होलीमा रङ खेलेपछि छाला कसरी सफा गर्ने ?

काठमाडाैँ । फागु पूर्णिमा मनाउनु हाम्रो संस्कृति हो । फागुन शुक्ल पूर्णिमाको दिन विभिन्न रङ खेलेर फागु पूर्णिमा मनाउने चलन छ । खासगरि पहाडमा खेलिने फागु र तराइमा मनाइने होली अहिले सराबरी जस्तो भएर समग्रमा होली भएको पाइन्छ । यसपटक पहाड र काठमाडौँ उपत्यकामा विहीबार तथा तराईमा शुक्रबार होली मनाइँदैछ ।

रङ  खेलिसकेपछि छालालाई कसरी बिग्रन नदिने भनेर बिचार पुर्‍याउनुपर्छ ।

यदि होलीमा रङ लगाएर रमाइलो गर्दा हेलचेक्र्याइँ गरेमा आँखा र छालामा समस्या आउने, एलर्जी हुने र अस्पताल नै जानुपर्ने पनि हुनसक्छ ।  त्यसैले होलीमा रङ लगाउनुअघि केही कुरामा ध्यान दिनुपर्ने छाला रोग विशेषज्ञहरू बताउँछन् । होली खेल्नुअघि शरिरमा तेल अथवा लोसन मज्जाले लगाउनुपर्छ । कानमा कटनको लुगाको बल बनाएर राख्ने, चस्मा लगाउने र पुरै शरीर ढाकिने लुगा लगाउनुपर्छ । कपालमा तेल लगाएर बाट्नुपर्छ ।

किनभने रङले कपाल ड्यामेज हुने, टुक्रिने, हाँगा फाट्ने र कपालको प्राकृतिक रङ नै जाने, कपाल सुक्खा हुने हुन्छ । त्यसैले कपालमा तेल लगाएर क्याप अथवा, कपडाले छोप्न पनि सकिन्छ । होली खेल्न प्राकृतिक रङको प्रयोग गर्नु धेरै राम्रो हुन्छ । जसमा बेसार, मकैको पिठो, विभिन्न फूलको रस, विभिन्न पातबाट निक्लने रङ आदी । यसले छालालाई हानी गर्नुको सट्टा फाइदा गर्छ । कार्बन युक्त र धेरै गाढा कालो रङ प्रयोग गर्नु हुँदैन । होलीको रङ खेल्नुअघि सनब्लक लगाउन छुटाउनु हुँदैन ।

रङ खेलिसकेपछि कसरी सफा गर्ने ?
रङ खेलिसकेपछि प्राय बेस्सरी माडेर, साबुन दलेर मुख र शरीर सफा गर्ने गरिन्छ । त्यो एकदम गलत हो । यसो गर्दा छाला सुक्खा हुनुको साथै रातो हुने, फोका आउने र छालाको पत्र नै निस्किन्छ ।

रङ दलेपछि मुखमा केही लोसन, तेल, दही अथवा दूध केही लिएर बिस्तारै छालामा लगाउनुपर्छ । लगाएको केही ५ मिनेटपछि सफा चिसो पानीले मुख धुनुपर्छ । यसो गर्दा रङ छालाको छिद्रबाट भित्र छिर्न पाउँदैन । पखाल्दा साबुनको प्रयोग गर्नु हुँदैन । फेसवासको प्रयोग गर्नुपर्छ । त्यस्तै फागुको रङ खेलेको एक हप्तासम्म अनुहारमा र शरीरमा कुनै कस्मेटिक प्रोडक्ट प्रयोग गर्नु हुँदैन । कपालमा पनि केही लगाउनु हुँदैन । यदि लगाएमा कपालको प्राकृतिक तेल जान्छ ।

रङ खेलिसकेपछि सबैभन्दा पहिले आँखा सफा पानीले धुनुपर्छ । त्यसपछि कानलाई पनि सफा गर्नुपर्छ । नङले चाँडै रङ छालामा फैलाउने र नङ नै पनि रङले फोहोर देखाउने भएकोले नङमा पोलिस गर्दा राम्रो हुन्छ । होलीको रङ खेलेपछि केही दिन धेरै घाममा बस्नु हुँदैन । यदि रङ र घाम धेरै भयो भने छाला बिग्रन्छ ।

  • काठमाडौँ मेडिकल कलेजमा कार्यारत चर्मरोग विशेषज्ञ डा. एलिज अर्यालसँगको कुराकानीमा आधारित
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 2 =