परराष्ट्र सम्बन्ध र राष्ट्रिय सुरक्षाका विषयमा दलहरू एकमत हुनुपर्छ: प्रदीप ज्ञवाली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव तथा पूर्वपराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रिय सुरक्षा र परराष्ट्र सम्बन्धका कुरामा दलहरू एकमत भएर उभिनुपर्ने बताएका छन् ।

पूर्वपराष्ट्रमन्त्री ज्ञवालीले आज शनिबार आयोजित ‘वर्तमान कूटनीतिक अभ्यास र यसको प्रभावहरू’ शीर्षकको कार्यक्रममा दलीय स्वार्थभन्दा माथि उठेर साझा राष्ट्रिय सोचका साथ अगाडि बढ्नुपर्ने बताएका छन् ।

आन्तरिक राजनीति खपतका निम्ति बाह्य सम्बन्धलाई गिजोल्ने काम गरिएकोमा उनले असन्तुष्टि व्यक्त गर्दै भने, ‘एउटै उदाहरण–एमसीसी यतिबिघ्न किन गिजोलियो ? आखिर पास हुने रहेछ । तर, दुई–वर्ष, तीन वर्ष सडकमा आगो बल्ने स्थिति किन सिर्जना भयो ? कसका कारणले किन, यी सबै कुराहरूले मुलुकको विश्वसनीयतालाई चुनौती खडा गर्छ ?’

बाह्य सम्बन्धको सुरुवात छिमेकीहरूको बीचबाट हुने उल्लेख गर्दै ज्ञवालीले उनीहरू नेपालको मुख्य विकास साझेदार, व्यापारिक साझेदार, पर्यटकका मुख्य स्रोत भएको बताए । छिमेकी देशकाबीचमा परिपक्व र सन्तुलित सम्बन्ध राख्न सकिएन भने त्यसका चापहरू थेग्न गाह्रो हुने उनले बताए ।

नेपाल र भारतबीच झण्डै १९ सय किलोमिटर खुला सिमाना भएको र चीनका आफ्नै संवेदनशीलता भएको बताउँदै उनले कूटनीतिक अभ्यासहरूलाई अघि लैजाने क्रममा गम्भीर प्रश्न उठ्ने ठाउँहरू भएको औंल्याएका छन् ।

परराष्ट्र नीति संविधानले परिभाषित गरेअनुसार राष्ट्रिय हितका लागि हुनुपर्ने बताउँदै उनले भने,  ‘सन्तुलित, परिपक्व र संयुक्त राष्ट्र संघको बडापत्र, अलंग्नता, पञ्चशील र विश्व शान्तिका मान्यताबाट निर्देशित हुनुपर्छ । हामी कुनै पनि हिसाबले शक्ति राष्ट्रको रणनीतिको अंग बन्न सक्दैनौँ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *