फिफा विश्वकप २०२६

पहिलो क्वाटरफाइनल: बदलाको खोजीमा मोरक्को, लक्ष्यमा फ्रान्स

काठमाडौँ। फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा शुक्रवार बिहान (नेपाली समय) १:४५ बजे फ्रान्स र मोरक्को आमनेसामने हुँदै छन्। म्यासाचुसेट्सस्थित जीलेट स्टेडियममा हुने यस खेलबाट एक टोलीले अन्तिम चारमा स्थान सुरक्षित गर्नेछ भने अर्कोको उपाधि यात्रा टुङ्गिनेछ। चार वर्षअघि कतार विश्वकपको सेमिफाइनलमा भेट भएका यी दुई टोलीबिचको पुनः भेटले यस पटक पनि विशेष आकर्षण थपेको छ।

फ्रान्स यस संस्करणमा प्रभावशाली लयमा देखिएको टोली हो। समूह चरणमा सेनेगल, इराक र नर्वेलाई पराजित गर्दै समूह विजेता बनेको फ्रान्सले त्यसपछि नकआउट चरणमा स्विडेन र पाराग्वेलाई हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेको हो। प्रशिक्षक डिडिए डेसाँको टोलीले प्रतियोगिताभर सन्तुलित आक्रमण र मजबुत रक्षात्मक खेल प्रस्तुत गर्दै आफूलाई उपाधिको प्रमुख दाबेदारका रूपमा स्थापित गरेको छ।

फ्रान्सका लागि कप्तान किलियन एम्बाप्पे सबैभन्दा ठुलो हतियार बनेका छन्। उनले यस विश्वकपमा सात गोल गर्दै गोल्डेन बुटको दौडमा आफूलाई बलियो बनाएका छन्। उनलाई उस्मान डेम्बेले र माइकल ओलिसेको साथ मिलेको छ। ओलिसे प्रतियोगिताका उत्कृष्ट सिर्जनात्मक खेलाडीमध्ये एक मानिएका छन् र सर्वाधिक असिस्ट गर्ने खेलाडीको सूचीमा अग्रस्थानमा छन्।

यता मोरक्कोले पनि आफ्नो ऐतिहासिक यात्रालाई निरन्तरता दिएको छ। समूह चरण पार गरेपछि नेदरल्यान्ड्सलाई पेनाल्टी सुट आउटमा हराएको मोरक्कोले राउन्ड अफ १६ मा आयोजकमध्ये एक क्यानडालाई ३–० ले पराजित गर्दै लगातार दोस्रो विश्वकपको क्वार्टरफाइनल यात्रा तय गरेको हो। २०२२ मा अफ्रिकाबाट पहिलो पटक सेमिफाइनल पुगेर इतिहास बनाएको मोरक्को यस पटक त्यो उपलब्धिलाई अझ अघि बढाउने लक्ष्यमा हुनेछ।

मोरक्कोका कप्तान अशरफ हाकिमी टोलीका सबैभन्दा भरोसायोग्य खेलाडी हुन्। पेरिस सेन्ट-जर्मेनका सहकर्मीसमेत रहेका हाकिमी र एम्बाप्पेबीचको प्रतिस्पर्धा यस खेलको मुख्य आकर्षण बन्ने अपेक्षा गरिएको छ। मिडफिल्डमा अज्जेदिन औनाही र आक्रमणमा ब्राहिम दियाजले पनि मोरक्कोको प्रदर्शनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् भने गोलरक्षक यासिन बुनो निर्णायक क्षणमा टोलीका उद्धारकर्ता साबित भएका छन्।

दुवै टोलीबिचको पछिल्लो विश्वकप भेट २०२२ को सेमिफाइनलमा भएको थियो, जहाँ फ्रान्स २–० ले विजयी हुँदै फाइनल पुगेको थियो। त्यस हारको बदला लिने अवसरका रूपमा मोरक्कोले यस खेललाई हेरेको छ भने फ्रान्स लगातार अर्को सेमिफाइनल पुग्दै उपाधि यात्रालाई निरन्तरता दिन चाहन्छ।

कागजमा फ्रान्स बलियो देखिए पनि मोरक्कोले पछिल्ला वर्षहरूमा विश्व फुटबलका ठुला टोलीलाई चुनौती दिन सक्ने क्षमता प्रमाणित गरिसकेको छ। त्यसैले गिलेट स्टेडियममा हुने यो भिडन्त क्वार्टरफाइनलकै सबैभन्दा प्रतिस्पर्धात्मक खेलमध्ये एक हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =