शिक्षालयमा दुई दिन बिदाबारे अन्योल, के भन्छ मन्त्रालय ?

काठमाडौँ । शिक्षण संस्थामा दुई दिन बिदा दिनेबारे अन्योल देखिएको छ । सरकारले आगामी जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णय गरेपनि शिक्षण संस्थामा यो व्यवस्था कार्यान्वयन गर्न अन्योल देखिएको हो ।

यो व्यवस्थाअनुसार सामुदायिक विद्यालय सातामा स्वतः दुई दिन बिदा हुने भएपनि निजी शैक्षिक संस्थाहरूमा अन्योल देखिएको बताइन्छ । निजी शैक्षिक संस्था सञ्चालकहरूले यो व्यवस्था व्यावहारिक नहुने भन्दै कार्यान्वयन असमर्थ हुने अडान लिएका छन् । विद्यार्थीको सिकाइमा प्रत्यक्ष असर पर्ने भएकाले शैक्षिक संस्था सातामा दुई दिन बिदा गर्न हुँदैन भन्ने तर्क उनीहरूको छ ।

शिक्षण संस्था सातामा दुई दिन बिदा दिँदा विद्यार्थीको सिकाइमा नकारात्मक असर पर्ने निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष डिके ढुङ्गानाले बताए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने सरकारी निर्णय पालना गराउनु आफूहरूको कर्तव्य भएको बताएको छ । दुई दिन बिदा हुँदा विद्यार्थीको सिकाइमा पर्नसक्ने असरलाई कसरी पूर्ति गर्ने विषयमा पनि छलफल भइरहेको मन्त्रालयले जनाएको छ ।

शिक्षा मन्त्रालय अहिले सातामा दुई दिन बिदा पनि दिने र पाठ्यक्रमले तोकेअनुसारको पाठ्यभार पनि पूरा हुने गरी अध्यापनको खाका तर्जुमा गर्ने छलफलमा जुटेको प्रवक्ता दीपक शर्माको भनाई छ । उनकाअनुसार शुक्रबार पनि पूरै समय पढाउने, वर्षे बिदा कटौती गर्ने तथा त्यसबाहेकका दिनमा पनि पढाइ सञ्चालन गर्नसक्ने विकल्पबारे छलफल भइरहेको छ ।

मन्त्रालयका प्रवक्ता शर्माले वैशाखभित्रै यस विषयमा ठोस निर्णय गरिने बताए । पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहँदा मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको र सातामा दुई दिन बिदा दिँदा यस्ता वस्तुको खपत घट्न गई मुलुकबाट बाहिरिने रकममा पनि कटौती हुने सरकारी विश्वास छ ।

प्रतिक्रिया

One thought on “शिक्षालयमा दुई दिन बिदाबारे अन्योल, के भन्छ मन्त्रालय ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *