अर्थतन्त्रलाई नयाँ दिशा र गति दिन सक्ने बजेट आयो : विनोद चौधरी

काठमाडौँ । सांसद समेत रहेका उद्योगी विनोद चौधरीले आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्रलाई नयाँ दिशा र गति दिन खोजेको भन्दै बजेट उत्कृष्ट रहेको बताएका छन् । सांसद चौधरीले यो बजेट २०४८ सालपछिकै आर्थिक क्षेत्रमा ‘सेकेन्ड जेनरेशन रिफर्म’लाई जोड दिने किसिमको रहेको उनले बताए ।
मेक इन नेपाललाई स्वीकार गर्नु, स्थिरता, उत्पादनशीलता र रोजगारी वृद्धि जस्ता उत्कृष्ट लक्ष्य बजेटले लिएको उनले बताए ।
‘१० करोडसम्म डिजिटल च्यानलबाट स्वीकृति पाउने व्यवस्था, प्रदेश प्रदेशमा युवा उद्यमशीलता विकास गरी अघि बढाउने यो बजेटको लक्ष्य राम्रो छ,’ उनले भने, ‘पैसा मात्रै ठूलो कुरा होइन रहेछ भन्ने कुरा यो बजेटले स्वीकार गरेको छ । व्यवस्थापन ठूलो कुरा हो । त्यसका लागि सिस्टम (इन्क्युभेटर)को अवस्था रहेको छ ।’
बेरोजगारीको समस्या समाधानका लागि प्रदेशलाई जिम्मेवार बनाउने विषयलाई बजेटले उठाउनु सकारात्मक भएको बताए ।
पूर्वाधारमा पूर्व–पश्चिम रोजमार्गलाई ४ लेन बनाउनुले नेपालको जीवन मार्ग (लाइफ लाइन)लाई अघि बढाउँछ । पोखरा विमानस्थल र भैरहवा विमानस्थल बनेको अवस्थामा अब १० लाख मात्रै होइन चीन र भारतबाट मात्रै ५० लाख पर्यटक ल्याउन सक्नुपर्ने उनले बताए ।
१०५ भन्दा बढी औद्योगिक क्षेत्रहरु शक्तिखोरलगायत गन्तव्यमा नयाँ नयाँ प्रकारका प्याकेजहरु ल्याउन खोजिएको छ । कर्णाली जस्ता ठाउँमा उद्योग लैजान प्रोत्साहतका प्याकेजहरु यो बजेटले ल्याएको छ ।
शिक्षाका लागि विदेशिनुको विकल्प नभएको अवस्थामा स्वास्थ्य, प्राविधिक र इन्जिनियरिङका विषयमा विदेशी विद्यार्थीलाई समेत नेपालमा ल्याएर अध्ययन गराउने सोच राख्नु बजेटको सकारात्मक पक्ष भएको उनले बताए ।
३० प्रतिशत आयात कम गर्ने लक्ष्य लिनु, २० प्रतिशत निर्यात बढाउने लक्ष्य लिनुले व्यापार सन्तुलनतर्फ अघि बढ्न खोजेका छन् । पूर्वाधार विकास आयोजनाहरुलाई पनि द्रुत गतिमा अघि बढाउने बजेटले लक्ष्य लिएकोले बजार सकारात्मक भएको उनले बताए ।








