प्रचण्ड भन्छन्- ‘निर्वाचन आयोगले तुरुन्त सनाखत गरेको भए एमाले रहने थिएन’

काठमाडाैँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचन सामान्य चुनाव नभएको बताएका छन् । बिहीबार चितवनको माडीमा आयाेजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् । ‘निर्वाचन आउँछ जान्छ । जित र हार हुन्छ तर हाम्रा लागि यो निर्वाचन सामान्य चुनाव मात्र होइन । माओवादीले जित्दा मात्र संघीयता, लोकतन्त्र, गणतन्त्रको रक्षा हुनेछ,’ प्रचण्डले भनेका छन् ।

उनले तत्कालीन नेकपा विवादमा निर्वाचन आयोगले तत्काल सनाखत गरेको भए एमाले अस्तित्वमा नहुने दाबीसमेत गरे । ‘निर्वाचन आयाेगले तुरुन्त सनाखत गरेको भए एमाले भन्ने पार्टी रहने थिएन । हामी नेकपाका आधिकारिक नेता–कार्यकर्ता हुन्थ्यौँ । तर, देशी–विदेशी प्रतिक्रियावादीको षड्यन्त्रमा यसलाई उल्ट्याइयो । त्यसपछि दुईपटकका प्रतिगमनलाई हामीले आन्दोलनबाट पराजित गर्‍यौँ । आज पनि त्यो शक्तिले षड्यन्त्र जारी राखेको छ । आज पनि सदन चल्न दिइएको छैन । त्यो प्रतिगमनकै एउटा कडी हो,’ प्रचण्डले भनेका छन् ।

उनले अहिले पनि प्रतिक्रियावादी र प्रतिगमनकारी शक्तिको षड्यन्त्र जारी रहेको बताए । अहिले पनि प्रतिक्रियावादीहरू सल्बलाइरहेकाे प्रचण्डकाे आराेप थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + ten =