एमालेमा प्रभु साहविरुद्ध उजुरी

काठमाडाैँ । एमाले स्थायी कमिटी सदस्य प्रभु साहविरुद्ध पार्टीमा उजुरी परेकाे छ । नेता साहविरुद्ध ‘असहमति’ काे उजुरी परेकाे हाे । उनीविरुद्ध केन्द्रीय सदस्य रेखाकुमारी झाले उजुरी दिएकी छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बाेधन गरिएकाे पत्रमा भनेकी छन्— ‘प्रस्तुत राजनीतिक प्रतिवेदनमा उल्लेखित बाँकी प्रगति र उद्देश्यमा सहमति जनाउँदा जनाउँदै पनि रौतहट जिल्लाको संगठनात्मक सुदृढीकरणको सन्दर्भमा मेरो तर्फबाट असहमति जाहेर गरी प्रस्तुत गर्दछु ।’
पत्रमा झाले रौतहट जिल्ला अधिवेशनमा हलले अनुमोदन नगरेकाहरूलाई साहले शपथ खुवाएको उल्लेख गरेकी छन् । ‘राैतहट जिल्ला अधिवेशन हल सम्पूर्णले गरेको विरोध र असहमतिका बाबजुद हलले अनुमोदन नै नगरेको जम्मा पाँच जना पदाधिकारीलाई मध्यरातमा नेता कमरेड प्रभु साहको नेतृत्वमा अज्ञात स्थलमा लगि शपथ खुवाइएको कार्यको घोर निन्दा गर्दै तमाम इमानदार योद्धा कमरेडहरुको उच्च आत्मबललाई निराशामा परिणत नगरी दिनुहुन केन्द्रीय अध्यक्ष कमरेडलाई आग्रह गर्न चाहन्छु,’ उनले भनेकी छन् ।
साथै, मधेस प्रदेश कमिटी अध्यक्षको राजनीतिक प्रतिवेदनमा उल्लेखित रौतहट जिल्ला अधिवेशन सम्पन्न भन्ने विषयमा आपत्ति जनाउँदै उक्त प्रतिवेदन सच्याउन उनले माग गरेकी छन् । पूर्वमाओवादी ‘लिगेसी’ बाेकेका नेता साह एमाभित्र पनि विवादित नेतामध्ये पर्छन् ।









