चेक बाउन्स प्रकरणमा आशिका तामाङ: ‘पीडित म नै हुँ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले आफूलाई जोडेर सार्वजनिक भएका ‘चेक बाउन्स’ सम्बन्धी समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै वास्तविकता फरक रहेको स्पष्ट पारेकी छन् ।

सामाजिक सञ्जालमार्फत सोमबार स्पष्टीकरण दिँदै तामाङले चेक बाउन्सको विषयमा पीडित आफू रहेको र आफूले कसैलाई दिनुपर्ने रकमको चेक बाउन्स नभएको बताएकी हुन् ।

‘चेक बाउन्सको विषयमा पीडित पक्ष म स्वयं हुँ । मैले प्राप्त गर्नुपर्ने रकम सम्बन्धी चेक अनादर (बाउन्स) भएको हो, न कि मैले कसैलाई दिनुपर्ने रकमको चेक बाउन्स गरेको हो,’ उनले भनेकी छन् ।

उनले उक्त विषयमा सन् २०२४ मै सामाजिक सञ्जाल र विभिन्न अन्तर्वार्तामार्फत आफ्नो धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै आफूले पाउनुपर्ने रकम नतिरेपछि कानुनी प्रक्रियाअनुसार चेक अनादर सम्बन्धी कारबाही अघि बढाएको बताएकी छन् ।

तामाङले सम्बन्धित व्यक्ति अमेरिकामा रहेको दाबी गर्दै बैंकिङ कानुनअनुसार चेक अनादर सम्बन्धी मुद्दामा बैंकमा ४५ दिनको प्रतीक्षा अवधि पूरा भएपछि मात्र कानुनी प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने व्यवस्था रहेको जानकारी दिएकी छन् ।

‘सम्बन्धित पक्षले आफूले तिर्नुपर्ने रकमबाट बच्न विभिन्न माध्यममार्फत मिडिया ट्रायल गर्ने, मानवअधिकार आयोगसम्म पुगेर आफ्ना दाबी प्रस्तुत गर्ने जस्ता गतिविधि गरेको देखिएको छ । तर ती दाबीहरू सत्यतामा आधारित छैनन्,’ उनले भनेकी छन् ।

उनले आफू र आफ्नो सचिवालयलाई लक्षित गरेर फैलाइएका भ्रमपूर्ण समाचारमा विश्वास नगरी वास्तविक तथ्य बुझ्न सबैसँग आग्रह गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =