फिफा विश्वकप २०२६

क्वार्टरफाइनलमा युरोपेली टोलीको दबदबा, उपाधि दौडमा ६ राष्ट्र

फ्रान्स, स्पेन, बेल्जियम, इङ्गल्यान्ड, नर्वे र स्विट्जरल्यान्डले क्वार्टरफाइनलमा स्थान बनाएका छन्

काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत क्वार्टरफाइनलका चार खेल नेपाली समयअनुसार शुक्रबार बिहानदेखि सुरु हुँदैछन्। उपाधिको दौडमा रहेका अन्तिम आठ टोली सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धामा उत्रँदैछन्।

यस पटकको क्वार्टरफाइनलमा युरोपेली टोलीको स्पष्ट वर्चस्व देखिएको छ। अन्तिम आठमा पुगेका टोलीमध्ये ६ टोली युरोपका छन्। फ्रान्स, स्पेन, बेल्जियम, इङ्गल्यान्ड, नर्वे र स्विट्जरल्यान्डले क्वार्टरफाइनलमा स्थान बनाएका छन् भने युरोपबाहिरबाट अर्जेन्टिना र मोरक्को मात्र अन्तिम आठमा पुग्न सफल भएका छन्।

सन् १९९४ पछि युरोपबाहिर आयोजना भएको कुनै पनि विश्वकपमा क्वार्टरफाइनलमा यति धेरै युरोपेली टोली पुगेको यो पहिलो अवसर हो। यसले विश्व फुटबलमा युरोपेली राष्ट्रहरूको निरन्तर बलियो उपस्थितिलाई पनि पुष्टि गरेको छ।

नेपाली समयअनुसार शुक्रबार बिहान १:४५ बजे हुने पहिलो क्वार्टरफाइनलमा फ्रान्स र मोरक्को आमनेसामने हुनेछन्। त्यसको विजेताले शनिबार बिहान १२:४५ बजे हुने स्पेन र बेल्जियमबीचको खेलको विजेतासँग पहिलो सेमिफाइनल खेल्नेछ। यस समूहबाट फ्रान्स, मोरक्को, स्पेन र बेल्जियममध्ये दुई टोलीले मात्र फाइनल पुग्ने सम्भावना कायम राख्नेछन्।

दोस्रो सेमिफाइनलको समीकरण पनि उत्तिकै रोचक छ। आइतबार बिहान २:४५ बजे नर्वे र इङ्गल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। विश्वकप इतिहासमै पहिलो पटक क्वार्टरफाइनल पुगेको नर्वेले अन्तिम १६ मा ब्राजिललाई २–१ ले हराउँदै सबैलाई चकित पारेको थियो। त्यसपछि सोही दिन बिहान ६:४५ बजे अर्जेन्टिना र स्विट्जरल्यान्डबीच अन्तिम क्वार्टरफाइनल खेल हुनेछ। यी दुई खेलका विजेताले दोस्रो सेमिफाइनलमा एकअर्काको सामना गर्नेछन्।

सेमिफाइनलको सम्भावित समीकरण

  • सेमिफाइनल–१: फ्रान्स/मोरक्कोको विजेता विरुद्ध स्पेन/बेल्जियमको विजेता
  • सेमिफाइनल–२: नर्वे/इङ्गल्यान्डको विजेता विरुद्ध अर्जेन्टिना/स्विट्जरल्यान्डको विजेता

चार क्वार्टरफाइनलबाट विजयी हुने टोलीले जुलाई १५ र १६ मा हुने सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि सेमिफाइनलका विजेताबीच जुलाई १९ मा विश्वकप २०२६ को उपाधिका लागि फाइनल खेल हुनेछ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − seventeen =