स्वास्थ्य कार्यालयको भवनमा दुई मन्त्रालय, खोप व्यवस्थापनमा सकस

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरको देवकोटा चोक नजिकै साबिकको जिल्ला जनस्वास्थ्य कार्यालय थियो । नागरिकका स्वास्थ्यसँग नजिक रहेर काम गर्ने जिल्ला स्वास्थ्य कार्यालयमा अहिले दुई वटा बोर्ड मन्त्रालयको झुन्ड्याइएको छ ।

एकातर्फ स्वास्थ्य मन्त्रालयको बोर्ड छ भने अर्कोतर्फ सामाजिक विकास मन्त्रालयको राखिएको छ । त्यही स्वास्थ्य कार्यालयको एक साइडमा सामाजिक विकास मन्त्रालय र अर्को साइडमा स्वास्थ्य मन्त्रालय छ । दुवै मन्त्रालय एउटै भवनमा भएको करिब पुन नपुग २ महिना हुन लाग्यो । प्रदेश सरकारले ७ मन्त्रालयबाट १३ वटा मन्त्रालय बनाएपछि साबिकको स्वास्थ्य कार्यालयको भवनमा दुई मन्त्रालय राखिएको छ ।

स्वास्थ्य कार्यालयको संरचनालाई मन्त्रालयको रूप दिँदा स्वास्थ्य कार्यालयलाई भने कामकाज गर्न नै समस्या हुँदै आएको छ । सामाजिक विकास मन्त्रालय त्यहाँ राखिएपछि स्वास्थ्य कार्यालय मासिक करिब ७० हजार तिरेर भाडाको घरमा राखिएको छ । स्वास्थ्य कार्यालय र मन्त्रालय भएको भवन करिब डेढ किलो मिटरको दुरीमा छ । कार्यालय भाडामा राखिएको भएपनि बालबालिकादेखि वृद्ध वृद्धासम्मको लागि प्रयोग हुने औषधी तथा खोपको भण्डारण र चिस्यान घर भने त्यही मन्त्रालयकै कम्पाउण्ड भित्र रहेको छ ।

प्रदेश सरकार स्थापना भएपछि स्वास्थ्य कार्यालय रहेको भवन कब्जा गरेर मन्त्रालय राखिएको भएपनि त्यहाँ भित्रको खोप चिस्यान कोठालाई सार्न सक्ने अवस्था थिएन । स्वास्थ्य कार्यालयका अनुसार प्रशासनिक रूपमा कार्यालय सरेको भएपनि प्राविधिक रूपमा समस्या आउने भएपछि औषधी भण्डारण र खोप चिस्यान कोठा त्यही मन्त्रालयको कम्पाउण्ड भित्रकै पछाडि तर्फको साबिककै एउटा घरमा राखिएको छ तर त्यो खोप राखिएको कोठासम्म पुग्न सहज छैन । कुनै खोप प्रदेश आपूर्ति केन्द्रबाट जिल्ला स्वास्थ्य कार्यालयमा ल्याउँदाको अवस्थामा सम्बन्धित ठाउँसम्म नै पुर्‍याउन समस्या हुने गरेको कार्यालयको भनाई छ । मुख्य गेटदेखि नै पार्किङमा राखिएको सवारीका कारण मापदण्ड अनुसार खोप चिस्यान कोठासम्म पुर्‍याउन नसकिएको तथ्य बाहिर आएको हो ।

मापदण्ड अनुसार भएन
खोप राख्ने ठाउँको स्वास्थ्य प्रोटोकल अनुसार छुट्टै खालको मापदण्ड हुन्छ । खोप भण्डारण कोठामा तापक्रम, आर्द्रता र प्रकाशको व्यवस्थापन गरिनु पर्छ । त्यो अनुकूलको भवन अहिलेसम्म जिल्ला स्वास्थ्य कार्यालयले त्यही पहिलाको भवन भित्रको कोठालाई प्रयोग गर्दै आएको छ। जिल्ला स्वास्थ्य कार्यालयमा आएका खोप र औषधीहरू त्यही भण्डारण केन्द्रमा राखिन्छ र पालिकाहरूमा पठाउने गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा सुरेश मेहताले बताए ।

प्रदेश आपूर्ति केन्द्रबाट प्राप्त भएका खोपहरू केही सेकेन्ड वा मिनेट भित्रै स्वास्थ्य कार्यालयको भण्डारणमा पुगिसक्नु पर्छ । मन्त्रालयको गेटदेखि भित्रसम्म सवारी साधन भरिएका हुन्छन् । मुख्य गेटसम्म ल्याइएका खोप र औषधीहरू मानिसलाई बोकाएर भित्र लग्नु पर्ने समस्या हुँदा त्यहाँ टेम्प्रेचरको कुनै मापन नै नहुने गरेको पाइएको छ । स्वास्थ्य विज्ञहरू यसलाई गम्भीर त्रुटि भएको बताउँछन् । नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयमा प्रदेश सरकारले गम्भीर खेलाँची गरेको विज्ञहरूको भनाई छ ।

यो विषयलाई स्वास्थ्य मन्त्रालयका कर्मचारीले नै मन पराएका छैनन् । स्वस्थे मन्त्रालय अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख सागर प्रसाईँले नागरिकको स्वास्थ्यसँग जोडिएको खोप व्यवस्थापनमा सबै गम्भीर बन्नु पर्ने बताए । अहिलेको मन्त्रालयको भवन स्वास्थ्य कार्यालयको भएकोले दुवै मन्त्रालय त्यहाँबाट हटाएर खोप भण्डारणलाई व्यवस्थित गर्नु पर्ने उनको तर्क छ । ‘खोप भण्डारणमा लग्दा पनि व्यवस्थापनमा समस्या छ,भित्र देखि बाहिर लग्दा पनि समस्या देखिन्छ, उनले भने, त्यो खोपको मापदण्ड अन्तरगत पर्दैन, तत्काल मन्त्रालय त्यहाँबाट नहटाउने हो भने समस्या रही रहनेछ ।’

बाहिरबाट ल्याइएको खोप आईसबक्स (लक्जेम्बर्ग) वातानुकूलित बाकसमा राख्ने गरिन्छ । रेफ्रिजेनेरेटरमा हरेक जिल्ला स्वास्थ्य कार्यालयसम्म पुर्‍याइने खोप रेफ्रिजेनेरेटरबाट भण्डारणमा लगिन्छ र त्यहाँबाट बाहिर पठाउँदा आईएलआरमा राखेर पठाउने प्रोटोकल हो । स्वास्थ्य कार्यालयको भण्डारण कक्षमा पुर्‍याउन रेफ्रीजेनेरेटरबाट भुईँमा झार्ने र त्यहाँबाट मानिसले बोकेर भित्र लग्दासम्म धेरै समय खर्चिने हुँदा खोपको प्रभावकारिता र प्रयोगमा नै प्रश्न उठेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मेहताका अनुसार, मोरङ जिल्लामा बिसिजी, पेन्टाभ्यालेन्ट, मिजल्स रुवेला, पोलियो, कोभिड, टाइफाइड, पिसिबी, हिब्बी, एमआर, आईपिडिलगायतका खोपहरू अहिले चलिरहेको खोपहरू हुन् ।

१५ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई करिब २ लाख ६१ हजारलाई टाइफाइडको खोप लगाउने तयारी हुँदैछ । कोभिड ६ देखि ११ वर्षसम्मका बालबालिका करिब २ लाख डोज खोप लगाउने तयारी हुँदैछ । त्यस्तै बालबालिकाको लागि नियमित लगाइने खोपहरू मासिक करिब ५० हजारलाई नियमित दिइँदै आएको मेहताको भनाई छ। एउटा बच्चाले १५ महिनाको हुँदासम्म ११ वटा खोप डोजहरू लगाउने गरिन्छ । सामाजिक विकास र स्वास्थ्य मन्त्रालयको पार्किङका कारण त्यही खोपको भण्डारण र वितरणमा सकस हुँदै आएको मेहताको भनाई छ ।

त्यो बेला स्वास्थ्य कार्यालयको भवनमा स्टोर र चिस्यान कोठा दातृ निकायले बनाइदिएका थिए । उपकरणहरू पनि तिनै निकायको सहयोगमा आएको थियो । स्वास्थ्य कार्यालयलाई त्यहाँबाट अटाएर मन्त्रालय बनाएपछि पार्किङका कारण भण्डारण देखि गेटसम्म आउजाउमा नै समस्या हुँदै आएको छ। टाढा भएको कारण अतिरिक्त ३ जना कर्मचारी खटाउनु पर्ने बाध्यता रहेको मेहताले मकालुखबरलाई जानकारी दिए । नागरिकको स्वास्थ्यसँग जोडिएको विषयमा पनि सरकारले कुनै चासो देखाएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *