कांग्रेस कार्यसमिति बैठकमा गठबन्धनबारे छलफल

काठमाडाैँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आइतबार पनि घर–घर जाऔँ, कांग्रेस जिताऔँ अभियानका विषयमा केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् ।
पार्टी कार्यालय सानेपामा बसेको बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानका बारेमा धारणा राख्ने क्रम जारी रहेको प्रवक्ता डा. प्रकाशशरण महत्तले जानकारी दिए ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीका लागि कांग्रेसले गत फागुन २९ देखि यही चैत २९ गतेसम्म पहिलो चरणको घरदैलो अभियान सञ्चालन गरिरहेको छ ।
बैठकमा नेताहरूले आवश्यकता आधारमा गठबन्धन गरेर जानुपर्ने बताएको प्रवक्ता महतले बताए । गठबन्धनमा जाने नजाने भन्ने रणनीतिक विषय भएकाले पार्टीलाई फाइदा हुने गरी निर्णय गरिने जानकारी दिए । सबै सदस्यहरूले धारणा राखेपछि आवश्यक निर्णय केन्द्रीय समितिले गर्ने उहाले बताए । अहिले नै गठबन्धनबारे अनुमान गर्न आवश्यक नभएको प्रवक्ता महत्तको भनाई छ ।
यसैबीच बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरिएको छ । व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको तर सुधारको प्रयास नभएकाले अर्थमन्त्रीलाई मन्त्रीबाट हटाउनुपर्ने माग आफूले राखेको केन्द्रीय सदस्य प्रकाश स्नेहीले बताए ।
अर्थमन्त्री असक्षम भएको र गठबन्धमा कुरा गरेर प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने उनको भनाई छ । कांग्रेस बैठक सोमबार पनि बस्नेछ ।








