पिएनजीविरुद्धका दुई खेल : नजिते पनि रोमाञ्चक

नेपालले दुई दिनको अन्तरालमा घरेलु मैदानमा खेलेको दुईवटा एकदिवशीय खेलमा पराजय भोगेको छ । भोलिबाट काठमाडौंमा शुरू हुने त्रिकोणात्मक टी–२० खेल्न आएको पपुवान्युगिनी (पिएनजी) विरुद्ध खेलिएको दुवै खेलमा नेपालको प्रदर्शन सन्तोषजनक त रह्यो, तर दुवै खेलमा नेपालले जित्न भने सकेन ।
नेपालले नजिते पनि यी दुवै खेलमा केही विशेषताहरू भने पक्कै रहेका थिए । दुवै खेल ‘हाइस्कोरिङ म्याच’ का रूपमा रोमाञ्चक साबित भए । नेपाली क्रिकेटमा मुश्किलले देख्न पाइने शतकीय पारी यी दुवै खेलमा नेपाली खेलाडीको ब्याटबाट निस्किनु ज्यादै सुखद पक्ष रह्यो । यी दुई खेलका क्रममा टोलीका केही खेलाडीहरूले केही ब्यक्तिगत किर्तिमानको कोशेढुंगा पार गर्न सफल पनि भए । यही खेलमार्फत केही युवा खेलाडीले टिमबाट डेब्यु गर्ने अवसर पनि पाए । दुवै खेलमा नेपालले पूरा ५० ओभर ब्याटिङ गर्नु पनि एउटा सकारात्मक पक्ष रह्यो ।
मार्च २४ शुक्रवारका दिन खेलिएको पहिलो खेलमा दुवै टोलीले झण्डै ३ सयको हाराहारीमा रन बनाए । नेपालले टस जितेर पहिले ब्याटिङको निम्तो दिएपछि पीएनजीले ५० ओभरमा ८ विकेटको नोक्सानीमा २९२ रन बनाएको थियो । प्रत्युत्तरमा नेपालले ८ विकेटको क्षतिमा २८६ रन मात्र बनाउन सकेपछि ६ रनको झिनो अन्तरको हार व्यहोर्न वाध्य भयो ।
लक्ष्य पछ्याउने क्रममा मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेलले १२६ को किर्तिमानी पारी खेले । यो पारी खेल्ने क्रममा उनले ज्ञानेन्द्र मल्लको नाममा रहेको सर्वाधिक व्यक्तिगत स्कोर (१२५ रन)को किर्तिमान मात्र तोडेनन्, एकदिवशीय खेलमा ५ सय रन पूरा गर्ने पहिलो खेलाडीका साथै सर्वाधिक एकदिवशीय रनको रेकर्ड पनि आफ्नो नाम गराए । तर अन्य कुनै खेलाडीले उनलाई गतिलो साथ दिन नसक्दा नेपाल जीतको एकदमै नजिक पुगेर पनि निराश हुनुपर्यो । खेलको ४६औँ ओभरको दोस्रो बलमा चाल्र्स अमिनिले कभर एरियामा उत्कृष्ट रूपमा डाइभिङ क्याच लिएर रोहितलाई आउट पार्नु खेलको ‘टर्निङ प्वाइन्ट’ साबित भयो ।
दोस्रो खेलको कथा पनि समान रह्यो । दोस्रो खेलमा पनि टस नेपालले जित्यो, तर कप्तान सन्दिप लामिछानेले यसपटक ब्याटिङ रोजे । पहिलो खेलको नतिजापछि त्यो स्वाभाविक पनि थियो । खेलमा नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा २७८ रनको बलियो स्कोर तयार गर्यो । नेपालका लागि मध्यक्रमका अनुभवी ब्याट्सम्यान दिपेन्द्रसिंह ऐरीले १०५ रनको शानदार पारी खेले । दशौँ एकदिवशीय खेलमा उनको यो पहिलो शतक थियो ।
अघिल्लो खेलबाट वानडेमा डेब्यु गरेका युवा खेलाडी देव खनालले चयनकर्ताले उनीमाथि देखाएको विश्वासलाई सही सावित गर्दै ७२ रनको महत्पवूर्ण पारी खेले । ५ रनमा दुई विकेट गुमाएर टोली दवावमा आएको समयमा देवले ८६ बलको सामना गर्दै आकर्षक ४ चौका र ३ छक्का प्रहार गरेका थिए । उनले तेस्रो विकेटका लागि दिपेन्द्रसिंहसँग मिलेर १२९ रनको साझेदारी गरेका थिए जुन वानडेमा नेपालको सबैभन्दा ठूलो साझेदारी हो । ऐरीले चौथो विकेटका लागि ३६ रन बनाएका रोहित पौडेलसँग पनि ६२ रनको अर्धशतकीय साझेदारी पूरा गरेको थिए । तर नेपाली बलरले सोचेअनुरूप प्रदर्शन गर्न नसकेपछि पीएनजीले ४८.४ ओभरमा २७९ रनको लक्ष्य सजिलै पूरा गर्यो ।
यी दुई खेलको विश्लेषण गर्दा नेपाली टोलीका केही स्थायी समस्याहरू यथावत् नै रहेको देखियो भने केही नयाँ पक्षमा समेत सुधारको आवश्यकता देखियो । नेपालले खेलेका पछिल्ला केही एकदिवशीय र टी–२० खेलहरूलाई विश्लेषण गर्ने हो भने नेपालको ओपनिङ र टप अर्डर ब्याटिङमा रहेको समस्या झनै गहिरिँदै गएको देखिएको छ । महत्वपूर्ण खेलमा कुशल भुर्तेलको ब्याट चल्न नसक्नु पनि नेपाली टोलीका लागि दुर्भाग्य सावित हुँदै आएको छ । त्यसबाहेक रोहित पौडेलको खेलमा देखिएजस्तो ‘कन्सिस्टेन्सी’ (एकरूपता) अन्य खेलाडीहरूको खेलमा देख्न नपाइनु पनि नेपाली टोलीको स्थायी समस्या रहँदै आएको छ ।
दोस्रो खेलमा १ विकेट लिँदै कप्तान सन्दिप लामिछानेले एकदिवशीय खेलमा समेत ५० विकेटको कोशेढुंगा पार गरे । तर यो श्रृंखलामा नेपाली बलरहरूको प्रदर्शन सम्झनलायक रहेन । पहिलो खेलमा पीएनजीले बनाएको २९२ रन वानडेमा नेपालविरुद्ध बनेको सबैभन्दा ठूलो स्कोर थियो । दोस्रो खेलमा पनि नेपाली बलरले त्यही प्रदर्शन दोहोर्याए । पहिलो खेलमा नेपालले पीएनजीको रनको गतिलाई रोक्न नसक्दा कप्तानले सातजना बलरलाई प्रयोग गर्नुपरेको थियो भने दोस्रो खेलमा नेपालका आठ खेलाडीले बलिङ गर्नुपर्यो । यस हिसाबले हेर्दा नेपाली टिमको खेलाडी संयोजनमा केही त्रुटी रहेको देखियो । पछिल्लो समयमा निकै चर्चामा रहेका तीव्र गतिका बलर गुलशन झाले दोस्रो खेलमा मात्र एक ओभर बलिङ गरे र त्यसका लागि २० रन खर्चिए ।
प्रायः बलरहरूलाई फाइदा हुने किसिमको पीच हुने त्रिवि क्रिकेट मैदानमा यसपटक भने ब्याट्सम्यानलाई मद्दत गर्ने किसिमको फ्ल्याट पीच बनाइएको थियो । यो नेपाली खेलाडीहरूका लागि एक किसिमको परीक्षण जस्तै भए पनि त्यस कुराको फाइदा भने पीएनजीको टोलीले उठायो । नेपालको जितमा ब्याटको भन्दा बलको भूमिका बढी रहने गर्दछ भन्ने एउटा मान्यतालाई यो पराजयले अझ बल पुर्याएको छ ।
त्यसबाहेक अनुभवी खेलाडी सन्दिप लामिछानेले कप्तानी गरेका अहिलेसम्मका वानडे खेलहरूलाई विश्लेषण गर्ने हो भने उनको कप्तानीमा समेत केही कमी रहेको पाइएको छ । सही बलर वा ब्याट्सम्यानलाई सही समयमा प्रयोग गर्न नसक्ने कुरा होस् वा खेलको अवस्था अनुसार तत्काल रणनीति बनाएर टिमलाई अगाडि बढाउने कुरामा होस्, कप्तान लामिछानेमा परिपक्वताको अभाव रहेको पाइयो ।
पपुवान्युगिनीको दृष्टिकोणबाट भने यो श्रृंखला निकै सफल साबित भयो । पीएनजीले एकातिर अघिल्लो साता दुवईमा जारी वल्र्डकप लिग २ को नेपालविरुद्धको दुवै खेलमा भोगेको पराजयको बदला लिन सफल रह्यो भने तुलनात्मक रूपमा आफूभन्दा बलियो टोलीलाई उसैको घरमा हराउँदै भोलिबाट शुरू हुने त्रिकोणात्मक टी–२० श्रृंखलाका लागि आफ्नो मनोबल उच्च पार्न समेत उ सफल भएको छ । स्राेतः INS न्यूज








