खेलकुद मैदानमा फर्किएको वर्ष : क्रिकेटमा गुमेको अवसरदेखि प्रिन्सको पराक्रमसम्म

काठमाडौँ । नेपाली खेलकुद क्षेत्रका लागि वर्ष २०७८ औसत रह्यो । कोरोनाको महामारीले थलिएको खेलकुद क्षेत्र २०७८ मा मैदानमा फर्किनु नै मुख्य सफलताका रूपमा रह्यो । तर मैदानमा भएका प्रदर्शनहरूमा नेपालको प्रदर्शन भने औसत मात्र रह्यो ।

फेरिपनि राजनीतिक हस्तक्षेपका कारण नेपाली खेलकुद अदालतसम्म पुग्यो । लामो समय नेतृत्व विहीन रहेको नेपाली खेलकुदको सर्वाधिक ठूलो नियामक निकाय राखेप अन्ततः वर्षको अन्तिम सम्ममा पुन ट्र्याकमा आयो । सधैँ झैँ वर्ष २०७८ मा पनि क्रिकेट र फुटबलको छायामा अरू खेलहरू परे ।

फुटबल
नेपाली फुटबलका लागि वर्ष २०७८ समग्रमा राम्रो रह्यो । महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताका रूपमा रहेको साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलमा पुग्यो र इतिहास रच्यो तर फाइनल जित्ने सपनामा भने पुन एक पटक भारतको तगारो भत्काउन सकेन ।

चर्चाको केन्द्रमा राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पनि रहे । सामाजिक सञ्जालमा फ्यानसँगको अन्तरक्रियामा व्यस्त रहने अलमुताइरी त्यसभन्दा अघि बढेर सामाजिक सञ्जालबाटै राजीनामाको घोषणा गर्ने, नेपाली खेलकुदका पदाधिकारीहरूसँगको असन्तुष्टि व्यक्त गर्ने कुरामा निकै अघि रहे । राजीनामा दिएरपनि उनले अन्तमा २ वर्षे सम्झौता गर्दै नेपालमै रहने निर्णय गरे ।

यो वर्ष नेपालले एसियाका बलिया देशहरू इराक, अस्ट्रेलिया, जोर्डन र थाइल्यान्ड जस्ता टिमसँग प्रतिस्पर्धाको अवसर प्राप्त गर्‍यो । यसै वर्ष नेपालले पहिलो पटक अफ्रिकी देशसँग मैत्रीपूर्ण फुटबल खेल खेल्यो ।

घरेलु फुटबलमा सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र फुटबल क्लब अपराजित रहँदै लिग च्याम्पियन बन्यो । तर पहिलो पटक महादेशीय प्रतियोगितामा सहभागी भएको मच्छिन्द्र एएफसी कपमा भने बेब्यु खेलबाटै बाहिरियो । महिला फुटबलतर्फ नेपाल उमेर समूहमा कमजोर टिमका रूपमा वर्ष अन्त गर्न बाध्य भयो । बी डिभिजन लिग र विभिन्न गोल्डकपहरूमा खेलाडी सधैँ झैँ व्यस्त रहे ।

वर्षको अन्तिममा तय भएको प्रतियोगिताका नेपाल सुपर लिग भने विवादमा मात्रै परेन प्रतियोगिता नै अनिश्चित बन्यो । ए डिभिजन क्लबले आफ्नो खेलाडी रिलिज नहुँदै एनएसएलका लागि अक्सनमा समावेश गराएको भन्दै विरोध गरेपछि अहिलेसम्म प्रतियोगिता कहिले हुने अनिश्चितता कायमै छ ।

फुटबलका गतिविधि एकातिर रहँदा एन्फा चुनावका कारण पदाधिकारीको मनमुटाब सतहमा देखियो विशेष गरेर वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङको वरिपरि फुटबल राजनीति घुमिरहन सफल भयो ।

क्रिकेट
वर्ष २०७८ मा नेपाली क्रिकेटले एक सुन्दर मौका गुमायो । नेपाल टी-ट्वेन्टी विश्वकप छनोटको एक कदम वर्तिरबाटै बाहिरिनु पर्‍यो । युएईसँगको एक हारले दोस्रो पटक टी-ट्वेन्टी विश्वकप छनोटमा पुग्न असफल भयो । नेपालले घरेलु मैदानमा खेलेका दुईवटा त्रिकोणात्मक टी-ट्वेन्टी शृङ्खला जित्न सफल भयो तर एक दिवसीय खेलमा भने उतारचढावपूर्ण प्रदर्शनको सिकार भयो ।

यो वर्ष नेपाली क्रिकेट मैदान भित्र मात्रै सीमित रहेन मैदान बाहिरका गतिविधिका कारण पनि चर्चामा रह्यो । नेपाली क्रिकेटका सर्वाधिक चर्चित र सफल कप्तान पारस खड्काको संन्यासदेखि कप्तान ज्ञानेन्द्र मल्ललगायत चार खेलाडीलाई गरिएको कारबाही, नयाँ कप्तान छनोटलगायतमा क्यानको निर्णय भूमिकाबारे अनेकौँ टीकाटिप्पणी भए ।

त्यसो त पूर्व विश्वकप विजेता प्रशिक्षक डेभ वाटमोरको बहिर्गमनका कारण नेपाली क्रिकेटले एक आशा गरिएका प्रशिक्षक गुमायो । तर केही समयपछि पुबुदु दासानायकेको पुनरागमनले केही आशा जगाएको छ । नेपाली क्रिकेटको नियामक निकायका रूपमा रहेको नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो वार्षिक साधारण सभा गर्दै आफ्नो क्रियाकलाप जारी राख्यो । तर क्यानका महासचिवलगायत पदाधिकारीको असन्तुष्टि र राजीनामा, क्यानका अध्यक्ष चतुरबहादुर चन्द नै नेपाली कांग्रेसका जिल्ला सभापतिका रूपमा चुनिएका जस्ता कुरा पनि चर्चामा रहे ।

सदस्यसचिवको सर्वोच्च यात्रा
वर्ष २०७८ नेपाली खेलकुदको सर्वाधिक माथिल्लो निकाय राखेप राजनीतिक अस्थिरताको भुमरीमा जेलियो । केपी शर्मा ओली सत्ताबाट बाहिरिएसँगै बनेको गठबन्धन सरकारले ओलीका विश्वासपात्रका रूपमा रहेका रमेश सिलवाललाई सदस्यसचिवबाट बर्खास्त गर्दै टंकलाल घिसिङलाई नियुक्त गर्‍यो । त्यसपछि सुरु भएको अदालती चक्कर केही दिन अघि मात्रै सकिएको छ । जसले गर्दा पाँच महिनासम्म खेलकुदका नीतिगत कामहरू ठप्प बने ।

२०७७ असारमा जारी भएको राष्ट्रिय खेलकुद विकास ऐनको कार्यान्वयन, नवौँ राष्ट्रिय खेलकुद आयोजना र १९औँ एसियाली खेलकुदको तयारी लगायतका काम सुरु नै हुन नसक्दा यो वर्ष नेपालका लागि अन्य खेलकुद गतिविधि सुस्त रहे । १ कार्तिकमा बर्खास्तीमा परेका सिलवालले २८ कात्तिकमा सर्वोच्च अदालतमा रिट दायर गरेपछि राखेप अदालती झमेलामा फसेको थियो । सरकारले १२ मंसिरमा प्रतिस्पर्धाबाट नेपाल रग्बी संघका अध्यक्ष रहेका घिसिङलाई नयाँ सदस्यसचिव बनाएको थियो । सिलवालले नयाँ नियुक्तिको विरुद्धमा २१ मंसिरमा अर्को रिट दायर गरेका थिए ।

न्यायाधीश हरिप्रसाद फुयाँलले ३० मंसिरमा सर्वपक्षीय सुनुवाइ गर्नुपर्ने भन्दै दुबैलाई कार्यकारी अधिकार तत्काललाई नदिने गरी अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि राखेप लामो समय नेतृत्वविहीन बन्यो । २२ चैतमा सर्वोच्च अदालतले रमेश सिलवालको रिट खारेज गरिदिएपछि वर्षको अन्त्यतिर राखेपको कार्यकारी नेतृत्वको विवाद किनारा लाग्यो ।

प्रिन्सको पराक्रम
यो वर्ष ब्याटमिन्टनका प्रिन्स दाहालको चर्चापनि उत्कर्षमा रह्यो । प्रिन्स जुनियर ब्याडमिन्टनतर्फ विश्व नम्बर एक बनेसँगै उनको चर्चा शिखरमा पुग्यो । उनी ब्याडमिन्टन बरीयतामा शीर्ष स्थानमा पुग्ने पहिलो नेपाली खेलाडी बने । त्यस्तै भलिबलमा नेपाली टीमको चर्चा रह्यो । बंगलादेशमा भएको सेन्ट्रोल जोन भलिबलमा महिला टोली च्याम्पियन बन्दा पुरुष भलिबल भने औसत प्रदर्शन गर्दै स्वदेश फर्किएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *