विनाेद शाही हत्या प्रकरण : अछामका डीएसपी र सीडीओ निलम्बन गर्न माग

काठमाडाैँ । प्रतिनिधि सभामा सांसदहरूले अछामका प्रमुख जिल्ला अधिकारी [सीडीओ] र प्रहरी नायब उपरीक्षक [डीएसपी] निलम्बन गर्नुपर्ने माग गरेका छन् । साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा भाग लिँदै सांसदहरू यज्ञबहादुर बाेगटी, रामबहादुर विष्टलगायतका सांसदहरूले त्यहाँका डीएसपी रवि थपलिया र सीडीओ विश्वराज मरासिनीलाई निलम्बन गर्नुपर्ने माग गरेका हुन् । त्यहाँस्थित विनायक पञ्चदेवल नगरपालिका ४ स्थित कालिकास्थानका १७ वर्षीय विनाेद शाहीकाे हत्याबारे संसद्‌लाई जानकारी गराउँदै उनीहरूले यस्ताे माग गरेका हुन् । सांसद बाेगटीले याे घटनामा गृहमन्त्रीकाे ध्यानाकर्षण नभएकाे उल्लेख गर्दै भने, ‘हाम्राे गृहमन्त्रीज्यू के हेर्दै हुनुहुन्छ ? त्यहाँ याेजनाबद्धरूपमा एक १७ वर्षीय बालककाे हत्या भएकाे छ । सरकार केही हेर्दैन ।’

♦ याे पनि:
   तालिमप्राप्त कुकुरसहित सीआईबीको टोली परिचालन, छिमेकी जिल्लाबाट पनि खटियो प्रहरी

त्यसअघि उनले भने— ‘त्यहाँ डीएसपी थपलिया र सीडीओ मरासिनीकै नेतृत्वमा दिउँसाे १२ बजे, अपराह्न ४ बजे, साँझ ६ बजे र राति १० बजे नाराबाजी गरेर एमालेका कार्यकर्ताहरूलाई खाेजी-खाेजी धम्क्याउने काम भयाे र केटाकेटीहरूमाथि हातपात गर्ने काम भयाे । अब उनीहरूलाई निलम्बन गरियाेस् र निर्दाेषीलाई न्याय दिइयाेस् ।’

यस्तै विष्टले पनि बालककाे हत्यारालाई कानूनकाे कठघरामा उभ्याउन माग गरेका छन् । उनकाे हत्या सुनियाेजितरूपमा गरिएकाे जिकिर गर्दै उनले भनेका छन्, ‘२० गते शव भेटिएकाे हाे । अझैसम्म उनकाे पाेष्टमार्टमसमेत भएकाे छैन । यसखाले बेवास्ता सरकारले गर्नुहुन्न । उनकाे पाेष्टमार्टम तुरुन्तै गरियाेस् । यसकाे सत्यतथ्य छानबिन गरी दाेषीलाई कारबाही गरियाेस् ।’

उनले गृहमन्त्रीकाे ध्यानाकर्षणसमेत गराए । प्रहरी प्रशासनले जाहेरी लिनसमेत नमानेकाे आराेप विष्टकाे छ, भने— ‘गृहमन्त्रीकाे ध्यान गएकाे छैन । म उहाँकाे ध्यान जाओस् भनेर भन्न चाहन्छु । त्यसपछि संसद्‌लाई जानकारी गराउनेछु । त्यहाँ प्रहरी प्रशासनले जाहेरी लिनसमेत मानेकाे छैन । यसबारे सरकराकाे ध्यान जाओस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 9 =