अछाममा किशोर मृत्यु प्रकरण

तालिमप्राप्त कुकुरसहित सीआईबीको टोली परिचालन, छिमेकी जिल्लाबाट पनि खटियो प्रहरी

धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ स्थित कालिकास्थानमा १७ वर्षीय किशोर विनोद शाहीको मृत प्रकरणको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहित सीआईबीको टोली परिचालन गरिएको छ । किशोरको हत्या भएको भन्दै आक्रोशित स्थानीयले इलाका प्रहरी कार्यालय तोडफोड गर्नुका साथै अवस्था तनावग्रस्त बनेपछि घटनाको अनुसन्धानका लागि सीआईबीको टोली परिचालन गरिएको हो ।

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका लागि कञ्चनपुरमा रहेका डिएसपी मनोहरप्रसाद भट्ट नेतृत्वको टोली परिचालन गरिएको सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) मोहनकुमार आचार्यले जानकारी दिए । उनका अनुसार उक्त टोली शनिबार साँझ नै अछाममा खटाइएको हो ।

यसैगरी जिल्ला प्रहरी कार्यालय बाजुराबाट पनि इन्स्पेक्टर सन्दीप शाह नेतृत्वमा २५ जनाको टोली घटनास्थलमा परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीबाट असई रामबहादुर चौधरीको कमान्डमा २५ जनाको थप टिम परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अछामस्थित इलाका प्रहरी कार्यालय कमल बजारका इन्स्पेक्टर भास्कर बहादुर चन्द नेतृत्वको टिम पनि घटनास्थलमा परिचालन गरिएको छ । स्थिति तनावग्रस्त बनेपछि बिदामा काठमाडौँ गएका अछामका डिएसपी रविराज थपलिया पनि जिल्ला फर्केका छन् ।

स्थानीयले किशोरको हत्या भएको आरोप लगाएका छन् । तर, स्थानीयले प्रहरीलाई घटनास्थलमा जान दिएका छैनन् । घटनास्थलको सुरक्षामा पनि स्थानीयले अवरोध गरेका छन् ।

आक्रोशित समूहले प्रहरीको ना.१ झ १२८६ नम्बरको गाडीमा ढुंगामुढा गरेर तोडफोड गरेको अछामका डिएसपी रविराज थपलियाले बताए । भिडलाई नियन्त्रणमा लिन प्रहरीले शनिबार ८ राउण्ड हवाई फायर र ४ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ ।

१० कक्षामा अध्ययनरत किशोर शाही शनिबार बिहान १० बजेको समयमा मृत भेटिएका हुन् । प्रदर्शनकारीले शनिबार पञ्चदेवल विनायक नगरपालिकाको मूल ढोकामा ताला लगाएर प्रदर्शन गरेका थिए। परिवारले किशोर हराएकोबारे शनिवार बिहान नै जिल्ला प्रहरी कार्यालय अछाममा निवेदन दिएका थिए । शनिवार बिहानै पञ्चदेवल विनायक नगरपालिका-४ स्थित कालिकास्थान स्थित मध्यपहाडी लोकमार्गबाट १ किमी तल जङ्गलमा उनी मृत फेला परेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *