वीरगञ्ज महानगर : एमाले-लाेसपाबीच तालमेल ?

काठमाडाैँ । वीरगञ्ज महानगरपालिकामा नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच चुनावी तालमेल हुने सम्भावना बढेकाे छ । यसअघि नै पनि याे विषयमा एमाले र लाेसपामा छलफल भएकाे लाेसपाका नेता एकवाल मियाँले बताए । ‘याे विषयमा यसअघि पनि कुराकानी भएकाे हाे । हाम्राे पार्टीले त याे विषयमा निर्णय नै गरिसकेकाे हाे; स्थानीय तहमा सम्भावित दलहरूसँग सहकार्य तथा तालमेल गर्ने भनेर । एमालेमा पनि त्यहाँकाे तालमेलबारे छलफल भएकाे सुनेकाे छु ।’

सत्तारुढ गठबन्धनले भने वीरगञ्ज महानगर जनता समाजवादी पार्टी (जसपा) लाई जिम्मा लगाएकाे छ । याेसँगै त्यहाँ पाँचदलीय गठबन्धन र एमाले-लाेसपा हुने सम्भावना बढेकाे छ । गठबन्धनका कारण पनि एमाले तालमेल गर्न सहमत हुने नेता मियाँले बताए ।

यसबीचमा एमाले-लाेसपाका अध्यक्षद्वय केपी शर्मा ओली र महन्थ ठाकुरबीच पनि वार्ता भएकाे थियाे । उनीहरूबीच नै वीरगञ्जमा तालमेल गर्ने कुराकानी भएकाे लाेसपाका एक नेताले बताए । ‘शीर्ष तहमै कुराकानी भएकाे हाे,’ ती नेताले भनेका छन्, ‘अन्तिम सहमति जुट्न बाँकी छ । तर, याे झन्डै पक्काजस्तै हाे । अध्यक्षद्वयबीच नै पनि कुराकानी भएकाे थियाे । यस विषयमा लगभल पक्का यही नै हाे । गठबन्धनकाे निर्णयले पनि तालमेल गर्नैपर्ने देखिएकाे छ ।’

तालमेल कसरी मिल्छ ? भन्ने मकालुखबरकाे जिज्ञासमा ती नेताले भनेका छन्, ‘एमालेले सरावगीजीलाई मेयरकाे रूपमा अघि सारेकाे छ । त्यसमा कसरी मिल्छ, के गर्न सकिन्छ भन्नेबारे थप छलफल हाेला वा त्यसमै मिल्न सकिएला । मिल्नचाहिँ एउटाले मेयर र अर्काेले उपमेयरसहित बहुमत वडाध्यक्ष लिएर मिल्न सक्छ/सकिन्छ ।’

एमालेकाे महानगर समितिले त्यहाँ बहालवाला मेयर विजय सरावगीलाई पुन: उम्मेदवार बनाउने निर्णय गरेकाे छ । गत फागुन २८ गते मात्रै एमाले प्रवेश गरेका सरावगीलाई नै एमालेले पुन: मेयर बनाउने निर्णय गरेकाे हाे । एमालेले त्यहाँ सरावगीकाे जित सुनिश्चित भएकाे दाबी गर्दै आएकाे छ ।

उनले जसपा (तत्कालीन संघीय समाजवादी फोरम) बाट उम्मेदवार बनेर ०७४ को चुनावबाट १९ हजार ३ सय ९३ मत ल्याउँदै मेयरमा बाजी मारेका थिए । ०७४ को निर्वाचनमा त्यहाँबाट एमालेका उम्मेदवार बसरुद्धिन अन्सारीले ८ हजार ६ सय ८८ मत ल्याएका थिए । सरावगीका निकटतम् प्रतिस्पर्धीहरू कांग्रेसका उम्मेदवार अजय द्विवेदीले १७ हजार १९७ र माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारीले ८ हजार ३ सय ५ मत पाएका थिए ।

०००

एक लाेसपा नेताकाअनुसार एमाले उपमेयर दिन तयार भइसकेकाे छ । तर ०७४ को मत परिणाम हेर्ने हो भने लोसपा एमाले भन्दा ठूलो दल हो । चुनावमा लोसपा (तत्कालीन राष्ट्रिय जनमोर्चा) ले वीरगञ्ज महानगरमा जसपा (तत्कालीन संघीय समाजवादी फोरम) पहिलो र नेपाली कांग्रेसपछि धेरै मत ल्याएको थियो ।

एक एमाले नेताकाअनुसार वीरगञ्जमा लाेसपासँग चुनावी तालमेल हुनेछ । ती नेताले भने— ‘यसमा थप छलफल हुनेछ । सायद तालमेल हुनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *