माडी बाँदरमुढे घटना : १७ वर्षदेखि पीडितको पीडा उस्तै

चितवन । १७ वर्ष अगाडि आजैको दिन हो, माडी बाँदरमुढे घटना घटेको । जुन घटनामा परेका घाइतेको पीडा अझै उस्तै छ । घटनाका घाइतेहरूले न घाउमा मलहम पाए, न न्याय ।

माडी अयोध्यापुरी-७ की सीता सुवेदी जति बिर्सन खोजेपनि त्यो दिनको घटनालाई बिर्सन सकेकी छैनन् । कामको सिलसिलामा उनी जब बाँदरमुढे खोला हुँदै हिँड्नुपर्छ, घटनामा घाइते भएकी सीताको मुटु थरर्र काँप्छ ।

आज भन्दा १७ वर्ष अगाडि आजैको दिन बिहान पौने ८ बजे उनी चढेको ना १ ख ३२४५ नम्बरको बसमा तत्कालीन विद्रोही नेकपा (माओवादी) ले बम विस्फोट गराएको थियो । बम विस्फोट भएको बसमा सीता मात्र थिइनन् उनका श्रीमान् आत्मराम र छोरी अञ्जलीसहित उनी पनि परेकी थिइन् । श्रीमान् र छोरीको विस्फोटमा परेर मृत्यु भयो । उनी शक्त घाइते भइन् । अहिले पनि उनले औषधि सेवन गर्नुपर्छ । टाउको र ढाडमा चोट छ । गाह्रो काम गर्न सक्दिनन् । उनी भन्छिन्, ‘हाम्रो पीडा जहिले नै उस्तै छ, न न्याय मिलेको छ, न उपचार खर्च ?’

२०६२ सालको जेठ २३ गते हो बाँदरमुढेमा बम विस्फोट भएको । माडीको बगईबाट नारायणगढको लागि छुटेको बस बाँदरमुढेको विस्फोटमा परेको हो । बम विस्फोटमा परेर ३८ जनाको ज्यान गयो । बसमा सवार ७५ जना घाइते भए । मृत्यु हुनेमा तीन जना नेपाली सेनाका जवान पनि थिए । बसमा गस्तीमा हिँडेका ८ जना सैनिक चढेका थिए । अन्य सैनिक घाइते भए । काठमाडौँ र पोखराको लागि छुट्ने गाडीहरू त्यो दिन नचलेका कारण विस्फोटमा परेको बसमा खचाखच यात्रु थिए । बसको छतभरि टनाटन यात्रु थिए । १३० भन्दा बढी यात्रुले भरिएको बसलाई लक्षित गरेर तत्कालीन विद्रोही माओवादीले बम विस्फोट गरेपछि तत्कालीन समयमा देशभर नै यो घटनाप्रति भर्त्सना र खेद प्रकट गरिएको थियो ।

त्यो दिन घटनास्थलनजिकै घर भएकी भुवनशान्ति पौडेलको श्रीमान् पनि बम विस्फोटमा परे । उनको ढाड र टाउको दुख्ने समस्या अझै पनि उस्तै छ । ‘टाउकोमा चोटका कारण श्रीमान्ले दैनिक औषधि सेवन गर्नुपर्छ’ भुवनशान्तिले भनिन्, ‘एकातिर जीवनभर शारीरिक पीडा बोकेर जिउनुपर्ने, अर्कोतिर न्याय नपाउँदाको पीडा छ’, उनी भन्छिन्, ‘घाउमा न मलहम पाइयो, न न्याय ? यतिका वर्ष यसरी नै बित्यो भने अरू वर्ष पनि यसरी नै बित्छ, त्यसपछि जीवन सकिन्छ ।’

उनका अनुसार घटना घटेको १७ वर्ष भए पनि पीडा उस्तै छ ।

माडी नगरपालिका-९, गणेशगञ्जकी विष्णुमाया विक पनि सोही विस्फोटमा परिन् । १४ महिने छोरी सुस्मितासहित माडीबाट नारायणगढ आउनेक्रममा सोही दुर्घटनामा परेकी थिइन् । आमा छोरी दुर्घटनामा घाइते भए । उनको दाहिने खुट्टा भाँचिएको र टाउकोमा चोट लागेको थियो । विकले भनिन्, ‘हामीले अहिलेसम्म पनि न्याय पाउन सकेनौँ, केही राहत भनेर पायौँ, औषधोपचार गर्ने खर्च पनि जम्मा गर्न मुस्किल परिरहेको छ ।’

माडी बाँदुरमुढेका धेरै घाइतेहरूको अवस्था उस्तै छ । न मलहम पाएका छन्, न न्याय । बर्सेनि बाँदरमुढे घटनाले घाउ चहराइरहन्छ । बाँदरमुढे घटनापीडित संघर्ष समितिका उपाध्यक्ष कृष्ण अधिकारी १७ वर्षसम्म पनि न्याय मरिरहेको बताए । उनका अनुसार विस्फोटमा घटनाकै कारण छ जना मानसिक रोगी भएको र अङ्गभङ्ग भएका सात जनाले अहिले पनि औषधि खानु परेको छ यतिका वर्ष हुँदा पनि राज्यले नहेरेको उनले गुनासो गरे । उनले भने, ‘घाइतेका परिवारले न रोजगार पाए, न पर्याप्त राहत न त न्याय ?’

घटनामा परी ६ जना बालबालिकाले ज्यान गुमाए । घाइते भएका ७ बालबालिकाले कठोर पीडा अझै झेलिरहेका छन् । घाइतेमध्ये १२ जना शारीरिकरुपमा अपाङ्गता छन् । ती घाइते काम गरेर खान सक्दैनन् । तिनीहरू अहिले पनि औषधि सेवन गर्नुपर्ने अवस्थामा छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार र मानवीय कानुनको पूर्णरुपमा उल्लङ्घन भएका यस्ता घटनाको सत्यतथ्य सार्वजनिक गरी पीडितलाई शीघ्र न्याय दिने कुरामा सरकारको पनि ध्यान पुगेको छैन ।

बम विष्फोटपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन समयमा घटनालाई ‘दसवर्षे जनयुद्धको सबैभन्दा ठूलो कलङ्क’ भन्दै माफी मागेका थिए । माडी प्रचण्डको चुनावी क्षेत्रभित्र पर्छ । उनी गत प्रतिनिधिसभाको निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए । चुनावको समयमा उनले बाँदरमुढेका जनतासँग माफी माग्दै तीन बुँदे सहमतिसमेत गरेका थिए । सहमति अझै कार्यान्वयन नभएको गुनासो बाँदरमुढे घटनाका घाइतेहरूले गरेका छन् ।

संसदीय निर्वाचनका क्रममा दाहालले २०७४ मंसिर १७ गते माडीमै पुगेर पीडित पक्षसँग गरेका तीन बुँदे सहमति अझै लागू हुन सकेको छैन । मृतकका आश्रित परिवारलाई काम गर्न सक्नेलाई रोजगार, काम गर्न नसक्नेलाई जीवनवृत्ति र बालबालिकालाई पढाइदिने सहमति भएको थियो । सहमति कार्यान्वयन हुन नसकेको गुनासो अझै छ ।

घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा बाँदरमुढेमा १० बिगाहा जमिनमा नमुना सङ्ग्रहालय बनाउने सहमति पनि भएको थियो, तर सहमति कार्यान्वयन हुन सकेको छैन । प्रचण्डले ६० लाख रुपैयाँको प्याकेज ल्याउँछु भनेर गरेको घोषणा आजसम्म पनि पूरा नभएको घाइतेहरू बताउँछन् ।

माडी नगरपालिकाको मुख्य बजार वसन्तपुरबाट करिब पाँच किलोमिटर पर बाँदरमुढे पर्छ । खोला पनि छ। घटनास्थलमा स्मारक बनाइएको छ । घाइते र मृतकको नाम लेखिएको छ । सोही ठाउँबाट अहिले बसहरू चल्दैनन् । धार परिवर्तन गरिएको छ । स्मारक स्थलमा झाडीझाडी छ । सो ठाउँलाई पर्यटकीय केन्द्र बनाउने भनिएपछि काम केही अगाडि बढ्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.