के तपाईँले आफ्नो भावनात्मक भोकबारे सोच्नुभएको छ ?

त्यस्ता धेरै व्यक्तिहरू हुन्छन् जसले आफ्नो जीवनमा भावनात्मक भोकको महसुस गरेका हुन्छन् । मानिसले सधैँभरी हाम्रो शरीरलाई भोकको महसुस भएर मात्र खाना खाएर पुग्दैन ।
कहिलेकाहीँ आफ्नो भावनात्मक भोकलाई पनि पहिचान गरेर भोक मेटाउनु आवश्यक हुन्छ । जब मानिसलाई भावनात्मक भोक जाग्छ त्यतिबेला आफ्नो भावनाहरूलाई बुझ्नु जरुरी हुन्छ । मानिसहरूले भावनात्मक रूपमा शून्य महसुस गरेमा शरीरको ऊर्जाको लागि आवश्यक पर्ने भोक पनि लाग्न छोड्छ । भावनात्मक रूपमा अघाउनुले ‘पूर्णता’को महसुस गराउँछ । भावनात्मक रूपमा भोकाउनु भनेको खानाको अभावमा शक्तिहीन महसुस गर्नु होइन यो भनेको भावनाहरूमाथि शक्तिहीन महसुस गर्नु हो ।
भावनात्मक भोक कहिल्यै खानेकुराबाट तृप्त हुन सक्दैन । भावनात्मक रूपमा बढी अघाउनुले फेरि केही समयको लागि राम्रो महसुस भए पनि दीर्घकालमा भने लाज, पश्चात्ताप र शक्तिविहीन महसुस हुनसक्छ । यस्तो कुराहरूले शारीरिक विकासका लागि आवश्यक पर्ने पोषण योजनामा समेत असर पर्न सक्छ । उदाहरणको लागि धेरै खाना खाँदा मात्र भावनात्मक रूपमा सन्तुष्टि प्राप्त भयो भने यसले अस्वस्थ खाद्य तालिकाको सिर्जना हुनसक्छ । भावनात्मक भोक र शारीरिक भोकमा फरक हुन्छ ।
भावनात्मक भोक अचानक जाग्ने भोक, एउटै खानेकुरा मात्र खान मन लाग्ने, पुरै खाना खाइसक्दा पनि सन्तुष्टि नमिल्ने, लाज र पश्चात्तापको महसुस हुने उदाहरण हो भने शारीरिक भोक लाग्दा क्रमशः भोक लाग्ने, जे खाने कुरा पनि मनपर्ने, सीमित खाना खाएपछि सन्तुष्टि प्राप्त हुने, नराम्रो महसुस नहुने हुन्छ ।
यदि आफूलाई भावनात्मक भोक छ की छैन भन्ने उत्तर चाहिएको छ भने आफैँलाई केही प्रश्नहरू सोध्न जरुरी हुन्छ । जस्तैः के मलाई तनावको महसुस भइरहेको छ ? म बच्चादेखि नै यस्तै थिएँ अथवा अहिले यस्तो भएको हुँ ? म रहेको सामाजिक वातावरणले मेरो छनोटलाई प्रभाव पारिरहेको त छैन ?, के मैले दिक्क र खाली महसुस त गरिरहेको छैन ? यी प्रश्नहरूको जवाफ खोज्दै जाँदा आफ्नो भावनात्मक भोकबारे पत्ता लगाउन सकिन्छ । यदि यस्तै महसुस गरिरहेको छ भन्ने थाहा भयो भने सबैभन्दा पहिले आफ्नो भावनालाई स्वीकार गर्नुपर्छ । आफ्नो भावनालाई स्वीकार गर्ने बानीले भावनात्मक भोक मेटाउन सजिलो हुन्छ ।
आफ्नो भावनालाई स्वीकार गर्नाले सशक्तीकरण र आत्मविश्वास बढ्छ र आफू स्वस्थ रहेको महसुस हुन्छ । शारीरिक र भावनात्मक रूपमा आफूलाई राम्रो बनाउन योग्य हुनुपर्छ । त्यससँगै व्यायाम, निन्द्रा र पोषणले भावनात्मक रूपमा बलियो बनाउने, तनाव व्यवस्थापन गर्ने र स्वस्थ रहन मद्दत गर्ने काम गर्छ । त्यसका लागि कोही व्यक्तिलाई आफ्नो गुरु मान्न पनि सकिन्छ । जसले भावनात्मक स्वास्थ्यलाई लाभ पुर्याउन सक्छन् । आफूलाई समर्थन गर्ने सकारात्मक सोच भएको व्यक्ति वरिपरि बस्ने । आफूलाई खुसी दिने काम मात्र गर्ने । आफ्नो लागि प्रशस्त समय छुट्याउने । योग, ध्यान र व्यायाम गर्ने । साथै आफ्नो भावनाहरूलाई सही तरिकाले महसुस गर्नु आवश्यक हुन्छ । कती व्यक्तिहरू आफ्नो भावना महसुस गर्न नसक्ने खालका हुन्छन् । तर हामी आफ्नो भावना महसुस गर्न सक्यौ भने त्यसलाई कसरी मेटाउने भन्ने समाधान पनि निस्किन्छ ।








