प्रहरी हेडक्वाटरमा गृहमन्त्री खाँणः अनुशासित जीवनशैलीका लागि योग गर्न सुझाव

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले मानव शरीर तथा मस्तिष्कलाई सन्तुलित राख्नका लागि योग अभ्यास जरुरी रहेको औंल्याएका छन् ।

आठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित योग शिविर तथा उत्प्रेरणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानिसको भौतिक शरीर, मानसिक अनुभूति र शारीरिक अवस्थालाई सन्तुलनमा राखी तनाव कम गर्न तथा जीवनलाई शान्त, फलदायी र उत्पादनमूलक बनाउन योग प्रभावकारी हुने उल्लेख गरेका हुन् ।

गृहमन्त्री खाँणले समाजमा हुने विभिन्न प्रकारका घटना, दुर्घटना र अपराधको प्रभावकारी रोकथाम तथा नियन्त्रण गरी समाज र नागरिकलाई सुरक्षित राख्ने जटिल प्रकृतिको जिम्मेवारी वहन गर्ने सन्दर्भमा प्रहरी कर्मचारीको तनाव व्यवस्थापनमा योगाभ्यासको अधिक महत्व रहने विचार व्यक्त गरेका छन् । विविध कारणले मानव जीवनमा उत्पन्न हुने तनाव, चिन्ता, रिस, आक्रोश, द्वेष र विचलनलाई योगले नियन्त्रण गर्न सहयोग गर्ने बताउँदै विशेषगरी प्रहरीले यसलाई अवलम्बन गर्नैपर्ने बताएका हुन् ।

उनले ‘मानवताका लागि योग’ भन्ने नारालाई आत्मसाथ गरी समाज र राष्ट्रको हित तथा विकासमा आफूलाई समर्पित गर्न पनि आग्रह गरे । उनले योग र प्रणायामको नियमित अभ्यासले मानव शरीर तथा मस्तिष्कलाई सन्तुलित र स्वस्थ राखी सकारात्मक सोच विकास गर्ने चर्चा गरे । योगाभ्यासलाई प्रशिक्षणमा मात्रै सीमित नराखी आफ्नो व्यक्तिगत एवं व्यावसायिक जीवनमा समेत नियमित अभ्यास गर्न आग्रह गर्दै उनले भने, “योग एवं आसन, प्रणायम मात्र होइन एक अनुशासित जीवनशैली पनि हो ।”

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नियमित योगाभ्यासले शरीर र मस्तिष्कलाई चुस्त, स्फूर्त राखी शारीरिक विकारबाट मुक्ति दिलाउन मद्दत गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *