‘माओवादीले हार्दा प्रतिक्रान्तिकारीले जित्ने खतरा हुन्छ’ -प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनमा नयाँ र उत्साहपूर्ण रूपमा ध्रुवीकरण प्रक्रिया सुरु भएको दाबी गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टीको ७३औं स्थापना दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा उनले यसअघि माओवादीबाट विभाजित भएर अलग बाटोमा लागेका हजारौं नेता कार्यकर्ता पुरानै घरमा फर्केको बताएका हुन्। उनले कम्युनिष्ट र पूर्वमाओवादी नेता कार्यकर्तालाई एकतामा आउन आह्वानसमेत गरेका छन्।

“विभाजित भएका माओवादी शक्ति पुनःएकता हुनेक्रम बढेको छ, यो उत्साहपूर्ण छ, पूर्वदेखि पश्चिमसम्म एकताको लहर आएको छ”, उनले भने, “जनयुद्धबाट प्राप्त उपलब्धिमाथि खतरा पैदा भएको छ, परिवर्तनको उपलब्धिको रक्षाका लागि माओवादी एकताबद्ध हुनुपर्छ।” सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र परिवर्तनका उपलब्धि उल्ट्याउने खतरा बढेको भन्दै उनले परिवर्तनका लागि त्याग, बलिदान र कीर्तिमान गर्नेहरू एक ठाउँमा आउनुपर्ने बेला आइसकेको बताए।

परिवर्तनका मुद्दालाई स्थापित गर्न, जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन र न्यायपूर्ण आन्दोलनका सहिदका सपना पूरा गर्न परिवर्तनकामी शक्ति एक हुनुको विकल्प नभएको उल्लेख गर्दै अध्यक्ष दाहालले भने,  “परिवर्तनमा सहभागी माओवादी र सबै कम्युनिष्ट शक्तिलाई विशेष रूपले अपिल गर्न चाहन्छु।” उनले परिवर्तनलाई संस्थागत गर्न आगामी निर्वाचनमा माओवादीले जित्नैपर्ने मत राख्दै उनले भने,  “हामीले जित्दा राष्ट्रले जित्छ, जनताको जीत हुन्छ। माओवादीले हार्दा प्रतिक्रान्तिकारीले जित्ने खतरा हुन्छ, त्यसैले माओवादी र परिवर्तनकारीलाई जिताउन जनता अग्रसर हुनुपर्छ।”

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय नेताहरू माओवादीमा प्रवेश गरेका छन्। जसपाका केन्द्रीय सदस्य सर्लाहीका डा. अब्दुर रहिम मिक्रानी, केन्द्रीय सदस्य बागलुङका यमबहादुर घर्तीमगर र प्रदेश समिति सदस्य दिलीप थापामगर लगायतलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *