीको मन्त्री हेरफेरको विवाद सुल्झेला कि बल्झेला ?

प्रेम आले र भवानी खापुङद्वारा राजीनामा

काठमाडौँ । नेकपा [एकीकृत समाजवादी] ले जब बहालवाला मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्‍याे, त्यतिबेलादेखि नै पार्टीभित्र किचलो शुरू भयो । केही मन्त्रीहरूले फिर्ता नहुने अडान लिँदै अध्यक्ष माधवकुमार नेपालसमेतलाई हटाउन चुनौती दिए । मन्त्री हेरफेरविरुद्ध हस्ताक्षर अभियानसमेत चलाइयो ।

मन्त्री हेरफेरविरुद्ध १० जना सांसदले हस्ताक्षर गरे । हस्ताक्षर गरेको पत्र अध्यक्ष नेपालसमक्ष बुझाइयो । एकीकृत समाजवादीले पार्टीभित्रको किचलो लामो रस्साकस्सीपछि केही मथ्थर भएकाे छ । मन्त्री हरेफेरविरुद्ध हस्ताक्षर गरेका १० सांसदमध्ये ६ जनाले हस्ताक्षर फिर्ता लिइसकेका छन् । हस्ताक्षर फिर्ता गर्ने एक जना बहालवाला मन्त्रीले राजीनामासमेत गरिसकेका छन् ।

शुरूमा ‘मन्त्री हेरफेर गर्नुहुँदैन’ भन्दै अडान राख्दै यसविरुद्धमा हस्ताक्षर गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययनमन्त्री प्रेम आलेले राजीनामा दिएका हुन् । उनले पार्टी अध्यक्ष नेपाललाई राजीनामा बुझाइसके । उनले हस्ताक्षर फिर्ता गरेको भोलिपल्टै राजीनामा दिएका हुन् ।

आलेले केहीबेरमा आफ्नो राजीनामाबारे पत्रकार सम्मेलनमार्फत् जानकारी दिने छन् । एकीकृत समाजवादीले जेठ २२ गते नै बहालवाला मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको थिएन ।

एकीकृत समाजवादीका एक नेताले मन्त्री हेरफेरको विवाद सुल्झने बताए । ती नेताले भने, ‘मन्त्री हेरफेरको निर्णय समाधान हुन केही समय लाग्यो, तर यो विवाद अब सुल्झने छ, मन्त्रीहरूले राजीनामा दिएर ब्याक हुन थालेका छन् । पार्टी निर्णय सर्वोपरी हुन्छ, नमान्ने कुरै हुँदैन ।’ उनले मन्त्री हेरफेरको निर्णय अब थप नबल्झने दाबीसमेत गरेका छन् ।

♦ याे पनि:
   पर्यटनमन्त्री आले र स्वास्थ्य राज्यमन्त्री खापुङले दिए राजीनामा

हस्ताक्षर फिर्ता लिएका मन्त्री आलेबाट एकीकृत समाजवादीका बहालवाला मन्त्रीको राजीनामा आएको हुनाले यो विवाद सुल्झने ती नेता बताउँछन् । उनका अनुसार विस्तार अन्य बहालवाला मन्त्रीको पनि राजीनामा आउनेछ, नयाँ मन्त्रीहरूको शपथ हुनेछ । आलेसहित हस्ताक्षर फिर्ता लिनेहरूमा धनबहादुर बुढा, कृष्णलाल महर्जन, गोपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्थ र बीनादेवी बुढाथोकी रहेका छन् ।

६ जना ब्याक भए पनि ४ जना सांसद हस्ताक्षर फिर्ता नगरी अझै फ्रन्टमै उभिएका छन् । हस्ताक्षर फिर्ता नलिनेमा ३ जना बहालवाला मन्त्री छन् । हस्ताक्षर फिर्ता नलिई फ्रन्टमै कायम रहनेमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सासंद निरा जैरु रहेका छन् ।

मन्त्री आलेले राजीनामा दिए पनि अन्य तीन मन्त्रीले राजीनामा त के, मन्त्री हेरफेरविरुद्ध गरेको हस्ताक्षरसमेत फिर्ता लिएका छैनन्, जसका कारण एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने पार्टीको निर्णय कार्यान्वयन हुन्छ भन्नेमा अझै विश्वस्त हुन सकिएको छैन । यो विवाद सुल्झेला कि बल्झेला ? भन्ने प्रश्नमा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल यसो भन्छन्, ‘पार्टीका मन्त्रीहरू फिर्ता हुन नमाने प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीबाट सिफारिस भएका अन्य मन्त्रीहरूलाई बोलाएर शपथ खुवाउनुहुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *