न्यायाधीश काेइरालाकाे प्रष्टाेक्ति- ‘फाेनमा कुरा सुनिदिएकाे मात्रै हुँ, बेकारमा मलाई डुबाए’

काठमाडाैँ । व्यवसायी इच्छाराज तामाङको मुद्दामा न्यायाधीशलाई घुस खुवाउने अडिओ प्रकरणमा संलग्न न्यायाधीश राजकुमार काेइरालाले आफूले कुनैखाले फट्याइँ नगरेकाे जिकिर गरेका छन् । ‘उहाँ [वकिल रुद्र पाेखरेल] ले फाेन गरेर मेराे कुरा सुनिदिनुस् न भन्नुभयाे । त्यसपछि त सुन्नैपर्‍याे । मैले उहाँकाे कुरा सुन्नेदेखि केही गरेकाे छैन । फट्याइँ गरेकाे छैन,’ उनले मकालुखबरसँग भनेका छन् ।

तामाङकाे मुद्दा हेर्न थालेदेखि नै आफूलाई फाेन आउन थालेकाे भनाइ न्यायाधीश काेइरालाकाे छ । आफूले २०/२५ दिनसम्म फाेन स्वीच्ट्अफसमेत गरेर राखेकाे सुनाउँछन् उनी, भन्छन्— ‘अर्कै फाेनमा अर्कै सिम लगाएरसमेत चलाएँ । त्यहाँ पनि सम्बन्धित फाेन नै आयाे । त्याे फाेन उठाउनेबित्तिकै यस्ताे कुरा आएकाे हाे ।’ पैसाकाे प्रलाेभन दिएपछि आफूलाई पैसाकाे जरुरत नपर्ने बताएकाे उनकाे प्रष्टाेक्ति छ । उनले थपे, ‘मैले पैसाकाे कुनै लाेभ छैन पनि भनिदिएकाे हुँ । मबाट त्याे काम हुँदैन भनेर पनि भनेकाे हुँ ।’

आफूले फाेन नगर्नुस् भनेर आग्रहसमेत गरेकाे उनले बताएका छन् । वकिल पाेखरेलले ‘मेराे कुरा त सुन्नुस्’ भनेपछि आफूले सुनेकाे मात्रै जिकिर गर्दै उनले भनेका छन्, ‘अब सुन्नुस् भनेपछि नसुन्ने कुरा पनि त भएन । त्यसपछि सुनेँ र यसाे भयाे ।’ आफूलाई ‘खाइ नपाइ, छालाकाे टाेपी लाइ’ भनेझैँ भएकाे उल्लेख गर्दै उनले भने, ‘मैले केही भनेकाे छैन । याे कुरा टेलिकममा हेर्दा पनि हुन्छ । मलाई डुबाउने काम मात्रै भयाे ।’

छानबिन समिति गठन

यस विषयमा छानबिन गर्न न्याय परिषद्‌ले ३ सदस्यीय छानबिन समिति गठन गरेकाे छ । परिषद् सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा गठित समितिलाई ४५ दिनभित्र अध्ययन/छानबिन गरी प्रतिवेदन बुझाउन भनिएकाे छ ।

न्याय परिषद् ऐनको दफा १९ बमोजिम बनेकाे समितिमा उच्च अदालत, पाटनका न्यायाधीश महेश पौडेल र महेश शर्मा रहेका छन् । समितिले तत्काल कामकाे थालनी गर्ने बताएकाे छ । समिति संयाेजक श्रेष्ठले भनेका छन्, ‘भ्याएसम्म र सम्भव रहेसम्म यसलाई सत्यतथ्य बाहिर ल्याउने काेसिस समितिले गर्ने र छिटाे गर्ने काम गर्नेछ ।’

के हाे प्रकरण ?

प्रकरणमा जाेडिएका इच्छाराज तामाङ सिभिल सहकारीकाे सञ्चालक हुन् । सहकारीका बचतकर्ताको उजुरीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तामाङ तथा सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठसहित १२ जनालाई यसअघि पक्राउ गरेका थियाे । उनीहरूविरुद्ध ७० करोड ८७ लाख सङ्गठित रूपमा ठगी गरेको आरोप छ ।

उनै तामाङ यसबेला थुनामै छन् । २०७८ असाेज १९ गते पक्राउ परेका उनलाई रिहा गर्नका लागि न्यायाधीश काेइरालालाई दबाब दिएकाे खुलेकाे छ । न्यूज २४ टेलिभिजनले याे प्रकरणलाई बाहिर ल्याएपछि यसले न्याय वृत्तमा सनसनी मच्चाएकाे छ । तामाङलाई छुटाउने बहनामा वकिल पाेखरेलले काठमाडाैँ जिल्ला अदालतका न्यायाधीश काेइरालालाई १० कराेडसम्मकाे प्रलाेभन देखाएका छन् ।

♦ याे पनि:
   न्यायाधीश र वकिलबीच भएकाे १० करोड लेनदेनकाे अडिओ सार्वजनिक, न्यायपरिषद्को आकस्मिक बैठक बस्दै
   न्यायाधीश-वकिल घुस बार्गेनिङ प्रकरण : छानबिनका लागि तीन सदस्यीय समिति गठन
   घुस लिन उक्साउने अधिवक्ता पोखरेलसँग बार काउन्सिलले स्पष्टीकरण माग्ने

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 11 =