लाेसपाकाे घाेषणापत्र- ‘जसपा माओवादीकाे भाइ पार्टीकाे रूपमा देखियाे’

काठमाडाैँ । महन्थ ठाकुर नेतृत्वकाे लाेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) माओवादी केन्द्रकाे भाइ पार्टी भएकाे आराेप लगाएकाे छ । लाेसपाले शुक्रबार सार्वजनिक गरेकाे स्थानीय चुनावी घाेषणापत्रमा यस्ताे आराेप लगाएकाे हाे । ‘संविधान सभालाई निर्णायक माेडमा पर्‍याउन भूमिका खेलेकाेर मधेश आन्दाेलनकाे दाैरानमा अग्र माेर्चामा रहेकाे माउ पार्टी मधेशी जनअधिकार फाेरम, नेपालकाे साखलाई धुलिसात गर्दै अहिले मधेशकाे मुद्दालाई नै बिर्सिएर जसपा अहिले माओवादी केन्द्रकाे भाइ पार्टीकाे रूपमा देखिएकाे छ,’ घाेषणापत्रमा भनिएकाे छ ।

जसपाप्रति आक्रामक लाेसपाले जसपाकाे अहिलेकाे एउटै उद्देश्य सत्ता प्राप्ति भएकाे टिप्पणी गरेकाे छ । जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई नै किटान गरेर लाेसपाकाे घाेषणापत्रमा भनिएकाे छ, ‘उपेन्द्र यादव कुनै समयमा समग्र मधेश र सबै मधेशीकाे प्रतिनिधित्व गर्थे । तर अहिले उनकाे राजनीति केही सीमित जातीय समूहकाे तुष्टीकरणमा खुम्चिएकाे छ । याे पार्टीकाे एउटै उद्देश्य सत्ता प्राप्ति बनेकाे छ ।’

जसपाले अहिले थारुहट, मधेशी, आदिवासी जनजातिलगायतका मुद्दालाई अवमूल्यन गरिरहेकाे आराेप लाेसपाकाे छ । ‘यसकाे एकमात्रै उद्देश्य जसरी भएपनि जुनसुकै शर्त र जाेसँग भएपनि सरकारमा प्रवेश गर्नेबाहेक अरु केही देखिँदैन,’ लाेसपाले भनेकाे छ ।

०७८ भदाै ९ गते आधिकारिक रूपमा छुट्टिएका यी दुई पार्टीबीच अहिले पनि राजनीतिक तिक्तता उस्तै छ । खासगरी तत्कालीन केपी शर्मा ओली नेतृत्वकाे सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे बाझिएका यी दलहरू अन्तत: विभाजनसम्मै आए । उही आफ्नाे पुरानाे दल तथा पूर्वसहकर्मीप्रति लाेसपा पुन: एकपटक आक्रामक देखिएकाे हाे ।

कांग्रेस संकीर्ण

लोसपाले नेपाली कांग्रेसलाई मित्र शक्ति मानेको छ, तर कांग्रेस संकीर्ण, अनुदारवादी र जातीय दल भएको भन्दै आलोचना गरेको छ । ‘जबजब मधेशी, शिल्पीरदलित, थारू, मुस्लिम, आदिवासी, जनजाति, पिछडावर्ग, अल्पसंख्यक समुदाय, विपन्नवर्ग लगायत वहिस्करण तथा वञ्चितीकरणमा परेका र पारिएकाहरूको पहिचान, अधिकार र अवसरको कुरा गरिन्छ, नेपाली कांग्रेस एक जिम्मेवार राष्ट्रिय दलको भूमिकालाई बिर्सदै अत्यन्तै संकीर्ण, अनुदारवादी र जातीय दलको रूपमा आफूलाई संकुचित गर्छ,’ घोषणा पत्रमा भनिएको छ ।

उसले कांग्रेसबारे थप भनेको छ, ‘देशको समृद्धि, नयाँ नेतृत्वको विकास, अग्रगामी परिवर्तनका मुद्दा, चुस्त र इमानदार शासन–प्रशासन र युवा नेतृत्वलाई अवसर आदि विषयमा पनि नेपाली कांग्रेस अत्यन्तै उदासीन र असफल देखिन्छ ।’

♦ याे पनि:
   लोसपाको घाेषणापत्र- महिलालाई निःशुल्क शिक्षाको व्यवस्था (पूर्णपाठसहित)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *