घोराहीमा ‘एक वडा, एक स्वास्थ्य केन्द्र’ प्रभावकारी

देउखुरी । दाङको घोराही–१० नाराणपुरस्थित सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्रमा सामान्य उपचार गर्न र औषधि लिन आएका ७८ वर्षीय जगवीर चौधरीलाई निकै सहज भएको छ । उनले आफ्नो नजिकैको स्वास्थ्य केन्द्रबाट नियमित उपचार लिइरहेका छन् । पहिले सामान्य उपचार गर्न उनलाई घोराही नै जानुपर्ने बाध्यता थियो ।

उनले रक्तचापको औषधि स्वास्थ्य एकाइबाट निःशुल्क पाएका छन् । ‘मलाई राम्रो भएको छ, । कहिलेकाहीँ केन्द्रमा औषधि सकिएको बेला भने किन्नुपर्छ’, उनले भने, ‘लामो समयदेखि नारायणपुर स्वास्थ्य प्रबर्द्धन केन्द्रबाट सेवा लिन पाउँदा म खुसी छु । ‘

नारायणपुर स्वास्थ्य प्रबर्द्धन केन्द्रका प्रमुख डिल्ली आचार्यले २०७४ सालमा जनप्रतिनिधि आएपछि स्थापना भएको संस्थाबाट ४० प्रकारका औषधि निःशुल्क तथा दीर्घरोगी, रक्तचाप, सुरक्षित मातृत्व सेवा, आमा र शिशुलाई खोप सेवा दिने गरिएको बताए । केन्द्रमा छैटौँ तहका एक इन्चार्ज, पाँच नर्स र एक पाँचौँ तहका आयुर्वेदिक चिकित्सकले सेवा दिइरहेका छन् ।

मासिक २५ जनालाई सुत्केरी सेवा र गर्भवती जाँचका लागि प्रयोगशाला सेवा पनि दिने गरिएको छ । अहिले ८० क्षयरोगका बिरामीले प्रत्यक्ष निगरानीमा औषधि लिइरहेका छन् । भिडियो एक्सरेको सेवा थप गर्न सकेमा यहाँ आएका बिरामीलाई सेवा दिन सकिने उनको भनाइ छ ।

केन्द्रको सेवाबाट नागरिकलाई निकै सहज भएको भाइरल ज्वरोपीडित इन्दु पोखरेलले बताइन् । ‘रामपुरमा रहेको स्वास्थ्य केन्द्रले हामीलाई निकै सहज भएको छ’, उनले भनिन् । पहिले गाविसमा हेल्थपोष्ट रहेको र अहेवका भरमा सञ्चालन भएकाले सामान्य रुघाखोकी लागेमा, ज्वरो आएमा रक्तचाप जाँच गर्नुपरेमा घोराहीका अस्पताल धाउनुपर्थ्याे । केन्द्रको स्तरोन्नति भएपछि चिकित्सकसहितको सेवा निःशुल्क पाइएको उनले बताए ।

केन्द्र रामपुरका प्रमुख भुवनेश्वर रिजालका अनुसार छालाका बिरामी, ग्यास्ट्रिक, घाउखटिरा, मौसमी भाइरल आदिको उपचार सेवा दिने गरिएको छ । विसं २०७४ मा जनप्रतिनिधि आएपछि स्तर वृद्धि गरेर केन्द्र बनाइएसँगै सेवासुविधामा वृद्धि भएको छ । एक चिकित्सक, एक सिनियर अहेव, एक सिएमए र चार अनमीले निरन्तर सेवा दिइरहेका छन् । केन्द्रबाट ३५ प्रकारका औषधि निःशुल्क वितरण गर्ने गरिएको छ । मासिक करिब १२ र वार्षिक १४० देखि १५० जनाले प्रसूति सेवा लिने गरेको रिजालले जानकारी दिए ।

घोराही–१४ नयाँ बजारस्थित केन्द्रमा गर्भजाँच गर्न आएका रूपनी चौधरी औषधिका लागि बाहिर जान नपरेकामा खुसी देखिन्छिन् । सरकारीस्तरबाट खुलेका स्वास्थ्य केन्द्रबाट आफूहरूलाई धेरै सजिलो भएको उनले बताए । सरकारी स्वास्थ्य संस्थाले सेवा दिन थालेपछि निम्नवर्गीय नागरिक लाभान्वित भएका छन् । ‘पहिले स्वास्थ्य केन्द्र नहुँदा सरकारले दिने निःशुल्क सेवासमेत पाउन सकिएको थिएन । अहिले सहज भएको छ’, उनले भनिन्, ‘विशेष गर्भवती र सुत्केरीलाई जाँच र खोपको राम्रो सुविधा भएको छ ।’

घोराही बजारको जनसङ्ख्या धेरै भएका कारण नागरिकलाई स्वास्थ्य सुविधा लिन सजिलो होस् भनेर वडा नं १४ मा केन्द्र स्थापना गरिएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए । राप्ती स्वास्थ्य प्रतिष्ठानमा बिरामीलाई लाम बस्न समस्या भएकाले बजार क्षेत्रका नागरिकलाई स्वास्थ्यमा पहुँच पुर्याउने उद्देश्यले स्वास्थ्य केन्द्र स्थापना गरिएको जनाइएको छ ।

घोराही– ६ का रक्तचापका बिरामी निर्मला भण्डारीलाई सामान्य उपचार गर्न घरदेखि छ–सात किलोमिटर टाढा घोराही या साबिक गाउँपालिकाको कार्यालय सौडियारमा रहेको स्वास्थ्य केन्द्र जानुपर्ने बाध्यता थियो । उपमहानगरपालिका–६ फचकपुरमा केन्द्र स्थापना भएपछि सेवा लिन उनलाई सजिलो भएको छ । निःशुल्क औषधि पाउँदा आफू निकै खुसी भएको उनले बताए । ‘घोराही पुग्नुपर्ने बाध्यता टरेको छ, औषधि पनि निःशुल्क पाइन्छ’, भण्डारीले भनिन् । टाउको दुख्दा, ज्वरो आउँदा र घाउखटिरा आउँदा पनि रु ७५ अटो भाडा तिरेर घोराही जानुपर्ने बाध्यता उनलाई हटेको छ । विशेषज्ञ चिकित्सकको सुविधा हुने हो भने झनै राम्रो हुने भण्डारी बताउँछिन् ।

घोराही उपमहानगरपालिकाले प्रथम नगरसभाबाट नै ‘एक वडा, एक स्वास्थ्य केन्द्र’ नीति नै पारित गरेर प्रत्येक वडामा स्वस्थ्य सेवा पु¥याउने लक्ष्य लिइएको थियो । उपमहानगरपालिकाका जनप्रतिनिधिको कार्यकाल सकिन लाग्दा घोराहीका १९ वटै वडामा स्वास्थ्य सेवा पुगेको छ । सबै स्वास्थ्य केन्द्रबाट स्वास्थ्यकर्मीले सेवा दिइरहेको उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिए ।

घोराहीमा अहिले २३ स्वास्थ्य केन्द्रबाट स्वास्थ्यकर्मीले नागरिकलाई स्वास्थ्य सेवा दिइरहेका छन् । घर्तीका अनुसार उपमहानगरवासीको स्वास्थ्यका लागि ६ स्वास्थ्यचौकी, दुई सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र, १४ सहरी स्वास्थ्य केन्द्र र एक संस्थागत परिवार नियोजन क्लिनिक स्थापना गरिएको छ ।

साविक घोराही नगरपालिकामा एउटा सरकारी राप्ती उपक्षेत्रीय अस्पताल थियो । अन्य गाउँपालिकामा स्वास्थ्य संस्था मात्र थिए । नारायणपुर, हापुर, ढिकपुर, सौडियार, धर्ना, लक्ष्मीपुर, रामपुर सैघा र स्युजा गाविसलाई समेटेर उपमहानगरपालिका बनाइएपछि प्रत्येक वडा कार्यालयमा स्वास्थ्य संस्था निर्माण गर्ने उद्देश्यले स्वास्थ्यकर्मीसहितको सेवा सुरु गरिएको हो । साबिकका गाउँपालिकामा भएका स्वास्थ्य संस्थालाई स्तर वृद्धि गर्दै लगिएको तथा नयाँ वडा कार्यालयमा स्वास्थ्य प्रबर्द्धन केन्द्र स्थापना गरिएको हो ।

उपमहानगरपालिकाका ८ वटा वडामा जनप्रतिनिधि आएपछि स्वास्थ्य केन्द्र स्थापना भएका छन् । अन्य वडामा भने पहिले नै स्वास्थ्य केन्द्र थिए । विसं २०७४ मा स्थानीय तहको निर्वाचनपछि घोराहीमा चौधरीका नेतृत्वमा बनेको स्थानीय तहले घोराही –३ झिंनी, ६ फचकपुर, ८ मर्पाडाँडा, ९ आन्द्राभरैया, ११ शिवपुर, १३ भ्युडर सुनपुर र कमलघारी, १४ संस्थागत परिवार नियोजन क्लिनिक र नयाँ बजारमा सहरी स्वास्थ्य क्लिनिक, १५ उत्साहटोल, १६ कराैँतीडाँडा, १७ हरिद्वार स्वास्थ्य केन्द्र, १८ घोरदौरा र हात्तीखर्कमा स्वास्थ्य संस्था स्थापना गरिएको नगर प्रमुख चौधरी बताउनुहुन्छ । सबै नागरिकलाई स्वास्थ्यमा पहुँचका लागि एक वडा एक स्वास्थ्य केन्द्रको नीतिअनुसार स्वास्थ्य केन्द्र स्थापनालाई तीव्रता दिइएको र सबै वडामा स्वास्थ्य सेवा पुगेको उनको भनाइ छ । उनले रामपुरमा विशेषज्ञसहितको सेवा दिनका लागि अहिले भवन निर्माणको काम भइरहेको जानकारी दिए ।

कोही पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यका साथ स्वास्थ्य केन्द्रलाई स्तर वृद्धि गर्ने काम भइरहेको बताइएको छ । उपमहानगरपालिकाले ७० वर्ष पुगेका नागरिकलाई घरमै पुगेर स्वाथ्य जाँच र उपचार सेवा दिँदै आएको छ ।

आमा सुरक्षा खुत्रुके बचत कार्यक्रम

उपमहानगरपालिकाले सुत्केरीका लागि उपप्रमुख आमा सुरक्षा खुत्रुके बचत कार्यक्रम सञ्चालन गरेको छ । सुत्केरी र नवजात शिशुलाई स्वस्थ बनाउन उक्त कार्यक्रम लागु गरिएको हो । सुत्केरी अवस्थामा आमा र शिशुलाई पोसिलो खानाको अभाव हुन नदिन सो कार्यक्रम ल्याइएको उपप्रमुख सीता सिग्देलले बताए ।

कार्यक्रमअन्र्तगत गर्भावस्थादेखि सुत्केरी अवस्थासम्म चार पटक सरकारी स्वास्थ्य संस्थामा गर्भजाँच गराइएको र सरकारी स्वास्थ्य संस्थामै सुत्केरी भएकाहरूलाई रु दुई हजार ८०० जम्मा गरिदिने गरिएको छ । सो कार्यक्रमबाट धेरै आमा लाभान्वित भएको उपप्रमुख न्यौपानेले बताए । यस्तै उपमहानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा, सिकलसेल एनिमिया अभियान, भान्सा सुधार, ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य जाँच, आयुर्वेद औषधि खरिद, नगरप्रमुख रक्त सञ्चारलगायत कार्यक्रम पनि गर्दै आइरहेको छ ।

२०७४ पछि थप भएका स्वास्थ्य एकाइ
वडा नं स्वास्थ्य एकाइ भएका स्थान
३ झिङ्नी सहरी स्वास्थ्य केन्द्र, झिङ्नी
६ फचकपुर सहरी स्वास्थ्य केन्द्र, फचकपुर
८ मर्पाडाँडा सहरी स्वास्थ्य केन्द्र, मर्पाडाँडा
९ आन्द्राभरैया सहरी स्वास्थ्य केन्द्र, आन्द्राभरैया
११ शिवपुर सहरी स्वास्थ्य केन्द्र, शिवपुर
१५ उत्साह टोल सहरी स्वास्थ्य केन्द्र, उत्साह टोल
१६ सहरी स्वास्थ्य केन्द्र, कराँैतीडाँडा
१७ हरिद्वार सहरी स्वास्थ्य केन्द्र, हरिद्वार
१८ सहरी स्वास्थ्य केन्द्र, घोरदौरा
स्रोतः घोराही उपमहानगर स्वास्थ्य शाखा

उपमहानगरपालिकाको पहिलो नगरसभाले सबै वडामा आधारभूत स्वास्थ्य सेवा निःशुल्क रूपमा उपलब्ध गराउने र विशेषज्ञ सेवा दिने नीति ल्याएको थियो ।

उपमहानगर, स्वास्थ्य शाखाले पशुपक्षी आदिबाट हुने इन्फ्लुएन्जा, बर्ड फ्लु, एएमआर, सक्र्वाइडोसिस, टक्सोप्लाज्मोसिस आदि विभिन्न सरुवारोगसम्बन्धी रोकथाम तथा नियन्त्रणका लागि सचेतना, हात्तीपाइले रोगविरुद्धको आमा औषधि सेवन, पोषण, विद्यालयमा कुष्ठरोगबारे जनचेतना तथा परीक्षण, विद्यालय स्वास्थ्य शिक्षा तथा नर्स परिचालन कार्यक्रम, बिरामीका लागि बहिरङ्ग टिकट छपाइ, आइसोलेसन वार्ड व्यवस्थापन र कोरोना प्रबर्द्धनात्मक कार्यक्रम गरेको छ ।

थारू समुदायमा बढी मात्रामा देखिने सिकलसेल एनिमिया भएका बिरामीको निःशुल्क उपचारको व्यवस्था गरी सोबाट हुने मानवीय क्षति कम गर्न निःशुल्क प्रयोगशाला परीक्षणको व्यवस्था मिलाउने नीतिअनुसार काम गरिएको उपमहानगरले जनाएको छ । एम्बुलेन्स र शव वाहन व्यवस्थापन, रक्षाचौर आँखा अस्पतालको समन्वयमा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया, सामुदायिक आयुर्वेदिक अस्पतालको सहकार्यमा आयुर्वेद औषधिसहितको विशेषज्ञ सेवा तथा शिविर सञ्चालन, निःशुल्क स्वास्थ्य सेवाका लागि औषधि तथा औजार उपकरण खरिद, मानसिक स्वास्थ्य प्रबर्द्धन तथा लागुऔषध दुव्र्यसनविरुद्धलगायत कार्यक्रम गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रजनन स्वास्थ्य निःशुल्क सेवा

उपमहानगरपालिकाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र सञ्चालित संस्थागत परिवार नियोजन केन्द्रमार्फत निःशुल्क रूपमा सेवा दिने गरेको छ । केन्द्रमा गर्भवती जाँच, परिवार नियोजन, सुरक्षित गर्भपतन, पाठेघर उपचार एवं यौन तथा एचआइभी परीक्षण सेवा दिने गरिएको केन्द्रका वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक राधा पौडेलले जानकारी दिए । एक वर्षमा एक हजार १३६ गर्भवती र ६०० जनालाई परिवार नियोजन सेवा दिइएको छ भने आगामी वैशाखदेखि शिशुलाई खोप सेवा दिने तयारी गरिएको उनको भनाइ छ । निःशुल्क परिवार नियोजन सेवा लिनका लागि रोल्पा, रुकुम, सल्यान र दाङको लमहीबाट महिलाहरू आउने गरेको बताइएको छ । –रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + fourteen =