‘अवरूद्ध राजमार्ग सञ्चालनका लागि पहिरो पन्छाउने काम प्राथमिकतामा’

काठमाडौं । सडक विभागले वर्षासँगै आएको बाढीपहिरोका कारण मुलुकका विभिन्न स्थानमा अवरूद्ध राजमार्ग सञ्चालनलाई प्राथमिकतामा राखी पहिरो पन्छाइने जनाएको छ ।

सडक विभागले मनसुन सक्रिय भएसँगै जोखिमयुक्त राजमार्ग तथा सडकमा पहिरो गए तत्काल हटाएर यातायात सञ्चालन गर्ने गरी आवश्यक जनशक्ति र उपकरण तयारी अवस्थामा राखेको हो । विभागका प्रवक्ता श्यामबहादुर खड्काले बाढीपहिरोका कारण अवरूद्ध रहेको राजमार्गलाई सहज रूपमा जतिसक्दो छिटो सञ्चालनमा ल्याउनका लागि पहिरो पन्छाउने कार्यलाई प्रथामिकतामा राखिएको बताए ।

“कतिपय राजमार्गमा ठूला पहिरो जाँदा पन्छाउन समय लाग्ने, निरन्तर वर्षाका कारण थप चुनौतीपूर्ण भइरहेको छ । कतिपय स्थानमा राजमार्ग आसपास बस्ती रहेकाले डोजर लगाउन समस्या हुने गरेको छ”, उनले भने, “पहिरोको सम्भावित जोखिम भएका क्षेत्रमा डोजर, एक्साभेटर, लोडरलगायत उपकरण तयारी अवस्थामा राखिएका छन् ।”

नेपाल प्रहरीका अनुसार मुलुकका १० राजमार्ग अझै अवरूद्ध छन् । प्रहरीका अनुसार बिपी राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सञ्चालन हुने सम्पूर्ण सवारीसाधन पूर्ण रूपमा रोक लगाइएको छ । मकवानपुरस्थित कान्ति लोकपथमा वर्षातका कारण हुनसक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले सबै किसिमका सवारीसाधनलाई रातिको समयमा सञ्चालनमा रोक लगाइएको नेपाल प्रहरीले जनाएको छ ।

यसैगरी इलामस्थित मेची राजमार्ग पनि पूर्णरूपमा अवरुद्ध छ । अर्घाखाँचीको सालझन्डि-ढोरपाटन सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको नेपाल प्रहरीकोे तथ्याङ्कमा उल्लेख छ । सिन्धुपाल्चोकको अरनिको राजमार्ग, बागलुङको कालीगण्डकी करिडोर, रसुवाको त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी सडकखण्ड, रोल्पा-रुकुम-घोराही सहिदमार्ग, खोटाङस्थित मध्यपहाडी लोकमार्ग, चितवन इच्छाकामना गाउँपालिका-३ फिस्लिङस्थित पृथ्वीराजमार्ग, ताप्लेजुङको मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका नेपाल प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

One thought on “‘अवरूद्ध राजमार्ग सञ्चालनका लागि पहिरो पन्छाउने काम प्राथमिकतामा’

  1. हरेक बर्ष को समस्या समाधान छैन why erosion of soil is not stopped.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =