गृह मन्त्रालयले माग्यो मनोनयनका समयको सुरक्षा प्रबन्ध

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयनका समयलाई मध्यनजर गर्दै सुरक्षा प्रबन्ध बारेको जानकारी लिएका छन्।

मन्त्री खाँणले मनोनयनका बेला अप्रत्यासित घटना घट्न सक्ने भन्दै सो सम्भावनालाई रोक्न देशैभरका सुरक्षा संयन्त्रले गरेको सुरक्षा तयारीबारे नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सातै प्रदेशका प्रमुख र केन्द्रको निर्वाचन हेर्ने सेलका प्रमुखसँग जानकारी लिएका छन्।

उनले आज शनिबार नेपाली प्रहरीका निर्वाचन हेर्ने प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा तथा सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमसँग जानकारी लिएका हुन्। प्रदेश १ मा प्रमुख नायब महानिरीक्षक अरुणकुमार बिसी, मधेस प्रदेशमा प्रमुख मसुद आलम खाँ, बागमतीमा प्रमुख पूजा सिंह, गण्डकीमा प्रमुख दिवस लोहनी, लुम्बिनीमा प्रमुख नलप्रसाद उपाध्याय, कर्णालीमा प्रमुख गणेश ऐर र सुदूरपश्चिममा प्रमुख मोहन आचार्यसँग गरी सातै प्रदेशका सातै प्रदेश प्रमुखसँग निर्वाचनको मनोनयनका समयका लागि तयार पारिएको सुरक्षा प्रबन्धबारे मन्त्री खाँणले जानकारी लिएका हुन्।

मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखहरूको सरुवा हिजै शुक्रबार मात्र भएको हो।

साथै, सशस्त्र प्रहरी बलतर्फ प्रदेश १ मा प्रमुख नायब महानिरीक्षक कमलराज गिरी, मधेश प्रदेशमा प्रमुख गणेश ठाडा मगर, बागमतीमा प्रमुख किशोर प्रधान, गण्डकीमा प्रमुख शम्भु सुवेदी, लुम्बिनीमा प्रमुख कुलबहादुर नेम्बाङ, कर्णालीमा प्रमुख अभि खत्री तथा सुदूरपश्चिममा प्रमुख दुर्गाप्रसाद भट्टराईसँग मन्त्री खाँणले सुरक्षा तयारीबारे बुझेका छन्।

निर्वाचन आयोगले वैशाख ११ र १२ गतेका लागि मनोनयन दर्ताका लागि अपिल गरेको बताउँदै त्यस समयका लागि देशैभरका सुरक्षा संयन्त्रले कडा निगरानीका साथ सुरक्षा दिने तयारी गरेको जानकारी गृहमन्त्री खाँणलाई दिएका छन्।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *