२ दिनअघि एमाले प्रवेश गरेका डल्लाकाेटीले प्रचण्डलाई भेटेर भने- ‘केही मान्छेका परिबन्धमा परी बालकाेट पुगेँ, फेरि फर्किएकाे छु’

काठमाडाैँ । गत साेमबार एमाले प्रवेश गरेका धादिङकाे राेराङ बेनिघाट गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकाेटी ‘हरि’ पुन: माओवादी केन्द्रमै फर्किएका छन् । उनले मंगलबार प्रेस विज्ञप्ति नै जारी गर्दै आफू पुन: माओवादी केन्द्रमै फर्किएकाे जानकारी दिएका छन् ।

यसपछि बुधबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेकाे डल्लाकाेटीले भनेका छन्— ‘मेराे गल्ती भयाे, केही मान्छेहरूकाे परिबन्धमा परेर बालकाेट पुगेँ ।’ प्रचण्ड सचिवालयकाअनुसार आइन्दा यस्ताे गल्ती नगर्ने उनले प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।

प्रचण्डसँगकाे भेटका क्रममा डल्लाकाेटीले आफूलाई आफ्नाे समर्थक, मतदाता तथा सहयाेगीहरूले सुत्नसम्म नदिएकाे भन्दै ‘मलाई यसप्रति गर्व छ’ भनेर भनेका थिए । डल्लाकाेटीलाई उद्धृत गर्दै प्रचण्ड सचिवालयका सदस्य रमेश मल्लले भनेका छन्, ‘मलाई मैले बनाएको पार्टी, कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले २ दिनसम्म छोडेनन्, सुत्न नि दिएनन् । मैले आज मेरा कार्यकर्ता र जनताप्रति गर्व गर्छु । म २ दिनमै घर फर्केको छु ।’

जवाफमा प्रचण्डले अब काममा केन्द्रित हुन निर्देशन दिएका थिए । ‘ठिकै छ, गल्ती गरेँ भन्नुभयाे; तपाईंले गल्ती गर्नुभएकै हाे । अब काममा फर्कनुस् । काममा जुट्नुस् र चुनावकेन्द्रित काम अघि बढाउनुस्,’ प्रचण्डले भनेका थिए ।

गत साेमबार बालकाेट पुगेका डल्लाकाेटीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका थिए ।

याे पनि:

एमालेमा २४ घण्टा पनि टिकेनन् पित्तबहादुर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =