कोशीमा मन्त्रीमण्डल बिस्तार, पाँच मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दोस्रोपटक मन्त्रिमण्डल बिस्तार गरेका छन् ।

मुख्यमन्त्री कार्कीले शुक्रबार नेकपा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका एक दुई मन्त्री र एक राज्यमन्त्रीलाई समावेश गरेर मन्त्रीमण्डल बिस्तार गरेका हुन् ।

यससँगै कोशीमा मुख्यमन्त्रीसहित १० सदस्यीय मन्त्रीमण्डल बनेको छ । कोशी प्रदेशका नवनियुक्त पाँच मन्त्री र दुई राज्यमन्त्रीले पद तथा गोपनियताको शपथ लिए ।

प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख परशुराम खापुङ र नवनियुक्त राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री कार्कीले शपथ ग्रहण गराए । मुख्यमन्त्री कार्कीले एमालेका लीलावल्लभ अधिकारी, एकराज कार्की र पाँचकर्ण राईलाई मन्त्री बनाए भने एमालेकै सिर्जना राईलाई राज्यमन्त्री बनाए ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) का राजेन्द्रकुमार कार्की र नारायण बुर्जा मगर मन्त्री बन्दा बन्दना झाँगड राज्यमन्त्री बने । मन्त्रीमण्डल बिस्तारपछि सञ्चारकर्मीसँग बोल्दै मुख्यमन्त्री कार्कीले अब प्रदेश सरकारले सुशासन र वार्षिक नीति–कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

गत वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कार्कीले बिस्तार गरेको मन्त्रिमण्डलअनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालय गणेश उप्रेती, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा लिलावल्लभ अधिकारी, स्वास्थ्य मन्त्रालयमा राजेन्द्र कार्की छन् ।

त्यसैगरी खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्रालयमा एकराज कार्की, सामाजिक विकास मन्त्रालयमा पाँचकर्ण राई, उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा मुख्यमन्त्री आफैँ र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायण बुर्जा मगर मन्त्री नियुक्त भएका छन् ।

दुई राज्यमन्त्रीहरू सिर्जना राई मुख्यमन्त्री कार्यालय र बन्दना झाँगडलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो । यही मन्त्रीमण्डललाई लिएर अहिलेको सरकार आगामी निर्वाचनसम्म चल्ने मुख्यमन्त्री कार्कीको दाबी छ ।

संविधानको धारा १६८ (५) अनुसार अघिल्लो हप्ताको बिहीवार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले उपधारा ४ अनुसार वैशाख ३१ गते विश्वासको मत लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *