प्रदेश नं. १

बेकामे क्षेत्रमा सरकारको करोडौँ बजेट, कार्यकर्ता पोस्न पार्क र मन्दिरमा लगानी

विराटनगर । प्रदेश नं. १ सरकारले आगामी आर्थिक वर्षका लागि पर्यटन क्षेत्रमा ल्याएको बजेट पार्क, मन्दिरका टिन फेर्नेदेखि भजन मण्डलीलाई सहयोग तथा विभिन्न कब्रस्थान तथा घाटहरूका लागि कनिका छरेझैँ बजेट छरेको पाइएकाे छ । डीपीआर, सम्वभाव्यता अध्ययन, पर्यटकीय पूर्वाधार निर्माणको लागि अधिकांश बजेट सक्ने खालको योजना र बजेट आएको छ ।

प्रदेश नं. १ सरकारको कार्यकाल सकिनै लाग्दा निर्वाचनलक्षित बजेटले मनपरी खर्च गर्ने देखिएको छ। पर्यटन क्षेत्रको विकासको नाममा करिब ८० वटाभन्दा बढी योजनाहरू पार्क निर्माणमा केन्द्रित देखिएको छ। पर्यटन तथा संस्कृति मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट पार्क र पर्यटन पूर्वाधारको नाममा कार्यकर्ता पोस्नेगरी बजेटमा विनियाेजन भएको छ । यस्ता योजना पनि मन्त्रीका जिल्ला निर्वाचन क्षेत्रमा बढी देखिएको छ ।

अधिकांश योजनाहरू पहुँचवाला र मन्त्रीको निर्वाचन क्षेत्रमा देखिएको छ । करिब १८ करोड रकम पार्क मात्र उल्लेख भएको शिर्षकमा छुट्याएको छ। ठूला आयोजना एउटाबाहेक सबै खुद्रे योजना आएको छ । ठूलाे आयोजनाको नाममा सुनसरीको कोशी गाउँपालिका वडा नं. ६ र ७ उल्लेख गरेर मत्स्यगन्धा फन्नी फार्क निर्माणको नाममा ४ करोड बजेट दिइएकाे छ । यो बजेटलाई डीपीआर कार्यान्वायनको रूपमा सरकारले अर्थ्याएकाे छ । यो योजनाबाहेकका सबै योजनाहरू साना खुद्रे र टुक्रे योजना छ ।

सरकारले ल्याएको पर्यटन क्षेत्रको पार्कमा चैतुन भ्यूपार्क थामडाँडा केराबारी १ मोरङलाई १० लाख दिएको छ। बिखे भञ्ज्याङदेखि छिन्ताप्पु पदमार्ग तथा भ्यूपार्क निर्माण सन्दकपुर १ इलामकाे लागि १५ लाख दिइएकाे छ । एभरेष्ट भ्यूपार्क निर्माणको नाममा लिम्चुङबुङ ३ उदयपुरको लागि १५ लाख दिइएकाे छ भने पाटीटार सौन्दर्यकरण देउमाई नगरपालिका ३ इलामलाई १५ लाख दिइएकाे छ । सौन्दर्यकरण, पर्यटन पूर्वाधारलगायतको क्षेत्रमा राज्यले उपलब्धि नै नदेखिने तर कार्यकर्ता रिझाउने गरि धेरै योजनाहरू हालेको छ ।

सरकारको पार्क मोह

सरकारले पार्क निर्माणको नाममा ठूलाे धनराशी खर्च गरेको छ । पार्क निर्माण र भ्यूटावरलाई निरुत्साहित गर्ने भनिए पनि त्यस्ता योजनाहरू प्रसस्तै परेका छन् । इलामकाे सन्दकपुर ३ सुत्लुङ शिरिजङ्घा पार्क निर्माणमा २० लाख, संखुवासभाको मकालु ३ रिखिमा भरना पार्क निर्माणमा १५ लाख, महानन्द सापकोटा पर्यटन पार्क निर्माण रोङ ५ इलामलाई १५ लाख बाँडिएको छ। सूर्दाेदय नगरपालिका ३ इलाममा बुद्धपार्क विकासकालागि ५० लाख, चोत्लुङ पार्क सौन्दर्यकरण तथा पूर्वाधार निर्माण बसन्तपुर तेह्रथुमलाई २० लाख, हरित पार्क निर्माण विराटनगर ३ मदननगर चौकदेखि परोपकार घाटसम्म २० लाख बजेट छुट्याइएकाे छ ।

मोरङको लेटाङ नगरपालिका ३ को इमानसिंह चेम्जोङ स्मृति पार्क निर्माणको नाममा १५ लाख, भोजपुरको रामप्रसाद राई गाउँपालिका ३ को पञ्चकन्या विद्यार्थी पार्क निर्माणलाई २५ लाख दिइएकाे छ । सामुदायिक वनभित्र पार्क निर्माणको लागि पनि सरकारले बजेट दिएको छ ।

सिमसार क्षेत्रको पर्यटकीय पूर्वाधार निर्माणमा बजेट दिएको हो । मोरङको पथरिशनिश्चरे नगरपालिका १ को मनकामना सामुदायिक वन सिमसार पर्यटकीय पूर्वाधार १५ लाख दिएको छ । शिलढुङ्गा ग्रीनपार्क धनकुटा ३ का लागि १५ लाख, साँगुरीगिढी ६को बहुसांस्कृतिक पार्क निर्माण गर्न १५ लाख, विराटनगरको डीपइएस स्कूल अगाडिको अधुरो पार्क निर्माणमा १५ लाख, चौदण्डीगढी १ उदयपुरको कञ्चन शान्तिबाटिका पूर्वाधार निर्माणमा १० लाख बाँडेको छ ।

मोरङकाे बेलवारी नगरपालिका ११ को यलम्बर पार्कको लागि १५ लाख, धनकुटाको हिले पार्क निर्माणमा १० लाख, थामडाँडा पर्यटकीय पूर्वाधार निर्माण गर्न महालक्ष्मी ३ धनकुटामा १० लाख, काजीमान कन्दङ्वा पार्क आठराई ६ चुहानडाँडा तेह्रथुमको लागि १५ लाख छुट्याएको छ । मदन आश्रित स्मृति पार्क निर्माण १० लाख, योगमाया जल समाधीस्थल स्मारक पार्क तथा आश्रम भोजपुर ६० लाख, नारदमुनी थुलूङ पार्क निर्माण ३० लाख क्रमागत, थालेडाँडा पार्क निर्माण आठराई २ तेह्रथुमलाई १५ लाख, ढोलबजे पार्क निर्माण खाँदबारी १ संखुवासभालाई १५ लाख, सुम्निमा पारुहाङपार्क निर्माण दिप्रुङ चुईचुम्मा ६, खोटाङलाई १५ लाख बजेट दिएको छ ।

सुनसरीको बराहक्षेत्र नागरपालिका ७ को महेन्द्र चिल्ड्रेन पार्कलाई १५ लाख, सुनसरीको पानिपिया धार्मिक सांस्कृतिक पार्क १५ लाख, यलम्बर पार्क धनकुटा ६ को लागि १० लाख तथा साकेला पार्क त्रियुगा ११ उदयपुरलाई १० लाख दिइएकाे छ । खुर्कुटे ओढारदेखि भ्यूटावरसम्म फुट ट्याक निर्माणलाई पनि बजेट दिइएकाे छ । म्याङ्लुङमा रहेको यो स्थलको निर्माणको लागि भन्दै १५ लाख दिने बजेटमा उल्लेख छ ।

सुनसरीको पानबारी पर्यटकीय पार्क निर्माण १५ लाख, पकेट डाँठा बुद्धपार्क, लालीगुराँस ४ तेह्रथुमलाई २० लाख, आँखी भुइँ शहीद पार्क निर्माण धर्मदेवी ९ संखुवासभालाई १५ लाख र पथरी शनिश्चरे रत्नपार्क निर्माण पथरी १ मोरङ २० लाख विवरण गरिएको छ। वितरणमुखी निर्वाचन लक्षित बजेटले मोरङको पथरी ७ मा रहेको मायाँदेवी पार्कलाई २५ लाख, सुनसरीको इटहरी १८ मा जेष्ठ नागरिक पार्क निर्माण गर्ने भनिएको छ ।

शहीद पार्कमा बजेट

इलामको शहीद पार्क २० लाख, रामजानकी मन्दिर पार्क इनरुवा ४ सुनसरीलार्य १० लाख, जोरपोखरी शहीद पार्कको नाममा हिलिहाङ पाँचथरलाई २० लाख, ताप्लेजुङको फुङलिङमा शहीद पार्क निर्माणमा २० लाख, मेमेङ्ग शहीद पार्क निर्माण फालेलुङलाई २० लाख, शहीद पार्क निर्माण तुम्मेवा ३ पाँचथरलाई १० लाख दिइएकाे छ। त्यस्तै कुहिभीर शहीद पार्क चिशंखुगढी १ ओखलढुंगालाई २० लाख दिइएकाे छ । शहीद पार्क गौतामाई ६ लाफागाउँ उदयपुर १५ लाख दिने रातोकिताबमा उल्लेख छ ।

तेह्रथुमको कालिका मालिका मन्दिरमा पार्क निर्माण गर्न २० लाख, शहीद धिरेन स्मृति पार्क चुलाचुली १ इलामलाई १० लाख, पुष्पलाल चोक स्मृति पार्क विराटनगरलाई २० लाख, बगाले पार्क निर्माण अठराई तेह्रथुम २० लाख, यलम्बर पार्क भोजपुरको सुन्तलेलाई २० लाख र शिवालय बराह पार्क निर्माणमा १५ लाख दिइएकाे छ ।

सुनसरीको साकेला पार्क धरान १५लाई १० लाख, अधुरो मदन भण्डारी पार्क निर्माण बराह क्षेत्र ७ सुनसरी १० लाख दिइएकाे छ । सुनसरीको अधुरो मधुवन पार्क निर्माण बराहक्षेत्र १० लार्य १० लाख, गोल्डेन पार्क निर्माण धरान १३ सुनसरी १५ लाख, विराटनगरको प्रगति पर्यटन जेष्ठ नागरिक पार्कलाई १५ लाख बजेट छ ।

शिवजी थिम पार्क तेह्रथुमलाई २० लाख, पर्यटन पार्क दुधकुण्ड नपा १० सोलुखुम्बुलाई १५ लाख, ताप्लेजुङको बाजहाङ आङबुहाङ शहीद पार्क १५ लाख, धनकुटाको थामडाँडा बूढानीलकण्ठ मेन टावर पार्क महालक्ष्मी नगरपालिका १ लाई १५ लाख, भोजपरको टक्सारमा चिल्ड्रेन पार्क निर्माण गर्न १० लाख, खोटाङको जन्तरेढुंगा संरक्षण तथा बाल उद्यान पार्क निर्माणमा १५ लाख दिने राते किताबमा उल्लेख छ ।

महाभारत एकीकृत पर्यटन पार्क निर्माण कटारी ११ उदयपुरलाई १० लाख, विर्तामोडको शहीद नेत्रपार्क निर्माणमा २० लाख, झापाको सुखानी शहीद स्मृति पार्कलाई २० लाख, जेष्ठ नागरिक पार्क निर्माण पथरी ६ मोरङलाई १० लाख, ईन्जिनियरिङ प्रदर्शनी प्रविधि पार्क, सुन्दरहरैँचा १०लाई २० लाख दिइएकाे छ । ताप्लेजुङको चोत्लुङ पार्क निर्माण मौवाखोलालाई १५ लाख, तेह्रथुमको खुर्कुट् ओडार संरक्षण तथा उद्यान पार्कलाई १५ लाख यलम्बर पार्कलाई १५ लाख, पाँचथरको गणेशमान शान्तिपार्क निर्माण गर्न फिदिम ४ लाई ३० लाख बजेट छुट्याइएकाे छ ।

मोरङको ग्रामथान ६ मा सरयुधामीको प्रतिमा पार्क निर्माण गर्न १० लाख, सुनसरीको रामधुनी नगरपालिका ५ को डंग्राही पोखरी चिल्ड्रेनपार्कलाई १५ लाख, इलामको वनबाटिका पार्क सूर्याेदयलाई ३० लाख तथा सूर्याेदय नगरपालिकाको स्वामी पार्कलाई २० लाख, इलामकै रोङ ५ को भोटेडाँडा किराँत पार्क निर्माणमा २० लाख दिइएकाे छ । सुनसरीको गढी ६ मा हात्तीमुडा पर्यटन पार्क भनेर १५ लाख, ईनरुवाको नेवा सामुदायिक भवन तथा पार्क निर्माणमा २५ लाख, इटहरी १६ मा जब्दी पर्यटन पार्कलाई १५ लाख र मोरङको जहदा १ मा नारी शक्ति स्मृति पार्कलाई १० लाख बजेट उल्लेख छ ।

सरकारले उपलब्ध गराएको बजेटबाट गुफा, जंगल, सिमसार, डाँडा, चौरहरूमा कंक्रिड बनाइने छ भने चिल्ला चौरहरू कंक्रिडको रूपमा परिणत हुनेछन् । पर्यटनको नाममा अग्ला डाँडाहरूमा कंक्रिडको भ्यूटावर बन्ने, भ्यूटावर नभएका ठाउँहरूमा भत्काउने र पार्क नाममा ती रकम अनुत्पादक क्षेत्रमा खर्च हुने विज्ञहरूले बताउँदै आएका छन् ।

मन्दिरलाई रकम

मठमन्दिर र धार्मिक तिर्थस्थलका नाममा पनि ठूलाे रकम बाँडिएको छ । पर्यटनको माध्यमबाट समृद्धिकाे सपना देखेको प्रदेश नं. १ सरकारले पर्यटन विकासमा नाममा मन्दिर निर्माण र पार्क निर्माणमा बजेट छरेको छ । आगामी आर्थिक वर्ष २०७९/०८०को लागि मन्दिर निर्माणका लागि मात्रै ६५ भन्दा बढी योजनाहरू हालेको छ ।  सरकारले मन्दिर निर्माण र पूर्वाधार विकासका लागि न्यूनतम १० लाख रुपैयाँदेखि ५ करोड रुपैयाँसम्म बजेट विनियाेजन गरेको छ ।

सरकारले मन्दिर निर्माण र पूर्वाधार विकासका लागि भनेर ४६ वटा मन्दिरका लागि १० लाखका दरले बजेट विनियाेजन गरेको छ । यस्तै प्रदेशका ७ वटा मन्दिरको निर्माण र पूर्वाधार विकासमा नाममा १५ लाख छुट्याएको छ । ३ वटा मन्दिरका लागि २० लाख, ४ वटा मन्दिरका लागि २५ लाख, एउटाका लागि ३५ लाख, एउटा मन्दिरका लागि ४५ लाख, एउटा मन्दिरका लागि ५० लाख र एउटै मन्दिरलाई ५ करोडसम्म बजेट दिएको छ ।

प्रदेश सरकारले मन्दिरका निर्माण र पूर्वाधार विकासका लागि मात्रै भनेर यो वर्ष १३ करोड ४५ लाख रुपैयाँ बजेट विनियाेजन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *