सौहार्द चुनाव प्रचार, शान्त मौन अवधि

काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तर्गत् मौन अवधि जारी छ।

निर्वाचन आयोगका अधिकारीहरू र निर्वाचन पर्यवेक्षकहरूका अनुसार जुन रूपमा चुनाव प्रचार सौहार्द थियो उही रूपमा मौन अवधि पनि शान्त छ। ‘छिटफुट घटना भएका छन्। तर, समग्रमा हेर्दा चुनावी प्रचार अवधि र मौन अवधि शान्त छ’ आयोगका प्रमुख आयुक्त दिनेश थपलिया भन्छन्।

प्रचार अवधिका केही दृष्टान्त

स्याङ्जाको भीरकोट नगरपालिकामा फरकफरक राजनीतिक दलका उम्मेदवारहरू एकै ठाउँमा भेट भएर पटकपटक भोट मागे। ती हुन् – भीरकोट नगरपालिका वडा नं ७ मा वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका कांग्रेसका ताराप्रसाद अर्याल र एमालेका पर्वत खाम्चा।

राजनीतिक शुद्धीकरणको लागि फरक आस्थाको सम्मान र कदर गर्दै नयाँ संस्कार सुरु गरिएको बताउँछन् एमालेका उम्मेदवार खाम्चा। ‘हामीले पटकपटक एकै ठाउँमा भेला भएर भोट माग्यौँ। हामीलाई कतिपयले समान रूपमा लिन्छन् भने कतिपयले फरकफरक रूपमा। जनताले सँगै हुँदा क्षमता जाँच गर्न पनि सक्ने भए। यसकारण किन सँगै भोट नमाग्ने भनेर हामी सँगसँगै हिँड्यौँ’ खाम्चाले भने। तर, राजनीतिक रूपमा रणनीतिक खेल खेल्नुपर्ने ठाउँमा भने आफुहरू सँगै नहिँडेको पनि उनले बताए।

कांग्रेसका उम्मेदवार अर्याल पनि राजनीतिक संस्कारका लागि आफूहरू केही ठाउँमा सँगै चुनावी प्रचारमा हिँडेको स्वीकार गर्छन्। फरक दलका उम्मेदवारले सँगै भोट मागेको भन्दा आश्चर्य मान्नेहरू पनि छन्। आश्चर्य मान्नेहरूलाई उनी प्रश्न गर्छन्, ‘हाम्रा फरकफरक राजनीतिक एजेण्डा छन् जनताले त्यही हेरेर भोट दिने हुँदा सँगै भोट माग्दा के भयो र?’

वडाअध्यक्षमा यी दुई उम्मेदवारजस्तै सँगै भोट माग्नै नहिँडे पनि सार्वजनिक रूपमा सँगै भेट भएर फोटो खिच्ने, नजिककासँग सँगै भोट माग्ने, चुनावी प्रचारमा भेट हुँदा एकआपसमा सौहार्दता प्रकट गर्ने कार्य मुलुकका अन्य धेरै ठाउँमा पनि देखा परे।

काठमाडौँ
अप्रत्यक्ष रूपमा निकै तिखो शब्दद्वारा एक अर्काविरुद्ध भिडिरहेका काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवारद्वय केशव स्थापित र बालेन्द्र शाहको पनि चुनाव प्रचारका बेला भेट हुँदा दुवैले हार्दिकता देखाएका छन्।

आफ्नो तस्वीर राखेर बालेनका लागि सामाजिक सञ्जालमा भोट मागेको भन्दै बालेनविरुद्ध तुष पोखिरहेका स्थापितले बालेनलाई भेट्दा अँगालो हालेर जितका लागि शुभकामना दिए भने बालेनले पनि स्थापितलाई जितका लागि शुभकामना व्यक्त गरे।

तुलसीपुर
यस्तै दृश्य दाङको तुलसीपुरमा पनि देखियो। तुलसीपुर उपमहानगरपालिकाकाको मेयरका उम्मेदवारद्वय कांग्रेसका गेहेन्द्र गिरी र एमालेका टीकाराम खड्काले पनि सार्वजनिक कार्यक्रममा अंकमाल गरेर राजनीतिक संस्कारको सुन्दर उदाहरण प्रस्तुत गरे। दुवैले आफैले चुनाव जित्ने जिकिर गरे। तर, एकआपसमा हार्दिकता भने साटासाट गरे।

ललितपुर
काठमाडौँबाट नजिकैको महानगरपालिका ललितपुरमा पनि राजनीतिक संस्कार देखियो।

‘अनावश्यक गठबन्धनलाई फालौँ, सूर्यमा भोट हालौँ’ भन्दै चुनाव प्रचार गरिरहेका एमालेका तर्फबाट ललितपुर महानगर २४ का वडाअध्यक्षका उम्मेदवार दिनेशजंग पाण्डेसँग भेट्दा पाँच दलीय गठबन्धनका तर्फबाट ललितपुर महानगरपलिकाका मेयर उम्मेदवार चिरिबाबु महर्जनले कुनै अप्ठ्यारो महसुस गरेनन्। बरु उनले एमालेका कार्यकर्तासँग अंकमाल नै गरेर हार्दिकता देखाए। चिरीबाबुका समर्थकले पनि ‘पाँच दलीय गठबन्धन जिन्दावाद, प्रतिगमनका मतियार होसियार’ भन्दै नारा लगाएर चुनावी प्रचार गरिरहेका थिए। दुवैले आ-आफ्ना दलको प्रचार गरे तर, एक-अर्कालाई गाली गलौज गरेनन्।

निर्वाचन आयोगले पनि यसपटकको चुनावी प्रचार सौहार्द भएको बताएको छ। ‘चुनाव प्रचारको अवधिमा कुनै अप्रिय घटना भएन। निकै सौहार्द रह्यो’ निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले भने।

अब मतदानलाई पनि सौहार्द बनाउने आफूहरूको उदेश्य रहेको र सोही अनुसार नै सबै तयारी कार्यान्वयनमा रहेको आयुक्त थपलिया बताउँछन्।

शान्त मौन अवधि

मौन अवधिको २४ घण्टा बितिसकेको छ। यसबीचमा आचारसंहिता उल्लंघनका केही दृष्टान्त आएका छन्।

नेकपा एमालेका प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले निर्वाचन आचारसंहिताविपरीत पार्टीलाई भोट मागे। स्थानीय तह निर्वाचन अन्तर्गत गएराति १२ बजेबाट मौन अवधि जारी छ। तर, नेता गुरुङले बुधबार बिहान ८ बजेर १० मिनेट जाँदा आफ्नो आधिकारिक फेसबुक पेजमा आफ्नै भिडियो सेयर गर्दै भोट मागे।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले भारतपुर महानगरको मेयरकी उम्मेदवार रेणु दाहालका लागि भोट माग्दै सामाजिक सञ्जालमा स्ट्याटस राखिन्। आचारसंहिता अनुसार मौन अवधिमा सामाजिक सञ्जालबाट समेत भोट माग्न पाइँदैन। दुवैलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।

एमालेबाट बुटवल उपमहानगरपालिकाको मेयरको उम्मेदवार बाबुराम भट्टराईकी श्रीमती माया भट्टराई बुधबार दिउँसो सुकुमबासी बस्तीमा पैसा बाँड्न पुगेको आरोप लागेको छ। पैसा बाँड्न आएको भन्दै कांग्रेस कार्यकर्ताले होहल्ला र नाराबाजी गरेका थिए। प्रहरीले भने पैसा बाँडेको प्रमाण नभेटिएको बताएको छ।

यी तीनवटा भन्दा बाहेक आचारसंहिता उल्लंघन मौन अवधिमा भएको बाहिर आएको छैन।

उच्च सुरक्षा सर्तकता

सुरक्षा निकायसँगको समन्वयमा मतदानको दिनदेखि मतगणनासम्मलाई उच्च सुरक्षा सर्तकता अपनाइएको छ। मतगणना स्थललाई विषेश निगरानीमा राख्ने गरी व्यवस्था मिलाइएको प्रमुख आयुक्त थपलियाले जानकारी दिए।

गृह मन्त्रालयका अनुसार निर्वाचनमा १० हजार ७५६ मतदान स्थल, २१ हजार ९ सय ५५ मतदान केन्द्र तोकिएको छ । जसमध्ये सुरक्षा जोखिम र संवेदनशीलताका आधारमा २ हजार ९४५ मतदान स्थल अति संवेदनशील, ४ हजार ४२० संवेदनशील र ३ हजार ३९१ सामान्य सुरक्षा अवस्था भएका मतदानस्थलमा राखिएको छ। मन्त्रालयका अनुसार चीन र भारतसँग सीमा जोडिएका ३ दर्जनभन्दा बढी जिल्लाका सीमावर्ती क्षेत्रलाई अति संवेदनशीलको सूचीमा राखिएको छ।

अति संवेदनशील मानिएका मतदानस्थलको बाहिरी सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरीलाई दिइएको छ। मुख्य निर्वाचन अधिकृत तथा कार्यालय, जिल्ला निर्वाचन अधिकृतको कार्यालय, सरकारी, सार्वजनिक संरचना, नेपालस्थित विदेशी कूटनीतिक नियोगको सुरक्षामा पनि सशस्त्रलाई खटाइनेछ  भने अन्यत्र नेपाल प्रहरी र म्यादी प्रहरीले सुरक्षाको जिम्मेवारी पाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *