माथिल्लो बागमती सफाइको ४४३औँ हप्ता (तस्बिरहरू)

काठमाडौँ । आजभन्दा ४४२ हप्ता अर्थात् ८ वर्ष ६ महिनाअघि शुरु भएको माथिल्लो बागमती सफाइ अभियानले आफ्नो ४३३ औँ हप्ता पुर्याएको छ । मानव अधिकारकर्मी तथा अभियन्ता उत्तम पुडासैनीको नेतृत्वमा केही सरसफाइ अभियन्ताहरुले शुरु गरेको बागमती सफाइ अभियानका कारण अहिले गोठाटार पुल आसपासका क्षेत्रको बागमती सफा देखिन थालेको छ ।
गल्ने बाहेकका फोहोरहरू (प्लास्टिक, बोतल, बोरा इत्यादि) नदीबाट टिपेर शुरु भएको अभियान अहिले ‘जिरो वेस्ट’ अर्थात् ‘नगल्ने फोहोर शून्य’ भन्ने नाराका साथ सञ्चालन भइरहेको छ । बागमतीबाट निस्कने प्लास्टिक जन्य फोहोरहरूलाई प्लास्टिककै बोतलमा खाँद्ने, बिक्री हुने फोहोर बिक्री गर्ने र बोराहरूमा माटो भरेर पहिरो जाने क्षेत्रमा राख्ने नीति सहित अहिले अभियानमा सञ्चालन भइरहेको छ ।
अभियन्ता पुडासैनीका अनुसार एउटा २.५ लिटरको प्लास्टिकको बोतलमा कोचेर प्लास्टिक राख्ने हो भने २.५ देखि ३ केजीसम्म प्लास्टिक अट्छ । यसरी प्लास्टिक खाँदेर राखेको बोतलले इँटाको काम गर्ने पनि उनी बताउँछन् । यसो गर्दा बागमतीबाट निस्केको फोहोर डम्प गर्ने झन्झट नि नहुने र ‘जिरो वेस्ट’को नीति लागु गर्न पनि सकिने उनको तर्क छ ।
अहिले उनी विद्यालयहरूमा यही तरिका विद्यार्थीहरूलाई सिकाउँदैछन् । घरमा निस्कने प्लास्टिक जन्य फोहोर सदुपयोग गर्ने यो नै उत्तम विधि भएको उनी बताउँछन् । विद्यार्थीहरूले घरमा यसरी बनाएको बोतल प्रति गोटा १० रुपैयाँमा उनी किन्छन् । अभियन्ता पुडासैनीका अनुसार प्लास्टिक कोचेर बनाइएका यस्ता बोतल, उनी आफैले सञ्चालन गरिरहेको ‘असहाय गाईबाच्छा संरक्षणस्थल’मा प्रयोगमा ल्याइरहेका छन् ।