प्रदेश सभाहरू प्रतिपक्षविहीन हुनुहुँदैन, आवश्यक परे काँग्रेस प्रतिपक्षमा बस्न तयार छः शर्मा

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकारहरू प्रतिपक्षविहीन बन्न नहुने बताएका छन् ।

सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपसभापति शर्माले प्रदेश सरकार गठन र सञ्चालनका क्रममा लोकतान्त्रिक मूल्य–मान्यता र संविधानको मर्मलाई ख्याल गर्नुपर्नेमा जोड दिएका हुन् ।

शर्माले पछिल्लो समय प्रदेश सरकारहरूमा सत्ता साझेदार दलहरूबीच केही समस्या देखिएको स्वीकार गर्दै ती विषयमा आन्तरिक संवाद र अभ्यासहरू भइरहेको जानकारी दिए । कुनै पनि प्रदेश सभा प्रतिपक्षविहीन बन्नु नहुने काँग्रेसको स्पष्ट बटम लाइन रहेको र संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका दलहरूले प्रतिकूल परिस्थितिमा पनि यसको मूल मर्मलाई उल्लङ्घन गर्न नमिल्ने उनले जिकिर गरे ।

प्रदेश सरकारहरूको फेरबदल र नयाँ सरकार गठनको प्रक्रियामा प्रतिपक्षको परिकल्पना अपरिहार्य रहेको उनको तर्क छ । लोकतान्त्रिक प्रणालीलाई जोगाउन आवश्यक परे नेपाली काँग्रेस आफू प्रतिपक्षमा बस्न तयार रहेको तर सबै मुख्य दलहरू एउटै सरकारमा ओत लाग्ने प्रवृत्ति उपयुक्त नहुने शर्माले स्पष्ट पारे ।

‘प्रदेश सरकारहरूको बारेमा केही समस्याहरू देखिएका छन् । अब प्रदेश सरकारहरू कसरी चल्छन् वा कसरी नयाँ बन्छन् भन्ने विषयमा सार्वजनिक रूपमा धेरै टिप्पणी गर्नुभन्दा आन्तरिक रूपमा अभ्यास, संवाद र छलफल भइरहेका छन्,’ उपसभापति शर्माले भने, ‘हामी एउटा कुरामा भने स्पष्ट छौँ । कुनै पनि प्रदेश सभा प्रतिपक्षविहीन बन्नु हुँदैन ।’

उपसभापति शर्माले प्रदेशमा देखिएका वर्तमान समस्याहरूलाई राजनीतिक संवादमार्फत हल गरिने बताए । नेपाली काँग्रेसले मात्र चाहेर सबै कुरा नहुने उल्लेख गर्दै उनले अन्य राजनीतिक दलहरूको आत्मसम्मान र सहअस्तित्वलाई स्वीकार गर्दै साझा सहमतिको आधारमा प्रदेश सरकारबारे अन्तिम टुङ्गोमा पुगिने जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =