कांग्रेसले थाल्यो एक महिने चुनावी अभियान

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले स्थानीय तह लक्षित एक महिने चुनावी अभियान शुरु गर्दैछ । ‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ नारासहित आजदेखि ७७ वटै जिल्लामा एक महिने चुनावी अभियान शुरु हुन लागेको हो ।
चैत २९ गतेसम्म सञ्चालन हुने अभियानको प्रधान मन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने तय भएको छ । ०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी कांग्रेसले पहिलो चरणमा ‘घर-घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान शुरु गरेको उपसभापति पूर्णबहादुर खड्काले बताए । आजदेखि चैत २९ गतेसम्म सञ्चालन हुने अभियानमार्फत जनतालाई पार्टीका एजेन्डाबारे जानकारी दिने र जनस्तरबाट आएका सुझाव सङ्कलन गर्ने उनले भनाई छ ।
उनकाअनुसार कांग्रेसको दृष्टिकोण, राष्ट्रिय मुद्दाहरूमा लिइएका अडान र मत्वपूर्ण विषयलाई जनतामाझ प्रस्तुत गरिनेछ । यस्तै प्रवक्ता डा. प्रकाशशरण महतले आठवटा मुद्दामा अभियान केन्द्रित गरिने बताए । स्थानीय तहको निर्वाचनमा मतदानमा सहभागी भएर आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउने उद्देश्य अभियानको उनको भनाई छ ।
‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँट गरेर पार्टी पङ्क्तिलाई स्थानीय निर्वाचनमा बृहत्तर परिचालनतर्फ उन्मुख गराउने उद्देश्यका साथ एक महिने अभियान सञ्चालन हुने प्रवक्ता महतले बताए । कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने र नेकपा सरकारको गत तीन वर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष व्यापक रूपमा राख्ने उनले उल्लेख गरे ।
प्रधान मन्त्री देउवाकै नेतृत्वमा एमसीसी कम्प्याक्ट अनुमोदन भएको र यसबारे जनस्तरमा छरिएका भ्रम र दुष्प्रचारलाई बुँदागत रूपमा चिर्दै वास्तविकता जनामाझ राख्ने कांग्रेसले बताएको छ । अभियान अघि बढाउन ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि पुगिसकेका छन् ।








